काठमाडौं। सरकारले आगामी बुधबार संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिस गरेको छ।
शनिबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश निष्क्रिय बनाएर संघीय संसदका दुवै सदनको अधिवेशन बोलाउने निर्णय गरेको हो। बैठकले भदौ २३ गते अपरान्ह्र ४ बजे संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म नेकपा एमाले र जनता समाजवादीबाट अलग भएर नयाँ दल रोज्न जनप्रतिनिधिहरुलाई समयअवधि तोकेको छ। सो अवधि सकिए लगत्तै सरकारले बुधबार संसद अधिवेशन बोलाउने निर्णय गरेको हो।
यसअघि शनिबार सत्तारुढ दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी थिए।
Facebook Comment
Comment