काठमाडौं । नेपाल पत्रकार महासंघले नेपालभ्युजकर्मी श्यामसुन्दर पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।
शुक्रबार मध्यरातमा पशुपतिनाथमा आयोजित कोटिहोमको अन्तिम दिन रिपोर्टिङका लागि पुगेका पत्रकार पुडासैनीमाथि कोटिहोमका आयोजकले कुटपिट र लुटपाट गरेका थिए ।
पुडासैनीलाई कोटिहोमको विरोधमा समाचार लेखेको भन्दै जबर्जस्ती मञ्चमा लगेर अपमानजनक ढङ्गले माला लगाई दुर्व्यहार गरिएको थियो ।
त्यसपछि पनि लखेट्दै कुटपिट गर्दै आफ्नो साथमा रहेका सरसामानसमेत लुटपाट गरिएको पुडासैनीले बताएका छन् । पुडासैनीका अनुसार उनको साथमा रहेको दुई तोलाको सुनको सिक्री, पर्स, लाइसेन्स, हेल्मेट समेत लुटपाट गरिएको छ । कुटपिटबाट पुडासैनी घाइते भएका छन् ।
कार्यक्रमको रिपोर्टिङमा पुगेका पत्रकारमाथि भएको कुटपिट र लुटपाटका घटनाले उक्त कार्यक्रमका आयोजकको आपराधिक मनोवृत्ति देखिएको महासंघले जनाएको छ ।
‘यो संविधानप्रदत्त प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन हो । पत्रकारमाथि सांघातिक आक्रमण गर्ने आयोजक र व्यक्तिहरू पहिचान गरी कानुनी कारबाही गर्न नेपाल पत्रकार महासंघ सरकारसँग माग गर्दछ ।’ महासंघले भनेको छ ।
000
पशुपतिनाथ परिसरमा कोटिहोमको नाममा आयोजित कार्यक्रमको समापन दिन, शुक्रबार राति ११ बजे प्रहरी र आयोजक पक्षबीच झडप भएको थियो ।
सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरीले कार्यक्रम आयोजक विजय भण्डारीसँग केही प्रश्नहरू राख्न खोज्दा, भीडले प्रहरीमाथि हातपात गर्यो, जसले गर्दा स्थिति अराजक बन्यो ।
झडपका क्रममा संलग्न दुई व्यक्तिलाई गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बादमा विजय भण्डारीले आफ्ना समर्थकहरूलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले भड्काउपूर्ण अभिव्यक्ति दिँदै भने, “बङ्गलादेशभन्दा बेहाल बनाउँछौँ, मलाई छोएर त देखाउ ।”
यसपछि समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध नाराबाजी समेत गरे ।
त्यसको केहीबेर भाषण चल्दै गर्दा, पछाडिबाट एक युवाले आयोजकलाई “हिसाबकिताब देऊ” भन्दै आग्रह गरे । उनले हिसाब खोजेको बहानामा आयोजक विजय भण्डारीका समूहका केटाहरूले ती युवालाई घेर्न गए । भीडले ती युवकलाई कुटपिट गरेपछि उनको टाउको र नाकबाट रगत बग्न थाल्यो । पछि उनलाई मञ्चको एक कुनामा सुरक्षित राखियो ।
त्यसको केहीबेरपछि, मञ्चबाट उद्घोषकले नेपालभ्यूजकर्मी श्यामसुन्दर पुडासैनीको नाम लिँदै बोलाए । पशुपतिनाथमा भएको तनावपूर्ण स्थितिबारे रिपोर्टिङ गर्न पुगेका उनीमाथि विजय भण्डारीको समूहले घेरा हाले ।
नेपालभ्यूजले पशुपतिनाथमा कोटिहोमको समापनका क्रममा देखिएको अराजकताबारे घटनास्थलबाटै फेसबुकमा लाइभ गरिरहेको थियो । मध्यरातको अस्तव्यस्त कार्यक्रममा, उद्घोषकले मञ्चबाटै पुडासैनीलाई “तपाईं विरोधमा हो कि समर्थनमा ?” भन्दै प्रश्न गरे ।
भीडले पुडासैनीलाई मञ्चमा उचाल्यो र अपमानजनक ढंगले जबरजस्ती फूलमाला र खादा लगाउन थाल्यो । त्यसपछि मञ्चबाट बाहिर झारेर उनलाई अन्धाधुन्ध कुटपिट गरियो । कोटिहोमका अनियमितताका प्रश्न उठाएको भन्दै, उनलाई ज्यान मार्ने धम्की समेत दिइयो ।
थप सामग्री-
Facebook Comment
Comment