आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

भक्तहरूलाई लोभ्याइन्छ, थोरै दिए केही छैन, धेरै दिए धेरै सम्मान ! ५०० रुपैयाँसम्मको दानको हिसाब नै छैन । दानको मात्रा नै भक्तजनलाई सम्मानको मापदण्ड बनिरहेको छ । गुप्तदान गर्नेको सङ्ख्या उल्लेख्य छ । तिनको अभिलेख नै छैन ? पाँचहजार दिने भन्दै आउनेलाई एक लाख रुपैयाँसम्म दिन उक्साइन्छ । भक्तिमा उन्माद मिसाइँदै छ । धार्मिक अनुष्ठानको रूपमा सुरु भएको पशुपति कोटिहोम विवादमा पर्नुको पाँच प्रमुख कारणहरू ।

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

काठमाडौं । पशुपतिनाथको पवित्र भूमि साउन लागेसँगै प्रवचन र भजनले गुञ्जायनमान छ । हवनको वासना फैलिरहेको छ ।

साउनलाई हिन्दुशास्त्रमा विशेष महिनाको रूपमा लिने गरिन्छ । तर, अघिल्ला वर्षको तुलनामा यसपालि साउनमा पशुपतिनाथमा भक्तहरूको ठेलमठेल छ । कारण हो— कोटिहोम महायज्ञ ।

मानव सेवा फाउण्डेशनद्वारा साउन १ गतेदेखि बनकालीमा सुरु गरेको कोटिहोम साउन मसान्तसम्म चल्ने भनिएको छ । हिन्दू धर्मका आराध्यदेवको रूपमा विराजमान पशुपतिनाथमा साउन महिनाभर ‘कोटिहोम महायज्ञ’ नाममा बृहत् धार्मिक अनुष्ठान भइरहेको छ ।

झकिझकाउ माहोल र चर्चित कथा वाचकहरूको उपस्थितिले पर्याप्त भक्तजनलाई आकर्षित गरेको छ । तर, यो कोटिहोम महायज्ञले धार्मिक आस्था र विवादको ज्वालालाई एकैसाथ भक्काएको छ । पशुपतिनाथ क्षेत्रमा कोटिहोम चलिरहँदा कोटिहोम महायज्ञ विवादको केन्द्रबिन्दु बनेको छ । कोटिहोम जारी छ र यससँगै बहस पनि ।

आयोजक संस्थाका अध्यक्ष विजय भण्डारी भन्छन्, “यो महायज्ञले हाम्रो संस्कृति र परम्परालाई जीवन्त राख्नेछ, उठेको दान तथा चन्दाबाट अनाथ आश्रम बनाउन मद्दत गर्नेछ ।” तर, उनको यो दाबीलाई धेरैले प्रश्न गरेका छन् ।

धार्मिक अनुष्ठानको रूपमा सुरु भएको यो कार्यक्रम अहिले पाँच प्रमुख कारणले गर्दा चर्को आलोचनाको भुमरीमा छ ।

पहिलो— आयोजकको विवादास्पद छवि । दोस्रो— आर्थिक अपारदर्शीता । तेस्रो— सांस्कृतिक-धार्मिक दृष्टिकोण । चौथो— विवादास्पद कथावाचक र पाँचौँ— पुरातात्त्विक संरक्षणको प्रश्न । यी कारणले कोटिहोम आलोचनाको केन्द्रमा छ ।

यसबारे मिडिया कुराकानीले पनि पशुपतिनाथ कोटिहोमः धर्मका नाममा धन कमाउने धन्दा भन्दै चार कारणसहित प्रश्न उठाएको छ । *

पशुपति कोटिहोममा सहभागी भक्तजनहरू ।

आयोजकको विवादास्पद छवि

कोटिहोमका आयोजक विजय भण्डारीको विगत पनि प्रश्नहरूले घेरिएको छ । उनीमाथि विदेश पठाउने नाममा ठगी गरेको आरोप लागेको थियो र यसका लागि उनी जेलसमेत बसेका थिए । यस्तो पृष्ठभूमि भएको व्यक्तिद्वारा आयोजित धार्मिक कार्यक्रमको शुद्धताबारे धेरैले प्रश्न उठाएका छन् ।

मानव सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष विजय भण्डारी आफ्नो विजय नामले भन्दा ‘महाराज’ नामले चिनिन रुचाउँछन् ।

र, उनी आफूलाई कहिले ‘विष्णु प्रपन्नाचार्य’ त कहिले ‘बाल योगेश्वर महाराज’ त कहिले ‘बालयोगेश्वर विजय कृष्णमूर्ती जी महाराज’ का नामले चिनाउन चाहन्छन् । उनले आफ्नै पहिचान फेरिरहनुको कारण हो, ठगी ।

मानव सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष विजय भण्डारी ।

हिन्दू देवी-देवता र धर्मशास्त्रको आडमा कथा वाचन गर्दै आस्तिकहरूबाट चन्दा सङ्कलन गरी जीवन चलाउनु नै उनको जीवनको खास चरित्र हो । यसकारण उनले समयसमयमा परिचय बदल्दै आएको आरोप छ ।

पशुपति कोटिहोमको व्यासासनमा आचार्य कृष्ण दमाईँ, भक्तजनले भने- व्यक्तिको मूल्याङ्कन कर्मले हुन्छ

आरोप मात्र होइन, उनी अदालतबाटै  प्रमाणित भइसकेका ‘ठग’ हुन् । २०७० तिर उनले विभिन्न व्यक्तिलाई अमेरिका पठाउँछु भन्दै रकम असुली गर्न सुरु गरेका थिए । उनीविरुद्ध तत्कालीन अपराध महाशाखामा उजुरी परेको थियो ।

उजुरी परेपछि भण्डारी २०७१ भदौ ७ गते पक्राउ परे । एक करोड २७ लाख ६० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला भयो । उनको पहिलो जेल यात्रा भने थिएन ।

२०६९ कात्तिक १४ पनि ठगी मुद्दाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेर वैदेशिक रोजगार विभागलाई बुझाएको थियो ।

आर्थिक अपारदर्शीता

महायज्ञको मुटु नै दान दक्षिणा हो । तर, यो मुटु कति स्वच्छ छ ? ‘दान सचिवालय’को नाममा पैसाको वर्गीकरण गरिएको छ— एक रुपैयाँदेखि लाखौँसम्म ।

भक्तहरूलाई लोभ्याइन्छ, थोरै दिए केही छैन, धेरै दिए धेरै सम्मान ! ५०० रुपैयाँसम्मको दानको हिसाब नै छैन । दैनिक सयौँले यति नै दिन्छन् ।

अझ कतिपयले न रसिद काट्न चाहन्छन्, न त सम्मान लिन । उनीहरूको अभिलेख राखिएको होला वा नहोला आयोजकको तजबिजीमै छ । यो अदृश्य दान कहाँ जान्छ ? कसैलाई थाहा छैन ।

अझ दान दिन आउनेलाई रकम बढाउँदै प्रलोभन दिइन्छ— दुबोको माला, फ्रेमको सममानदेखि अनाथ आश्रममा तस्वीर टाँग्नेसम्म ।

पशुपति कोटिहोम: लण्डनबाट आइन् अर्की सुन्दरी कथावाचिका चन्द्रकला सखी, भक्तजनको थप आकर्षण

व्यासमा रहेका कथा वाचक भन्छन्— ‘सम्पत्ति केही होइन’ तर, यहाँ दानको मात्रा नै सम्मानको मापदण्ड बनिरहेको छ । गुप्तदान गर्नेको सङ्ख्या उल्लेख्य छ । तिनको अभिलेख नै छैन ? पाँचहजार दिने भन्दै आउनेलाई एक लाख रुपैयाँसम्म दिन उक्साइन्छ । भक्तिमा उन्माद मिसाइँदै छ ।

आफ्नो तौलअनुसारको सिक्का दान गर्दै ज्येष्ठ नागरिक ।

पारदर्शिताको प्रश्न उठाउने पत्रकार कोटिहोम परिसरमै कुटिए । कथा वाचकहरूको ‘पारिश्रमिक’ गोप्य राखेका छन् ।

कोटिहोमको मध्यतिर आयोजकले भनेका थिए— आम्दानीभन्दा खर्च बढी छ । तर, दैनिक बिहानदेखि साँझसम्म चन्दा दिनेको भीड देख्दा यो कुरा पत्याउन सकिन्न । धर्मको नाममा यो अपारदर्शिता वर्गीकरण कति उचित ? के यही हो सनातन धर्मको मर्म भन्दै प्रश्न उठेको छ ।

यसबारे गत सोमबार संंसद्‍मै रास्वपा सांसद् शिशिर खनालले यसबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

सांस्कृतिक-धार्मिक दृष्टिकोण

कोटिहोमको विरोध गर्नेहरूको तर्क छ— यो केवल मनोरञ्जन र पैसा कमाउने धन्दा हो । तर, यज्ञमा सहभागी श्रद्धालु भक्तजनहरू भन्छन्, “हामी आफ्नो श्रद्धाअनुसार यहाँ आएका हौँ । यसले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ भन्ने विश्वास छ ।”

तर, हिन्दू धर्मशास्त्रका ज्ञाताहरूले यस यज्ञको वैधानिकतामाथि प्रश्न उठाएका छन् । उनीहरूको तर्क छ— यज्ञको साइत मिलेको छैन र शास्त्रीय विधि विधानको पालना भएको छैन ।

कोटिहोम महायज्ञ ज्योतिषशास्त्रको सिद्धान्तविपरीत रहेको भन्दै हिन्दू धर्मशास्त्रका ज्ञाताहरूबाटै त्यसको विरोध भइरहेको छ । महायज्ञको साइत नमिलेको तथा अन्य शास्त्रीय मान्यताको परिपालना नगरिएकाले त्यो कोटिहोम नै नभएको उनीहरूको भनाइ छ ।

कोटिहोममा अग्निको महत्त्वपूर्ण भूमिका हुन्छ । केही धार्मिक विद्वान्‌हरूका अनुसार यज्ञको समय र तिथि छनोट गर्दा विशेष ध्यान दिनुपर्छ ।

उदाहरणका लागि केही मान्यताहरू अनुसार शुक्लपक्षको शुक्रबार षष्ठीतिथिमा यज्ञ गर्नु उपयुक्त नहुन सक्छ । गलत तिथिमा सुरु गरिएको होमले उल्टो फल दिने कतिपयको दाबी छ ।

संस्कृतिविद् डा. जगमान गुरुङले सामाजिक सञ्जाल फेसबूकमा साउन १ गतेकै दिन ‘आज पशुपतिमा रमिता छ !’ भन्दै कोटिहोमबारे कटाक्ष गरेका थिए ।

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

उनले लेखेका थिए, “कोटिहोम ज्योतिषशास्त्रको सिद्धान्तविपरीत छ । किनभने यस दिन अग्नि पनि जुर्दैन र रुद्री पनि जुर्दैन । तपाईंहरूले ज्योतिषशास्त्रको मर्यादा विपरीतको मुहूर्तमा शास्त्रले निषेध गरेको कर्म गरेर के रमिता गर्न खोज्नु भएको हो ?…अनुष्ठानले नेपाललाई कङ्गाल बनाउने छ र पीडामाथि पीडा थप्नेछ ।”

कोटिहोममै एक भजनमा नृत्य प्रस्तुत गर्दै कलाकारहरू ।

महायज्ञको साइत नमिलेको कुरा मात्र होइन, शास्त्रीय मान्यताको परिपालना नगरिएकाले पैसा उठाउने मेला बनाइएको कतिपयको तर्क छ ।

हिन्दू धर्मशास्त्रका ज्ञाता एवम् पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम भन्छन्, “यो यज्ञ शास्त्रसम्मत छैन । यसको साइत मिलेको छैन र यसले धार्मिकभन्दा पनि मनोरञ्जन र अर्थ सङ्कलनको उद्देश्य बोकेको देखिन्छ ।”

महायज्ञको साइत नमिलेको तथा अन्य शास्त्रीय मान्यताको परिपालना नगरिएकाले त्यो कोटिहोम नै नभएको उनीहरूको तर्क छ ।

कोटिहोम महायज्ञ साउन ३२ सम्म चल्ने भनिएको छ । तर, साउन २० गते औँसी थियो । ‘औँसी पारेर यस्तो यज्ञ गर्नु ज्योतिषशास्त्रको सिद्धान्तविपरीत’ रहेको कतिपयको भनाइ छ ।

विवादास्पद कथावाचक

कोटिहोम विवादको एक प्रमुख कारण बनेको छ— आमन्त्रित गरिएका भारतीय कथा वाचकहरू र उनीहरूका विवादास्पद अभिव्यक्तिहरू । ‘भरतमा समेत चर्चित’ दाबी गरिएका कथा वाचकका भनाइहरूले समाजमा तरङ्ग ल्याएका छन् ।

विशेषगरी ‘सम्बन्ध विच्छेदलाई पाप भन्ने र महिलाहरूले जस्तोसुकै अवस्थामा पनि पतिको आज्ञा पालना गर्नुपर्ने’ जस्ता भनाइहरूले सामाजिक सञ्जालमा तरङ ल्यायो ।

कोटिहोममा आफूलाई देवी प्रतिभा बताउने प्रतिभा पराजुलीले यसो भन्दैगर्दा अर्की कथावाचक राधिका दासी आफू पतिसँग सम्बन्धबिच्छेद गरेर आएको बताउँथिन् । केही समाजशास्त्री भने ‘यस्ता रूढिवादी विचारहरूले समाजलाई पछाडि धकेल्ने’ बताइरहेका छन् । प्रतिभाको यो रूढिवादी चिन्तन नेपालमा आलोचित बन्न पुग्यो ।

महायज्ञमा भागवत् महापुराणमा लेखिएका पवित्र शब्दहरू, वाक्यांशहरू तथा कथाहरूका विपरीत कथा वाचकहरू प्रस्तुत हुँदै गएका छन् ।

‘गोरुले मयुर खान्छ’ भनेर अर्की वाचिका चन्द्रकला सखी ट्रोल बनिन् । केही अघि नेपाल भारतकै भूमि थियो भन्ने अभिव्यक्ति दिएका भारतीय कथावाचक अनिरुद्राचार्य यसै विवादमै थिए ।

कोटिहोमको आर्थिक अपारदर्शिताको विषय संसद्‍मा उठ्यो, पत्रकार कुट्ने आयोजकलाई कारबाही गर्न ध्यानाकर्षण

कथावाचक दिनबन्धु पोखरेलले त ‘टिकटकै कारण धेरैको घरबार बिग्रियो । सरकारले बन्द गरे पनि खुलै छ, पूरै बन्द भइदेओस् पशुपतिनाथ’ भन्दै कामना र भाकल गरे । यसले हजारौँ भक्तजनलाई ज्ञान बाँड्ने आसनमा बस्ने उनकै चेतनास्तरको प्रश्न उठे ।

‘बाउन्सर’को झुन्ड लिएर रवाफ देखाएर हिँड्दै कथावाचक देवी प्रतिभा ।

कथावाचकहरूले लिएर हिँड्ने ‘बाउन्सर’को झुन्डले समेत उनीहरू विवादमा परे । यसअघिकी कथावाचक देवी प्रतिभाले हिँडडुल गर्दा मात्र होइन, व्यासमा बसेर कथा वाचन गर्दासमेत बडीगार्डले दायाँबायाँ पहरा दिइरहेका देखिएपछि ‘नौटंकी रवाफ’ देखाएको भन्दै आलोचना भएको थियो ।

कोटिहोममा बहुविवाह गर्ने, आफ्नै धर्मपत्नीलाई यातना दिने, घर निकाला गर्नेहरू पनि ठूला पण्डित गुरु आदिका नामबाट सम्बोधित भई सम्मान पाइराखेका छन् । यी विवादहरूले नेपाली समाजमा धर्म, परम्परा र आधुनिकताबीचको द्वन्द्वलाई उजागर गरेका छन् । कोटिहोम जारी छ, र यससँगै बहस पनि ।

पुरातात्त्विक संरक्षणको प्रश्न

कोटिहोम विवादको अर्काे कारण हो— विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा अनधिकृत खनजोत । पुरातत्त्व विभागले यसमा गम्भीर आपत्ति जनाएको छ ।

कोटिहोममा हवनका लागि भनेर आयोजकले पशुपतिनाथ क्षेत्र भित्र विभिन्न स्थानमा खाल्डो खनेका छन् । विश्व सम्पदामा सूचीकृत र त्यस क्षेत्रमा उत्खनन् गर्दा विभिन्न क्षेत्रबाट अनुमति लिनुपर्छ ।

कथा सुन्न आएका भक्तजनहरू ।

तर, अनुमति नलिई अनधिकृत रूपमा ठूलो खाल्डो खनिएको छ । यसमा आपत्ति जनाउँदै पुरातत्त्व विभागले असार २ गते पशुपति विकास कोसलाई पत्र लेख्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाएको हो ।

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु

पत्रमा कोटिहोमका नाममा पशुपति क्षेत्रमा भएको अनधिकृत कार्य रोक्न निर्देशन दिएको थियो । हवन गर्ने नाममा खाल्डो जथाभावी खाल्डो खन्दा सो ऐतिहासिक संरचनाको नास हुने विभागले उल्लेख गरेको छ ।

एक पुरातत्त्वविद् भन्छन्, “यो क्षेत्रको हरेक चिजको ऐतिहासिक महत्त्वको छ । यहाँ गरिने कुनै पनि अनुमति विनाको कामले सम्पदालाई नष्ट गर्न सक्छ । यसैले सचेत गराइएको थियो ।”

चन्दा दान गरेपछि सम्मान लिँदै ज्येष्ठ नागरिकहरू।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved