‘महाराज’को आवरणमा गुन्डाराज: भक्तजनको चन्दाबाट गुन्डालाई करोडौं, मजदुरलाई ज्याला पनि छैन (भिडिओ)
साउनभर चलेको विवादित कोटिहोममा सयौं मजदुरलाई काम लगाइएको थियो । ती श्रमिकलाई दैनिक दुई हजार रुपैयाँ ज्याला दिने भन्दै हाजिर गराइएको थियो । उनीहरूलाई एक सुको पनि पैसा दिइएको छैन । बरु गुन्डागर्दी गराउन बोलाइएका युवालाई भक्तजनको चन्दाबाट दैनिक पाँच हजारका दरले पैसा दिइएको छ ।
काठमाडौं । धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारीले ‘पशुपति कोटिहोम’मा गुन्डागर्दी गर्न बोलाइएका टोलीका सदस्यलाई दामासाही ढेडलाख दिए पनि काम गर्न बोलाइएका मजदुरलाई पारिश्रमिक नदिएको पाइएको छ ।
पशुपति कोटिहोमबाट उठेको दानको रकमसमेत दुरुपयोग भइरहेको आरोपका बीच महिनौं मेहनत गरेका श्रमिकहरू शोषित भएको भेटिएका छन् ।
साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको ‘विवादित’ कोटिहोमका मुख्य सङ्कल्पकर्ता भनिएका कथित बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज ऊर्फ विजय भण्डारीले पारिश्रमिक नदिएको भन्दै श्रमिकहरू गुनासो गरिरहेका छन् ।
साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको विवादित कोटिहोममा केही मजदुरलाई ‘स्वयम्सेवक’का रूपमा काम गराइएको थियो ।
पीडितहरूले धर्मको नाममा गरिबको शोषण भएको आरोप लगाएका छन् । आरोपित खड्काले भने आफूले पैसा दिने भनेर नबोलाएको भन्दै उम्कन खोजेका छन् । पीडितले घेरा हालेपछि मिडियासँग उनले भनेका छन्, “मैले पैसा दिन्छु भनेर कहीँ बोलेको छैन । स्वयम्सेवक भनेर ल्याएको हुँ । उहाँहरूले सेवा गरेका हो, काम गरेको होइन ।”
श्रमिकको निमेक मारेर गुन्डागर्दीमा करोडौं खर्च
पशुपति कोटिहोममा आयोजक विजय भण्डारीको सुरक्षाको लागि भन्दै सय जनाभन्दा बढी युवा राखिएको थियो । ती युवाको काम आयोजकबारे प्रश्न उठाउनेलाई कुटपिट गर्नु र हुल दङ्गा गर्नु थियो ।
कोटिहोमको अन्तिम दिन विजय भण्डारीलाई पक्राउ गर्न प्रहरी आउँदा भिड्ने पनि उनीहरू नै थियो । उनीहरूलाई भने दैनिक दैनिक पाँचहजार रुपैयाँको दरले पैसा दिइएको आयोजक समूहकै सदस्यहरू बताउँछन् । यसरी एक करोड रुपैयाँभन्दा बढी ‘चुल्ठे-मुन्द्रे’लाई दिइएको रकम भक्तजनकै चढाएको दान रकम हो ।
यसरी ‘गुन्डागर्दी’को लागि करोडौं रकम खर्चिएको कोटिहोममा भारी बोक्ने र फोहोर सोहोर्ने श्रमिकलाई भने खाली हात बनाइएको हो । पीडितहरूले भने १० दिनको पैसा मात्र आफूहरूले दानस्वरूप छाड्न सक्ने तर, महिनाभरको निमेक माया मार्न नसक्ने बताएका छन् ।
उनीहरू भन्छन्, “हाजिर लगाएर काम गराइएको छ । बरु हामी १० दिनको पैसा कोटिहोमको लागि दान स्वरूप छाड्न सक्छौँ । २० दिनको भए पनि पैसा चाहिन्छ ।”
कोटिहोममा मजदुरलाई ‘शाही युवा शक्ति’ भन्ने लेखिएको ज्याकेट दिएर काम लगाइएको थियो । उनीहरूलाई सुरक्षादेखि सरसफाईसम्मका काम दिइएको थियो । बिहान-बेलुका खाना त्यही दिइए पनि दैनिक १८ घण्टा बढी काम लगाइएको थियो ।
आयोजकमाथि प्रश्न उठाउनेहरूलाई कुटपिट गर्दै भण्डारीले खटाएका मान्छेहरू ।
“एक महिनासम्म हामीलाई मोटो बोक्ने, चामल बोक्ने, फलफूल बोक्नेदेखि सरसफाईका काम लगायो । हाजिर गरेर काम सुरु हुन्थ्यो । वाकीटकी सेट दिएको थियो । अर्को साथीसँग समन्वय हुन्थ्यो । अहिले पैसा माग्दा दिँदैन । सित्तैमा लगाएको भनेर पन्छिन्छन्,” पीडितहरूको गुनासो छ ।
पसिनाको मूल्य माग्न जाँदा आफूहरूलाई प्रहरी लगाएर थुन्ने धम्की दिएको पीडितहरूको गुनासो छ । “पैसा माग्न पशुपति खड्काको पसलमा गएका थियौँ । डीएसपी लगाएर थुन्ने धम्की दियो । अहिले हामीलाई चिन्दिनँ भन्छ । हामीले काम गरेको ज्याला पनि नपाउने कस्तो न्याय हो ? गरिबलाई मारेर कस्तो धर्म कमाउन गरिएको महायज्ञ रहेछ ?,” पीडितहरूले आक्रोश पोखेका छन् ।
पीडितलाई काम लगाएको पैसा नदिने नियतबाट धार्मिकता र अध्यात्मको नाममा ठगी र शोषण प्रष्ट देखिएको जानकारहरू बताउँछन् ।
चन्दादान पारदर्शिताको प्रश्न
कोटिहोममा आफूले गरेको दान कहाँ प्रयोग हुन्छ वा दुरुपयोग हुन्छ भन्नेमा समेत अधिकांश भक्तजनले चासो राखेनन् । चलअचलन सम्पत्ति दान दिए ।
तर, आयोजक विजय भण्डारीले भक्तहरूबाट प्राप्त भएको दान एकल तजबिजीमा खर्च गरेका छन् । कार्यक्रम सकिएको दुईसाता पुग्न लाग्दासमेत उनले हिसाबकिताब सार्वजनिक गरेका छैनन् ।
के महायज्ञमा उठेको रकम सङ्कल्पकर्ताले मनमौजी रूपमा खर्च गर्न वा आफ्नो व्यक्तिगत बनाउन सक्छन् ? भन्दै आर्थिक पारदर्शीताको प्रश्न पनि उठ्न थालेको छ ।
कार्यक्रम सकिएको २ साता पुग्नलाग्दा कति दान प्राप्त भयो भनेर सार्वजनिक गरिएको छैन । जबकि निश्चित उद्देश्यका साथ गरिएको यस्तो अनुष्ठानमा हरेक दिनको रकम सार्वजनिक गर्ने प्रचलन रहँदै आएको छ । यो हिसाबले दैनन्दिन सङ्कलित रकम वाचन गरेर सुनाउनुपर्ने हो ।
यस विषयमा जिज्ञासा राख्दा आयोजक विजय भण्डारीले पत्रकार सम्मेलन गरेर सबै सार्वजनिक गर्ने बताए । अहिले आफूसँग सबै हिसाबकिताब नरहेको उनकै समूहका कतिपयलाई भन्न थालेका छन् ।
आयोजकमाथि प्रश्न उठाउँदा कुटपिटमा परेका पत्रकार श्यामसुन्दर पुडासैनी ।
कोटिहोममा भएको दान रकम जिन्सी सङ्कलन मात्र होइन, खर्च विवरणसमेत अझै गोप्य राखिएको छ । कोटिहोममा सहभागी कथा वाचकहरूलाई दिइएको ‘पारिश्रमिक’ र अरू खर्च हिसाबकिताब लुकाइएको छ ।
विजय भण्डारीको यो नियतले गेरुवस्त्रको आडमा मानिसहरूलाई भुलभुलैयामा पारेर धर्मलाई आफ्नो विजय भण्डारीले फेरि ‘धन्दा’ बनाइरहेको स्पष्ट देखिने जानकारहरू बताउँछन् ।
उनीहरू भन्छन्, “अहिले पण्डितको भेषमा कोटिहोम लगाइरहेका भण्डारी ठगीको मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत काटेका व्यक्ति हुन् । अहिले फेरि मानिसलाई ठग्न सफल भए ।”
Facebook Comment
Comment