काठमाडौं। गोर्खाली र अँग्रेज फौजबिचको युद्धमा आधारित ऐतिहासिक चलचित्र ‘सिन्धुलीगढी’ बन्ने भएको छ। सिन्धुली जिल्लाको आडभञ्ज्याङमा वि.सं. १९२४ मा गोर्खाली फौजले अंग्रेज फौजलाई पराजित गरेको युद्धमा आधारित फिल्म सास इन्टरटेन्मेन्ट सिनेमा प्रालिको ब्यानरमा बन्न लागेको हो।
चलचित्रमा पटकथा, संवाद लेखन र निर्देशन विश्वदीप (विश्वमणि) घिमिरेले गर्नेछन्। त्यस्तै चलचित्रको निर्माता सास अधिकारी रहेका छन्।
निर्देशक घिमिरेले लामो समयदेखिको खोज, अध्ययन र अनुसन्धान गरेर चलचित्रको पटकथा तथा संवाद तयार पारेको बताए। उनले नेपालको सार्वभौमिकताको रक्षामा कोशेढुंगा सावित भएको उक्त वीरतापूर्ण युद्धको कथालाई ‘सिन्धुलीगढी’ चलचित्रमार्फत् वाचन गरी गोर्खाली (नेपाली) वीरताको गाथा संसारलाई सुनाउने उद्देश्यले चलचित्र ‘सिन्धुलीगढी’ निर्माण गर्न लागेको सुनाए।
‘सिन्धुलीगढी’ चलचित्रलाई दक्षिण भारतका चर्चित निर्देशक एसएस राजामौलीले प्राविधिक सहयोग गर्ने वचन दिएको निर्माता अधिकारीले दावी गरे। उनका अनुसार सिन्धुली, काभ्रे र काठमाडौँमा छायांकन हुने यस चलचित्रको पोष्ट प्रोडक्सन भारतको मुम्बईमा हुनेछ। चलचित्रलाई हिन्दी र अंग्रेजी भाषामा समेत स्वरांकन गरिनेछ। उनले चलचित्रका लागि मुख्य कलाकार अडिसन प्रक्रियाबाट छनोट गर्ने काम भइरहेको बताए।
निर्माण संस्थाले नेपाल सरकार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयबाट प्रतिलिपि अधिकार सुरक्षित गर्नुका साथै चलचित्र विकास बोर्डबाट चलचित्र छायांकनको इजाजत प्राप्त गरिसकेको छ। चलचित्रको निर्माण टोली कोरोना महामारीको अवस्था हेरेर फागुनको दोस्रो साताबाट छायांकन सुरु गर्ने तयारीमा रहेको निर्माण टोलीका जापान संयोजक शुक्रराज राईले बताए। निर्माण संस्थाका अनुसार चलचित्र ‘सिन्धुलीगढी’ हालसम्मकै उच्च लगानीमा बन्ने छ।
Facebook Comment
Comment