मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !

१८ वर्षमै अनजान व्यक्तिसँग विवाह बन्धनमा बाँधिइन् । तर, वैवाहिक जीवन यातनामय बन्यो । श्रीमान्‌को हिंसाले आत्महत्याको किनारसम्म पुर्‍यायो । आफ्नो दुःखद् विगतलाई शक्तिमा बदल्दै उनी आज एक प्रेरणादायी कथावाचिका बनेकी छिन् । जसको कथा सुन्दै भक्तजनहरू भावविभोर हुन्छन्, आँसु झार्छन्, र प्रेरणा पाउँछन् । आँसुको सागरबाट तैरिएर आशाको किनारसम्म पुगेकी राधिका दासीको कहानी ।

नेपालभ्युज

मृत्युको मुखबाट फर्किएर जीवनको गीत गाउँदै राधिका दासी, जसको जीवनकथाले छोएको छ भक्तजनको हृदय !
कथावाचिका राधिका दासी

काठमाडौंको भव्य पान्डालमा, साउन्ड बक्स र माइकको बीचमा एउटी नारीको आवाज गुन्जिरहेको छ । उनको कथा सुन्दै स्रोताहरूका आँखा रसाउँछन्, मुटु थरथर काम्छ ।

महापुराणका कथाले सबैको हृदय जित्छिन् । कहिलेकाहीँ आफ्नै जीवनकथाले अरूलाई रुवाउँछिन् ।

ती हुन् राधिका दासी – एक साधारण युवतीबाट असाधारण कथावाचिका बनेकी महिला ।

मोरङको कानेपोखरीमा २०४५ साल भदौ १ को जन्मेकी राधिकाले काठमाडौंमै पढिन् । जसले १४ वर्षको उमेरमा एसएलसी पास गरिन् ।

मलिन स्वरबाट क्रमशः हाँसीहाँसी बोल्न सुरु गर्ने उनको कथा वाचनकै क्रममा गला एक्कासि अवरुद्ध हुन्छन् । भन्छिन्, ‘आफ्नै कथा भन्ने भने निक्कै गाह्रो हुने रैछ ।’

राधिकाको जीवन कथा सुन्दा कसैको पनि मुटु नछोइ रहँदैन । उनको जीवन यात्रा साँच्चै नै एक प्रेरणादायी र मन छुने कथा हो, जसले हामी सबैलाई जीवनप्रति आशावादी र सकारात्मक हुन सिकाउँछ ।

बाल्यकालमा प्रेम र सुरक्षाको काखमा हुर्केकी राधिका १८ वर्षकै उमेरमा एक अनजान व्यक्तिसँग विवाह बन्धनमा बाँधिइन् । तर, उनको वैवाहिक जीवन सपनाको बगैँचा होइन, यातनाको भट्टी बन्यो ।

आफ्नो परिवार र पढाइका विषयमा उपस्थित सयौँलाई सुनाइरहँदा आँसु थाम्न सकिनन् ।

माफी माग्दै आँसु पुछ्दै अनि फेरि रुँदै बोल्न कहिलेकाहीँ आफ्ना कथा सुनाइन् । भनिन्, ‘मेरा मातापिताको इच्छामै मेरो विवाह भयो, मैले कुनै प्रेम विवाह गरेकी थिइनँ ।’

पशुपतिमा जारी महापुराणमा सहभागी भक्तजनहरू

राधिकाको आवाज भावुक हुन्छ, जब उनी आफ्नो विगत सम्झन्छिन् । ‘मेरा श्रीमान्‌ले मलाई जङ्गलमा लगेर मार्ने धम्की दिँदा, सिगरेटले डाम्दा, म कति असहाय र एक्लो महसुस गर्थेँ’ उनी भन्छिन्, आँसु थाम्न नसकी ।

राधिका आफू पनि पढ्दै स्कुल पढाउन थालिन् । त्यसबीचमा श्रीमान्‌ले धेरै हिंसा गरे । यति कथा भन्दाभन्दै राधिकाले भक्तजनका अगाडि कैयौँपटक आँसु पुछिन् । सुनिरहेका भक्तजनका पनि आँखा रसाए ।

राधिकामाथि बारम्बार यातना बढ्दै गयो । यी कठोर यातनाले उनलाई आत्महत्याको किनारसम्म पुर्‍याए ।

कतै सुनिन्, ‘स्लिपिङ ट्याब्लेट खायो भने त सुतेको सुत्यै मरिन्छ रे ।’ सहज मृत्यु खोज्दै उनी ३६५ वटा स्लिपिङ ट्याब्लेट बोकेर पशुपतिको जङ्गलमा पुगिन् ।

जब पानी निकालेर औषधि खान लागिन् । स्कुलबाट फोन आयो । फोनमा भनियो, ‘तपाईँको छोरा सिकिस्त बिरामी छ ।’

छोरा बिरामी सुनेपछि उनले खान लागेको औषधि छाडेर घर फर्किन् ।

तर, विधिको विधान कस्तो, जब उनी मृत्युको मुखमा जान लागेकी थिइन् तब, उनको छोराको बिमारीको खबरले उनलाई जीवनतर्फ फर्कायो । उनलाई यति चाँडै मर्न लेखेको थिएन सायद ।

सात वर्षपछि उनले श्रीमान्‌सँग बस्न नसक्ने निश्चित गरिन् । श्रीमान्‌सँग सम्बन्धविच्छेद् गरिन् । छोरालाई विराटनगरको एउटा स्कुलमा भर्ना गरिन् ।

कथावाचिका राधिका दासी

राधिका भने भारतको वृन्दावन गइन्, मन बहलाउन । राधिकाको जीवनमा नयाँ मोड आयो, जब उनी वृन्दावन गइन् ।

त्यहाँ एक गुरुको सल्लाहले उनको जीवनको दिशा बदलिदियो । ‘तिम्रो जीवन व्यर्थ नफाल, यसलाई समाजको सेवामा लगाउ,’ गुरुको यो वाक्यले उनलाई नयाँ जीवन दियो ।

उनले त्यहाँ आचार्यसम्म पढिन् । वृन्दावनमा धार्मिक प्रवचन दिन थालिन् । विसं २०७१ मा नेपाल फर्किएर आइन् ।

तीनै राधिका यति बेला कयौँको मन जित्ने कथा वाचिका हुन् । कयौँ सामाजिक कार्य गरेकी छिन् । ठाउँ/ठाउँमा पुराण भन्दै सहयोग संकलन गरिरहेकी छिन् ।

आज राधिका एक प्रेरणादायी व्यक्तित्व बनेकी छिन् । उनले आफ्नो दुःखद् विगतलाई शक्तिमा बदलेकी छिन् । उनको कथा भनेरै निर्माण गरेको ‘माया घर’ मानसिक समस्या भएकाहरूको लागि आशाको किरण बनेको छ ।

आज उनको कथा सुन्दै स्रोताहरू भावविभोर हुन्छन्, आँसु झार्छन्, र प्रेरणा पाउँछन् ।

राधिकालाई भाग्यले यसरी घुमाएर ल्यायो कि उनले आफ्नो जीवनलाई ‘खेर’ फाल्नुभन्दा समाजको हितमा खर्चिने निर्णय लिएकी थिइन् ।

अहिले उनको क्षमता, आवाज र सुन्दरताले दुनियाँका कथा बाचकलाई जितिरहेको छ । अहिले दुनियाँको रोजाईको व्यक्तिमा पर्छिन् ।

राधिकाले आफ्नै जीवनी भन्दै प्रेरणा दिन्छन्, ‘जीवनमा जति नै कठिनाइ आए पनि, हामी त्यसलाई जित्न सक्छौँ । हरेक अँध्यारो रातपछि उज्यालो बिहानी आउँछ ।’

राधिकाको कथा सुन्दा भक्तजनहरूलाई केवल उनको पीडा महसुस हुँदैन, बरु उनीहरू आफैँलाई बलियो र साहसी महसुस गर्छन् होला सायद । उनीहरूले बुझ्लान् कि जीवनका कठिनाइहरूलाई सामना गर्न सकिन्छ ।

रवाफ देखाएको भन्ने विवादमा देवी प्रतिभाको दाबी- १०\१२ होइन, म त ६०\७० बाउन्सरसँग हिँड्छु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved