रिपोटर्स डायरी : महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

सुन्नुहोस्

सत्यको लागि लड्नु कहिलेकाहीँ घातक हुँदोरहेछ । ‘पशुपति कोटिहोम’मा धर्मको नाममा भएको लुट उजागर गरेपछि, ममाथि क्रूर आक्रमण भयो । तर, रगतले भिजेको मेरो टाउको र घाउहरूले मेरो साहसलाई झन् बलियो बनाएको छ । ज्यान मार्ने धम्कीहरू अझै पनि आइरहेका छन् । तर म आफ्नो कर्तव्यबाट पछि हट्दिनँ । रगतको अन्तिम थोपा रहुन्जेल, सत्य र न्यायको लागि म लडिरहनेछु, चाहे त्यसको मूल्य जति नै महँगो किन नहोस् ।

रिपोटर्स डायरी : महायज्ञमा ‘महाराज’को निशानामा परेर पनि उम्किएको त्यो रात !

साउनको अन्तिम दिन, शुक्रबार राति । समय ११ बजे । ‘पशुपतिको रणभूमि’ भन्दै केही फेसबूकमा लाइभ भइरहेको देखेँ । पशुपति विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा क्षेत्र हो । हिन्दू धर्मावलम्बीको आस्थाको विशाल धार्मिकस्थल । जहाँ साउनभर कोटिहोम लगाइएको थियो ।

कोटिहोम महायज्ञस्थल, जहाँ धार्मिक स्थलमा शान्तिको अपेक्षा गरिन्छ । तर, त्यहाँको वातावरण युद्धमैदान जस्तै देखिएको थियो । भिडिओमा प्रहरी र पहेँलो वस्त्र लगाएका केही व्यक्तिहरूबीच धकेलाधकेल भइरहेको देखिन्थ्यो ।

आयोजक विजय भण्डारी स्वयम् फेसबूक लाइभमा आत्तिँदै हारगुहार मागिरहेका थिए । उनी भनिरहेका थिए, “साथीहरू मलाई पक्राउ गर्न प्रहरी आएको छ, सबै भक्तजन साथीहरू पशुपतिमा आउनुस्, प्रतिकार गर्नुस…।”

बंगलादेशको जस्तो हालत बनाउँछु भन्दै उनले भड्काउ अभिव्यक्ति दिइरहेका थिए । हातमा लाठी मुङ्ग्रो लिएका भक्तजनहरूले प्रहरी खेदिरहेका थिए । फेसबूक पेजबाट उक्त तनावपूर्ण अवस्था लाइभमा देख्दा धेरैको चासो थियो— के भयो ?

खाँदै गरेको गाँस छाडेर पत्रकारिताको धर्म निभाउन रिपोर्टिङमा निस्किएँ । म घटनास्थलमा पुग्दा करिब साढे ११ भएको थियो । त्यहाँ पुगेपछि थाहा भयो कि प्रहरी कोटिहोमका आयोजक भण्डारीलाई सोधपुछका लागि लिन भन्दै त्यहाँ पुगेको रहेछ ।

प्रहरी कोटिहोमस्थलमा आउनुअघि आयोजकहरू हिन्दी गीत बजाएर नाचिरहेका थिए रे ! ‘महाराज’ र ‘अनुयायी’हरूको जोडी मिलेपछि कस्तो रङ्गिन दृश्य, धार्मिक स्थलमै डिस्को ! पटक-पटक ठगीको आरोपमा जेल परेका र उनीविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहिरहेको बेला उनले पुलिस रिपोर्ट (प्रहरी चारित्रिक प्रमाणपत्र) भने क्लियर रहेको बनाएका रहेछन् ।

सो रिपोर्ट कहाँबाट आयो भन्ने विषयमा सोधपुछ गर्न प्रहरी गएको रहेछ । तर, उनले समर्थन बटुल्नको लागि आफूले हिन्दू राष्ट्रको माग गरेपछि प्रधानमन्त्रीको आदेशमा प्रहरी आफूलाई पक्राउ गर्न आएको दाबी गर्दै भिडिओ बनाएरै प्रचार गरे। त्यसलाई पत्याएर समर्थकहरू प्रहरीमाथि जाइलाग्दा तनावको अवस्था सिर्जना भएको रहेछ ।

प्रहरीको भ्याननजिकबाट उनि उम्किन सफल भएछन् । म जाँदा प्रहरीहरू थिएनन् । तर, समर्थकको हात-हातमा लाठी, मुङ्ग्रो र ढुङ्गा इँटाका टुक्रा थियो ।

विजय भण्डारीलाई जोगाउन समर्थकहरूले हातमा लाठी, मुङ्ग्रो लिएका प्रहरीलाई खेदाएछन् । केही प्रहरी घाइते भएर फर्किएका रहेछन् । मञ्चमा आयोजक विजय भण्डारी, गायिका राधिका हमालसहित केही मानिसहरू थिए ।

उनीहरू अन्टसन्ट भाषण गर्दै थिए । हलमा रहेको भीड अराजक शैलीमा नाराबाजी र होहल्ला गरिरहेको थियो । त्यहाँको अवस्थाबारे मैले तुरुन्त नेपालभ्युजको आधिकारिक फेसबूक पेजबाट ‘लाइभ’ गरेँ ।

गेरुवस्त्र लगाएका उनले सामाजिक सञ्जालमा प्रयोग गरेका शब्दले धर्मभित्र छिपेको उनको वास्तविक चरित्र पनि उजागर गरिरहेको थियो । कोही अश्लील गालीगलौच गर्दै चिच्याउँदै थिए, कोही रुँदै कराउँदै थिए ।

त्यो कुनै सामान्य धार्मिक कार्यक्रम जस्तो देखिँदैनथ्यो । मञ्चमा भाषण चल्दै थियो । समर्थकहरू हुटिङ गर्दै थिए । भाषणमा भन्दै थिए— बंगलादेशको जस्तो आन्दोलन गर्छौँ, लौ मलाई छोएर त देखाऊ !

धार्मिक स्थलमा अश्लील नाराबाजी र हुटिङले वातावरण विषाक्त बनेको थियो । त्यो हर्कत हेर्दा सजिलै बुझ्न सकिन्थ्यो कि आयोजक भण्डारी दोष वा अपराधलाई धर्मको आडमा छिपाउने प्रयास गरिरहेका थिए ।

किनकि विजय भण्डारीको विगत ठगी नै ठगीले भरिपूर्ण छ । उसो त उनका अनुयायीले ठान्दा हुन्, “डाँकु रत्नाकर वाल्मीकि बन्न सक्छन् भने हाम्रा गुरु पनि त कृष्णमूर्तिजी महाराज बन्न सक्नुहुन्छ, भलै त्यो ट्याग आफैँ किन राख्न नपरोस् !”

तर, उनको पछिल्लो गतिविधिले पनि उनलाई रत्नाकरबाट वाल्मीकि बनाएझैँ लाग्थेन । उनलाई पक्राउ गर्न प्रहरी आएपछि उनले व्यासासन नछोड्ने अडान लिएका थिए ।

किनकि व्यासमा प्रहरीले जान नमिल्ने धार्मिक नियम छ । वास्तविकता के थियो भने उनी गिरफ्तारीबाट बच्न खोजिरहेका थिए र व्यासमै अनसनको धम्की दिइरहेका थिए ।

जस्ता ‘महाराज’ उस्तै ‘अनुयायी’ ! तल समर्थकहरू पनि होमा हो मिलाउँदै अश्लील नाराबाजी गरिरहेका थिए । धार्मिक स्थलको त्यो हदको हर्कत मैले यथार्थमा यसअघि कतै देखेको थिइनँ । पीके फिल्मका ‘रङ नम्बर’हरू पशुपतिमा उत्रिएका थिए ।

उनीहरूले बोल्ने शब्द र शैलीले उनीहरूको चरित्र र वास्तविक चरित्र उदाङ्गो भइरहेको थियो । यी सबै गतिविधि मैले आफ्नो मोबाइलको क्यारामा कैद गरिरहेको थिएँ ।

***

घटनाक्रम अघि बढ्दै गर्दा हलको पछाडिबाट एक युवाले ‘महायज्ञको हिसाबकिताब सार्वजनिक गर्नुपर्दैन ?’ भन्दै चिच्चाए ।

महायज्ञमा भक्तजनले दिएको दान र चन्दाको हिसाब मागेको सुनेर ‘महाराज’को कम्पारो तातेछ । मञ्चबाट कार्यकर्तालाई निर्देशन दिइहाले— सायद त्यो क्रिश्चियन हो, हिन्दू धर्मविरोधी हो, उसलाई ठीक पार्नुहोस् ।

विजय भण्डारीको आदेश पाएपछि उनका पन्ध्र-बीसजना युवाहरू ती हिसाब देखाउन भन्ने युवातिर दौडिए । उसो त मिडियाले उनका कर्तुतबारे लेखेपछि पशुपतिमा भाडाका गुन्डाहरू उनले भर्ती गरिसकेका थिए । कसैले प्रश्न उठाए मुक्कामारी गर्न के गाह्रो !

महायज्ञको हिसाबकिताब माग्दा विजय भण्डारीबाट कुटिएका युवा

भीडले ती युवालाई नियन्त्रणमा लियो । वरिपरि घेरिएका सबैले कुटपिट गर्दै अगाडि मञ्चमा ल्याए । ती युवाको नाक मुखबाट रगत बगिरहेको थियो । आफूलाई नकुट्न भन्दै हात जोड्दै थिए । तर ‘महाराज’का सेना न थिए, किन छाड्थे ?

उसको अनुहारबाट बग्दै गरेको रगत देख्दा मेरा पनि आँखा रसाए । मैले त्यो यथार्थ देखाउन भिडिओ खिचेँ । त्यसबखत मलाई रोक्ने प्रयास भयो । तर ‘यो मेरो कर्तव्य हो, मैले यस्तो गुन्डागर्दी जनतासमक्ष ल्याउनैपर्छ’ भन्ने सोचेर भीडलाई पेलेरै भए पनि लाइभमा देखाएँ ।

रगताम्मे उनलाई मञ्चको एक कुनामा लगेर राखियो । नेपालभ्युजको लाइभको ४३ मिनेटपछि त्यो दृश्य अझै देखिन्छ । सोसल मिडियामा पनि भाइरल छ ।

***

लाइभ सुरु गरेको एक घण्टा १ मिनेटपछि मेरो मोबाइलको ब्याट्री २ प्रतिशतमा झर्‍यो । लाइभ बन्द गरेँ । केही फोटोहरू खिचेर घर फर्किने सोचमा हलको गेटतर्फ लागेँ ।

एक हुल युवाहरूले मेरो बाटो छेके । ‘महाराजज्यूले एक छिन बस्न भन्नुभएको छ’ उनीहरूले शान्त स्वरमा भने । मैले प्रतिवाद गर्दै आफ्नो बाटो नछेक्न आग्रह गर्दै थिए ।

माइकबाट मेरो नाम उद्घोष भयो । ‘श्यामसुन्दर पुडासैनी सर कता हुनुहुन्छ ? तपाईं पक्षमा हुनुहुन्छ कि विपक्षमा ?’, कसैले कडा स्वरमा सोध्यो । त्यो आवाजसँगै आयोजक विजय भण्डारीको आँखा र हातको इशारा उनका समर्थकहरूतर्फ देखिन्थ्यो ।

उनको इशारा देखेपछि मलाई लाग्यो कि म खतरामा छु ।

त्यतिबेला रातको साढे १२ बजिसकेको थियो । माइकबाट थप कडा चेतावनी आउन थाल्यो, ‘तपाईं कुन भूमिमा उभिएर बोल्दै हुनुहुन्छ ? लाइभमार्फत के बोल्नुभएको तपाईंले ? तपाईंले हिजो हाम्रो महाराजको बारेमा के समाचार लेख्नुभएको ?’

त्यसपछि दशؘ-बाह्रजनाको समूहले मलाई घेरा हाल्यो । त्यो दृश्य केही मिडियाले लाइभ गरिरहेका थिए । मलाई घेरा हाल्नेमध्ये केहीले भने, “यहाँ मिडियाले भिडिओ खिचिरहेका छन् । बाहिर लगेर कुटौँ । अहिले पब्लिकमा देखाउनचाहिँ सम्मान गरेको जस्तो गरौँ ।”

आयोजक विजय भण्डारीले माइकबाटै सार्वजनिक रूपमा मलाई दुर्व्यवहार गर्न निर्देशन दिए । भीडले मलाई धकेल्दै, घिच्च्याउँदै मञ्चतर्फ लग्यो । मेरो टाउकोमा लगाएको हेलमेट मञ्चमा उक्लिएलगतै खोसियो ।

मलाई चार/पाँचजनाले अट्ठ्याएर चल्न चटपटाउनसमेत दिइएन । मलाई मञ्चको बीच भागमा लगियो । विजय भण्डारीको आदेश पालना गरेर भीडले मलाई अपमानजनक तवरले अन्धाधुन्ध माला खादा र फूलमाला लगाइदियो ।

मलाई भीडले अट्ठ्याएर त्यहाँ उभ्याइरह्यो । मलाई चल्न पनि दिएन । विजय भण्डारीको आदेश पालना गर्दै भीडले मलाई अपमानजनक तवरले अन्धाधुन्ध माला खादा र फूलमालाले ढाकिदियो ।

म एकजना मामुली सञ्चारकर्मीलाई समाचार लेखेकै आधारमा यस्तो क्रूर आक्रमण भइरहँदा भीडले जोर-जोरले ताली बजायो । चर्को हुटिङ मच्चायो, मानौँ उनीहरूले कुनै महायुद्ध जितेका थिए ।

उनीहरू यत्तिमै रोकिएनन् । मञ्चबाट विजय भण्डारी र उनका सहयोगीहरूले मलाई अनेक धम्की दिए ।

ती धम्कीहरू माइकबाट प्रसारण हुँदै थिए, जसलाई मिडियाले पनि कैद गरिरहेको थियो । ‘लेखेर मेरो बदनाम गर्नुहुन्छ ? सक्नुहुन्छ ? म तपाईंलाई यसैगरी ठीक पार्छु,’ खुलेआम विजय भण्डारीको धम्की थियो ।

धम्की त उनको लागि झनै सामान्य थियो । किनकि मिडियाकै अगाडि दुर्व्यवहार, कुटपिट, र लुटपाट गर्नु उनका लागि सामान्य कुरा थियो ।

मलाई जबरजस्ती भिराइएको फूलमाला झिक्न प्रयास गर्दा म असहाय भएँ । मैले सकेजति प्रतिकार गर्न खोजेँ तर, त्यत्रो भीडको अगाडि म निरीह बनेँ ।

मञ्चमा ममाथि दुर्व्यवहार सकिएपछि भीडले विजय भण्डारीलाई सोध्यो, “महाराज, अब के गरौँ ?” विजय भण्डारीले कडा स्वरमा आज्ञा दिए, “यसलाई तल लगेर ठीक पार !”

त्यसपछि मलाई झनै बर्बर तरिकाले कुट्दै मञ्चबाट तल झारियो । भीडको निर्दयता र क्रूरता सहन विवश बनेँ ।

***

मेरो हालत अघिकै युवाको जस्तो हुने भयो भनेर म सहाराको खोजीतर्फ आँखा डुलाएँ । मैले मद्दतको लागि वरपर हेरेँ तर, कोही पनि मेरो सहयोगमा आएन । यहाँसम्म कि मैले विगतमा निस्वार्थ सहयोग गरेका केही व्यक्तिहरू पनि मूकदर्शक बने ।

मप्रतिको दुर्व्यवहार, कुटपिट र लुटपाटको रमिते भए । गोदावरी ३ का वडाध्यक्ष राज घिमिरे थिए मेरै सामुन्ने । चपलीहाइट नामको भल्गर फिल्मका अभिनेतासमेत रहेका उनलाई कलाकारदेखि चुनावमा उम्मेदवार हुँदासम्म मैले निःस्वार्थ सकेको सहयोग गरेको थिएँ । तर, त्यो घटनामा मलाई उनले व्यक्तिगत रूपमा हानि नगरे पनि सहयोग पनि गरेनन् ।

आयोजक विजय भण्डारी र उद्घोषकको आदेशमा भीडले हालेको घेरा र गरिएको दुर्व्यवहार तथा कुटपिट । फोटो- न्यूजईननेपाल युट्युब

अघिसम्म त्यहीँ चिच्याएर भाषण गरिरहेकी लोक तथा दोहोरी गायिका राधिका हमाल पनि कता पो गइसकेकी थिइन् मैले देखिनँ । सायद त्यो घटनामा म बाँचे भनेपछि मैले कुनै बदला लिन्छु कि भनेर होला उनी मेरो छेउ देखा परिनन् । त्यसपछि भीडले मञ्चको बायाँ भर्‍याङबाट तल ओराल्यो ।

विगतमा अश्लील भिडिओ अपलोड हुने ‘फुलचोकी मिडिया’का प्रदीप थापा अहिले विजय भण्डारीको दाहिने हात रहेछन् । डान्सबारका केटीहरूलाई मोडल भन्दै अश्लील किसिमका कुरा गरेर अन्तर्वार्ता लिने उनी ‘महाराज’को प्रिय पात्र हुन् ।

सामाजिक सञ्जालमा अश्लीलता हुनुहुँदैन भनेर मैले विगतमा धेरै लेखेको थिएँ । मञ्चबाट तल झर्नै लाग्दा उनले त्यसको रिस फेर्न भ्याए । भीडको बीचमा हात घुसाएरै भए पनि उनले पनि मलाई दुई झापड लगाए ।

होहल्लाका बीचमा पनि माइकमा कसैले ‘बिलम पन्त’को नाम पटकपटक लिइरहेको सुनेँ । समाजसेवामा लागेको बताउने उनीसँग मेरो पुरानो चिनजान थियो । उनका धेरै अभियानबारे मैले मिडियामा लेखेको थिएँ ।

तीन महिनाअघि मात्रै उनले गरेको एउटा राम्रा कामको भिडिओसहितको स्टोरी नेपालभ्युजमै लेखेको थिएँ । समाचार प्रकाशनपछि मलाई उनले भनेका थिए, ‘श्याम सर तपाईंको हातमा सरस्वती छ । अहिलेसम्म मेरो बारेमा मिडियामा आएकोमध्ये सबैभन्दा राम्रो लेखाइ तपाईंकै लाग्यो । यो गुण कहिल्यै बिर्सन्नँ । धेरै धेरै धन्यवाद !”

उनी पनि कोटिहोd आयोजककै टिममा रहेछन् । माइकबाट उनको नाम सुनेर मलाई बाँच्ने आशा पलायो । भीडले मलाई कुटेर मार्लान् भइरहेको अवस्थामा उनलाई देखेरै मलाई ठूलो राहत मिल्यो । लाग्यो, ‘म अब सुरक्षित भएँ । मलाई बचाउनेछन्’ । तर, अहँ उनकै समूहको भीडले घेरेर आक्रमण गरिरहँदा उनले ‘नकुट, छाडिदेउ’सम्म भनेनन् ।

मलाई भीडले चारैतिरबाट घेरेर टाउको शरीरका विभिन्न भागमा कुट्दाकुट्दै बाहिर लग्दै थियो । मलाई घेरेर कुट्नेहरू पन्ध्र-बीस जनाभन्दा बढी थिए ।

यसका दृश्य विभिन्न सामाजिक सञ्जालमा भाइरल छन् । ती मेरा तीता भोगाइ हुन् । अहिले आफ्नै फेसबूक टिकटकका टाइमलाइनमा आउँदा म आफैँ हेर्न सक्दिनँ ।

***

भीडले मलाई हलबाट निकालेर बाहिर गेटमा लग्यो । त्यहाँ करिब पाँच-सात मिनेट कुट्यो । त्यो अवधिमा कसैले भन्थे, ‘यो बाँच्यो भने यसले हामीलाई छाड्दैन । महाराजलाई पनि सक्छ । यसलाई यही सिद्ध्याइदिउँ ।’

ती शब्दहरूले मेरो आत्मामा थप डर र चिन्ताको लहर ल्याउँथ्यो । कसैले भन्थे, ‘होइन धेरै नकुटौँ । मार्नु हुँदैन । महायज्ञको गलत सन्देश जान्छ । आज जान दिउँ । पछि ठीक परौँला, कहाँ पो जाला र ?’

टाउकोमा धेरै प्रहार भएर होला भनन्न रिङ्गटा लाग्यो, संसार घुम्न थाल्यो । मुखबाट रगत वान्ता भयो । दृष्टि धमिलो हुन थाल्यो, मेरो कान बज्न थाले । सयौँ मुक्का र लात्ती खाइसकेको मेरो शरीरले अब धेरै सहन सकेन । म अर्धचेतको अवस्थामा पुगेँ । तर, पूरै बेहोश भइनँ ।

तैपनि मृत्युको छायाँ नजिक आउँदै गरेको महसुस गरेँ । मलाई लाग्यो, मैले हारेँ अब प्रतिकार गर्दिनँ । लाग्यो, ‘भीडसामु आत्मसमर्पण गर्छु । दया गरेर बचाए भने ठीकै छ, मारे पनि मारून्’ ।

तर, मलाई अचानक विगतको यस्तै घटनाको याद आयो, एक प्रकाशको किरण जस्तै । आठदश बर्सअघि म योभन्दा अझ ठूलो गम्भीर आक्रमणमा पनि बालबाल बाँचेको थिएँ । टाउको फुटेर भलभली रगत आउँदा समेत हिम्मत हारिनँ । बाँचेर फर्किएँ । भकाभक कुटाइ खाइरहँदा त्यही पुरानो घटना सम्झिएँ ।

अनि मेरो मनमा मेरै आवाज गुन्जियो, ‘उठ्, श्यामसुन्दर ! तँ यहाँ मर्न आएका होइनस् । तेरो काम अझै सकिएको छैन । धर्मको खोल ओढेर यिनीहरूले गरिरहेका थुप्रै अपराधलाई बाहिर ल्याउँनैपर्छ ।’

ममाथि निरन्तर आक्रमण भइ नै रहेको थियो । मेरै आन्तरिक आवाजले मलाई नयाँ शक्ति दियो । मैले आफ्नो सबै बल लगाएँ । आफ्नो अन्तिम शक्ति प्रयोग गरेँ । र, भीडको बीचबाट निस्कन प्रयास गरेँ । सफल पनि भएँ । धन्न, म बेहोश हुन नपाउँदै उनीहरूको पञ्जाबाट उम्किएँ ।

बाहिर मुसलधारे पानी परेको रहेछ । दर्कने पानीले मलाई प्राण दियो । शीतल पानीको प्रत्येक थोपा-थोपा मेरो लागि अमृत बन्यो । पानीका थोपा शरीरको रगतमा छोइँदा शीतल महसुस भइरह्यो ।

भीडको चर्को कुटाइबाट नत्र म त्यही ढल्ने थिएँ । ढलेको भए मलाई त्यहीँ सिद्ध्याउँथे होला । बेपत्ता पार्थे होला । तर, म एक्लै टाउको र शरीरका विभिन्न भागमा लाठी र मुक्काको मुकाबिला गर्दै भीडको पञ्जाबाट उम्कन सफल भएँ । लाग्यो, म अब बाँचे, अनि मैले जीवनको महत्त्व अझै गहिरोसँग महसुस गरेँ ।

म उम्किए पनि सामानहरू बचाउन सकिनँ । मेरो हेलमेट त मञ्चमै खोसिएको थियो । घाँटीमा लगाइएको सिक्री थिएन । घाँटीमा भिरिरहेको पत्रकार परिचयपत्रको डोरी मात्र थियो । कार्ड कसैले लुछेछ । हातमा लिएको सानो झोला कसले थुत्यो थुत्यो ।

पाइन्टको पछाडि गोजीमा रहेको पर्स पनि बचेन । पैसा भने साथमा धेरै बोक्ने बानी थिएन । धेरै लुटिनँ पाएन । पर्सभित्र सवारीचालक अनुमति पत्र (लाइसेन्स) मोटरसाइकलको ब्लुबुक (सवारी धनी दर्ता किताब) र केही महत्त्वपूर्ण कागजात तथा भिजिटिङ कार्ड थियो । अरू त अरू खुट्टामा लगाइएको जुत्ता बाँकी रहेन ।

कसो कसो उम्किन सफल भएँ । बाहिर मुसलधारे पानी परिरहेको रहेछ । भित्र कुटपिटबाट म लखतरान भइसकेको थिए । बाहिर आएपछि पानीले केही शीतलता र आराम दियो ।

म उनीहरूको पन्जाबाट छुट्टिएर दौडँदै भाग्दै थिएँ । भागे पनि केहीले काठको भाटा र ढुङ्गाले झटारो हान्न छाडेनन् । केही युवा मलाई पछ्याउँदै आए । खाली खुट्टा, रगताम्य अवस्थामा, पानीमा भिज्दै दौडिएँ । मेरो हरेक कदम पीडा र आशाको मिश्रण थियो ।

अलि पर पुगेपछि ढुङ्गामा ठेस लागेर लडेँ । उठेर फेरि भाग्नै लाग्दा अगाडिबाट २ वटा कुकुर दौडिएर आयो । अगाडि भागौँ झम्टेर आएको कुकुरले टोक्ला, पछाडि फर्कौँ ब्वाँसा जस्ता गुन्डाहरूले लुछ्लान् भन्ने डर ।

तैपनि म अघि नै लागे । कुकुरले मलाई केही गरेन । मलाई लाग्यो यो संसारमा मान्छेभन्दा पशु बढी महान् हुने रहेछ । जब मान्छे पशुको हैसियतमा झर्छ पशुभित्र मानवता पलाउँदो रहेछ भन्ने लाग्यो । म अगाडि दौडी नै रहेँ ।

अलिअघिबाट देब्रे लागेपछि बाटोछेउ टहरामुनि पशुपति क्षेत्र विकास कोसका एक सुरक्षाकर्मी ड्यूटीमा थिए । मेरो हालत देखेर उनले हेरिरहे, केही बोलेनन् । मलाई पनि त्यही कतै लुकौँ कि भन्ने लागेको थियो । तर, अघि लागेँ ।

अघि मलाई लखेट्दै आएकाहरू मेरो पछिपछि आइसकेका रहेछन् । तीन-चार जना जति थिए । म अझ दौडिएँ । पशुपतिको मूल गेट अगाडि आइपुग्नै लाग्दा म दौडनै नसक्ने भइसकेको थिएँ ।

जोडले धकड्न बढिरहेको थियो । स्वाँ स्वाँ भइरहेको थियो । निधारबाट पानीसँगै बगेको रगत पुछ्दै पछाडि फर्किएँ । भाग्नै नसकेपछि के गर्नु ? आत्ममपर्ण गर्नुभन्दा जति सकिन्छ भिडेरै मरौँ भन्ने लाग्यो । दुवै हातको पाखुरा सुर्किएँ । केही बोलीनँ । राम्रोसँग उभिन पनि सकिरहेकी थिइनँ ।

त्यसपछि केही उनीहरू हच्किए । अघि सरेनन् । त्यस्तै २० मिटर पर थिएँ । उनीहरू त्यही रोकिए । म डराएर नभागेको शैलीमा बिस्तारै अघि बढेँ, मुटु ढुकढुक गर्दै थियो । ‘ओइ लखेट लखेट’ भन्दै अर्को समूह उनीहरूको पछि-पछि आयो ।

उनीहरूको क्रोधपूर्ण आवाजले मलाई लाग्यो मलाई आज नछोड्ने भए । म फेरि भागेँ, मेरो सास फुल्दै थियो । पशुपति मन्दीरको मूलगेट क्रस भएर पार्किङमा पुगेँ ।

एउटा च्यातिएको गोजीमा चाबी रहेछ, अर्को गोजीमा मोबाइल । मेरो साथमा बचेको भनेको त्यत्ति रहेछ । बाइक स्टार्ट गरेर हुइँकिएँ, मेरो हृदय छातीबाट निस्केला जस्तो गरी धड्किरहेको थियो । अलि पर पुगेपछि २ वटा बाइकले पिछा गर्‍यो ।

म देब्रे मोडिएर मित्रपार्कतर्फ लागे । पानीले चुट्दै थियो । अघि दौडँदा शीतल लागेको पानीले अब भने त्यस्तो लागेन । दर्कने पानीको प्रत्येक थोपाले मेरो छालामा सुइँले घोचेको जस्तो पीडा दिँदै थियो ।

हेलमेटसम्म नलगाउँदा दर्के पानीमा रातिको यात्रा ज्यादै कष्टकर हुने रहेछ । आँखा नै हेर्न नसकिने थियो । तै पनि सडक प्रष्ट नदेखिए पनि अन्धाधुन्ध रोयल इन्फिल्ड मोटरसाईकलको एक्सिलेटर फुल बटारेँ, किनकि मेरो जीवन त्यही गतिमा भर परेको थियो ।

मित्रपार्क पुग्दासम्म बाइकहरू मेरो पिछा गर्दै आइरहेका थिए । दायाँ मोडिएर चाबहिल लागेँ । झन्डै ९०/सयको स्पीडमा केही सेकेन्डभित्रै चाबहिल चोक क्रस भएर गोपीकृष्ण पुल पुगेँ, हरेक क्षण मृत्युको नजिक पुग्दै गएको अनुभूति गर्दै थिए ।

त्यसपछि मलाई लखेट्नेहरू देखिएनन् । केहीबेरमा डेरामा पुगेँ । घटनाबारे गौशाला प्रहरी वृत्तका प्रमुख र काठमाडौं प्रहरी प्रमुखलाई फोन गरेर जानकारी गराएँ । त्यो बेला मध्यरातको ठीक १ बजेको थियो । मोबाइलको ब्याट्री जम्मा १ पर्सेन्ट थियो । धन्न पानीले भिजेर पनि मोबाइल केही भएनछ ।

मलाई कुटपिटबाट टाउकोमा ठूलो चोट नभए पनि धेरै टुटुल्का थिए । दायाँ कान माथिबाट घाउ भएको रहेछ । रगतको धारो पाइन्टसम्मा पुगेको रहेछ । धन्न पानीले पखालिएर होला धेरै देखिएको थिएन ।

कुटपिटबाट शरीर पनि थिलथिलो थियो । दायाँ खुट्टाको बुढी औँलामुनि गहिरो चोट रहेछ । रगतको पाइला नै बनेको देख्दा मुटु चिसो भयो । तैपनि म बाँचेर आउन सफल भएकोमा खुसी लाग्यो । चार्जमा मोबाइल जोड्न नपाउँदै म्यासेन्जरका घन्टी बज्न थाले ।

घटनाको लाइभ हेरिरहेका साथीहरूले म्यासेज गरिरहेका रहेछन् । टाउकोबाट बगेको रगत मोबाइलको स्क्रिन भिजिरहेको थियो । रगत पुछ्दै साथीहरूलाई ‘म ठीक छु’ भन्ने जवाफ फर्काए ।

मेरो पत्रकारिताका करिअरका सुरुवातका अग्रज दाजुहरू पत्रकार महासङ्घ नुवाकोटका अध्यक्षद्वय राजुमित्र खनालकपिलदेव खनालले ममाथिको आक्रमण लाइभ हेरिनहुभएका रहेछन् । उहाँहरूको चिन्ता थियो, ‘मलाई के भयो ?’

आफ्नो हालत छोटोमा बताएँ । मलाई लाग्यो, ‘यो रात मैले केवल आफ्नो जीवन मात्र बचाएको थिइनँ, मैले स्वतन्त्र पत्रकारिताको शक्ति पनि जीवित राख्न सफल भएँ’ । पत्रकार रवीराज बराल र नेपाल प्रेसका सम्पादक चिरञ्जीवी पौडेल दाजुले पनि सबै घटना लाइभ हेरिरहनुभएको रहेछ ।

बरालले कति छिट्टै ‘मिडिया कुराकानी’मान्यूज प्रकाशन गरिसक्नुभएछ । नेपालप्रेसमा पनि आक्रणको समाचार आइसकेको थियो । उहाँहरुको भन्नुभयो, “जब सत्य बोल्छ, अन्याय पराजित हुन्छ । हामी तपाईंको साथमा छौँ ।” त्यो आडभरोसाले मलाई चोटहरू सहने हिम्मत थियो । एक छिनमा धेरै म्यासेज आए ।

कतिपयले लाइभ देखेर त कतिपयले पछि भिडिओ देखेर आत्तिँदै म्यासेज गरेका थिए । सबैको रिप्लाई दिन सम्भव थिएन । फेसबूकमा पोस्ट गरेर सुरक्षित रहेको जानकारी गराएँ । टाउकोमा असङ्ख्य टुटुल्काहरू थिए, प्रत्येकले मलाई त्यो भयानक क्षणको याद दिलाउँदै रातभर टन्किरह्यो । रातभर निदाउँनै सकिनँ ।

सत्य र न्यायको लागि लड्नु कहिलेकाहीँ खतरनाक हुँदोरहेछ । कोटिहोमका विषयमा मैले केही दिनअघि ‘आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल’ शीर्षकमा समाचार लेखेको थिएँ । त्यही कारण क्रूर आक्रमणको सामान गर्नुपर्‍यो । यो घटना केवल एक पत्रकारमाथिको आक्रमण मात्र थिएन, यो सत्यताको आवाजलाई दबाउने एक असफल प्रयास थियो ।

आक्रमणबाट मेरो टाउकोबाट बगेको रगत, शरीरमा भएका घाउहरू थिए । तर यी सबैले मेरो साहसलाई भने झन् बलियो बनायो । अझैपनि ज्यान मार्नेसम्मको धम्की आइरहेको छ । मैले उनीहरूविरुद्धको आवाज नरोके बदला लिनको लागि एकान्तमा बाटो ढुक्ने, टिप्पर पछि लगाउनेदेखि विभिन्न मुद्दामा फसाउने धम्की म्यासेन्जरमा आइरहेका छन् ।

यी तमाम आक्रमण, धम्कीका बाबजुद म आफ्नो कर्तव्यपथमा लागि नै रहनेछु । धर्मको खोल ओढेर लुट्ने धन्दामाथि सधैँ प्रश्न उठाइरहनेछु । शरीरमा एक थोपा रगत रहुन्जेल, म सत्य र न्यायको लागि लड्नेछु । चाहे त्यसको मूल्य मेरो जीवन नै किन नहोस् !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved