धर्मको आवरणमा ठगी : विजय भण्डारीविरुद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्याएको अर्को मुद्दा आकर्षित
कोटिहोमका क्रममा पुरातात्त्विक इँटासमेत चोरी
यसअघि फौजदारी अपराधमै पटकपटक दोषी ठहर भइसकेका भण्डारीविरुद्ध अब पुरातात्त्विक सम्पदा हानि गरेको आरोपमा पनि कानुनी कारबाहीको माग उठ्न थालेको छ । उनीविरुद्ध लुटपाट र कुटपिटजस्ता मुद्दा प्रहरीमा अनुसन्धानको क्रममै छन् ।
काठमाडौं । धर्मको आवरणमा शृङ्खलाबद्ध ठगी धन्दा चलाउँदै आएका विजय भण्डारीविरूद्ध पुरातात्त्विक सम्पदामा क्षति पुर्याएको अर्को मुद्दा पनि आकर्षण हुने देखिएको छ ।
यसअघि फौजदारी अपराधमै पटकपटक दोषी ठहर भइसकेका भण्डारीविरुद्ध अब पुरातात्त्विक सम्पदा हानी गरेको आरोपमा पनि कानुनी कारबाहीको माग उठ्न थालेको छ । उनीविरुद्ध लुटपाट र कुटपीटजस्ता मुद्दा प्रहरीमा अनुसन्धानको क्रममै छन् ।
यसका अलबा उनीमाथि अर्को मुद्दा पनि थपिने भएको हो, त्यो हो- ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३ विरुद्धको कसुर ।’
उनले पशुपति क्षेत्रमा ‘कोटिहोम महायज्ञ’को नाममा आयोजना गरिएको धार्मिक कार्यक्रमले प्राचीन स्मारक संरक्षण ऐनको उल्लङ्घन गरेको भन्दै विभिन्न पक्षले आपत्ति जनाएका छन् ।
उनको संस्था मानव सेवा फाउन्डेसनले साउनभर पशुपतिमा ‘कोटिहोम महायज्ञ’ भन्दै ज्योतिषशास्त्रको सिद्धान्त विपरीतको कार्यक्रम गरेका थिए ।
साइत नमिलेको तथा अन्य शास्त्रीय मान्यताको परिपालना नगरिएकाले त्यो कोटिहोम नै नभएको संस्कृतिविद्ले तर्क गरेको सो कार्यक्रमको लागि आयोजक विजय भण्डारीले पशुपति परिसरमा हवन गर्न भन्दै खाल्डो खनेका थिए ।
यस कार्यले धार्मिक र सांस्कृतिक मान्यतासँगै ऐतिहासिक सम्पदामा क्षति पुगेको पुरातत्त्व विभागको दाबी छ ।
विवादास्पद ‘कोटिहोम’, ऐतिहासिक सम्पदामा क्षति
‘कोटिहोम’ विवादैविवादका बीच सकिसकेको छ । पहिलो— आयोजकको विवादास्पद छवि, दोस्रो— आर्थिक अपारदर्शिता, तेस्रो— सांस्कृतिक–धार्मिक दृष्टिकोणका कारण विवाद आएको सो कार्यक्रमका लागि विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा ‘प्राचीन स्मारक संरक्षण ऐन १०१३ विपरीत गतिविधि भएको हो ।
पशुपति, स्वयम्भू, वसन्तपुरलगायतका सम्पदा क्षेत्रमा सम्पदाको मूल्य मान्यताविपरीत काम भएको भन्दै युनेस्कोले केही सम्पदालाई खतराको सूचीमा राख्नसमेत प्रस्ताव गरेको थियो । खतराको सूचीमै परिरहँदा जोगाउन पहल गर्नुपर्नेमा उल्टो हानि हुने काम गरेर पुरातात्त्विक मूल्य मान्यताविपरीत काम भएको हो ।
विश्व सम्पदामा सूचीकृत र त्यस क्षेत्रमा उत्खनन् गर्दा विभिन्न क्षेत्रबाट अनुमति लिनुपर्छ । तर, कोटिहोममा हवनका लागि भनेर आयोजकले पशुपतिनाथ क्षेत्र भित्र विभिन्न स्थानमा मनलाग्दी रूपमा खाल्डो खनेका थिए ।
हवन गर्ने नाममा जथाभावी ७ फिट गहिरो खाल्डो खन्दा ऐतिहासिक संरचनाको नास गरिएको थियो । जसले पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन प्रतिकूल गतिविधि भएको देखिएको छ ।
विश्व सम्पदामा सूचीकृत पशुपतिको धार्मिक, सांस्कृतिक मान्यताविपरीत खाल्डो खनेको जानकारी पाएपछि त्यो बेलामा विश्वसम्पदामा सूचीकृत र त्यस क्षेत्रमा उत्खनन् गर्दा महत्त्वपूर्ण ऐतिहासिक संरचनाको सङ्केत पाइएको कैलाश क्षेत्रमा कोटिहोमका लागि अनधिकृत रुममा खाल्डो खनिएकोमा आपत्ति जनाउँदै पुरातत्त्व विभागले सार्वजनिक रूपमै असन्तुष्टि जनाएको थियो ।
विश्व सम्पदामा सूचीकृत पशुपतिको धार्मिक, सांस्कृतिक मान्यताविपरीत खाल्डो किन खनेको भन्दै पुरातत्त्व विभागले पशुपति विकास कोषलाई लेखेको पत्र ।
असार २ गते पशुपति क्षेत्र विकास कोषलाई पत्राचार गरेर विभागले कोटिहोमका नाममा पशुपति क्षेत्रमा भएको अनधिकृत कार्य रोक्न निर्देशन दिएको थियो । साथै किन त्यसो गरियो सो बारेमा एक साताभित्र जवाफ माग गरेको थियो ।
पत्रमा उल्लेख गरिएअनुसार हवन गर्न खाल्डो खनिएको उक्त क्षेत्रमा पहिले नै भू-भौतिक सर्वेक्षण अर्थात् भूभौतिक सर्वेक्षण भइसकेको र त्यहाँ महत्त्वपूर्ण संरचनाहरू रहेको पाइएको हुँदा हवन गर्नका लागि जथाभावी रुपमा खाल्डो खन्दा सो ऐतिहासिक संरचनाको नास हुने विभागले उल्लेख गरेको छ ।
तर, पशुपति क्षेत्र विकास कोषले कुनै जवाफ नदिएको पुरातत्त्व विभागले जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार ऐतिहासिक संरक्षित पशुपति क्षेत्रमा खाल्डो खन्ने कार्य प्राचीन स्मारक संरक्षण ऐनको ठाडो उल्लङ्घन हो ।
उनले नेपालभ्युजसँग भने, “त्यस क्षेत्रमा गरिएको खननले महत्त्वपूर्ण ऐतिहासिक संरचनामा हानि पुर्याएको छ । यसैले नखन्न भनेर हामीले पत्राचार गरेका थियौँ । साथै खनिएको विषयमा जवाफ माग गरेका थियौँ । संरक्षित स्मारक क्षेत्रको सांस्कृतिक पर्यावरणमा खलल नपुगोस् भन्ने कुरामा विभाग सधैँ संवेदनशील छ । तर यसबारेमा पशुपति क्षेत्रविकाश कोषबाट अझै जवाफ आएको छैन ।”
भाडामा दिएको भन्दै पन्छियो विकाश कोष
पशुपति विकास कोषले पुरातत्त्व विभागको अनुमति नै नलिई कोटिहोमका आयोजकलाई खन्ने अनुमति दिएको थियो । आयोजकसँग तीन लाख १५ हजार रुपैयाँ शुल्क लिएर खाल्डो खन्ने अनुमति दिएको देखिन्छ । पछि विभागले प्रश्न उठाएपछि थामथुम पार्न केही भाग पुरेर हवन गरिएको जानकारहरू बताउँछन् ।
पशुपति क्षेत्र विकास कोषले कोटिहोम आयोजकलाई दिएको अनुमति पत्र ।
यता पशुपति क्षेत्र विकास कोषले भने पुरातात्त्विक सम्पदा संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको दाबी गरेको छ । साथै पुरातत्त्व विभागयसबारे जवाफ लेखिसकेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीको दाबी छ ।
उनी भन्छन्, “हामीले महायज्ञ आयोजकलाई केही समयका लागि भाडामा दिए हौँ । पुरातत्त्व विभागबाट उत्खखन् नगर्न भनिएपछि रोक्न भनेका थियौँ । यसबारे पुरातत्त्व विभागलाई पत्र लेखिसकेका छौँ ।”
सयौं वर्ष पुराना इँटासमेत चोरी, कारबाहीको माग
कोटिहोम सञ्चालन गर्न जमिन भाडामा लिएकै आधारमा पुरातात्त्विक सम्पदामा क्षति पुर्याउने विजय भण्डारीको समूहले कानुनी रूपमा सजाय पाउनुपर्ने आवाज उठ्न थालेको छ ।
‘प्राचीन स्मारक संरक्षण ऐन २०१३’ अनुसार कुनै पुरातात्त्विक वस्तुको क्षति पुर्याएमा दोषीलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुनसक्छ ।
संरक्षित पशुपति क्षेत्रमा हानी हुने गरी फिट मिटर गहिरो खाल्डो खन्दा पुराना इँटासमेत फेला परेको थियो । जुन प्राचीन महत्त्वको हो । खन्दा भेटिएका सयौं वर्ष पुराना केही इँटाहरू कहाँ छन् भन्ने बारे पशुपति विकाश कोषलाई नै थाहा छैन । इँटा महायज्ञ आयोजक विजय भण्डारीको समूहले चोरेर लगेको हुनसक्ने बताइएको छ ।
धर्मको नाममा पुरातात्त्विक मूल्य मान्यताविपरीत हर्कत गरेर सनातनदेखि चलिए आएको व्यक्तिको धार्मिक आस्थामाथि विजय भण्डारीको समूहले प्रहार गरेको जानकारहरूको आरोप छ ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार कुनै प्राचीन स्मारकलाई नष्ट गर्यो, भत्कायो, हटायो, परिवर्तन गर्यो, बिगार्यो वा चोरी गर्यो भने त्यस्तो प्राचीन स्मारकको बिगो बमोजिमको रकम असुल उपर गर्दै पाँच वर्षसम्म हुनेछ ।
भत्कायो, विग्रायो, चोरी गर्यो वा कुनै किसिमको हानी नोक्सानी गर्यो भने त्यस्तो पुरातात्त्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने छ ।
संरक्षणकर्मीका अनुसार पशुपतिको संरक्षित क्षेत्रमा खाल्डो खन्ने काम प्राचीन सम्पदालाई भत्काउने, बिगार्ने, चोरी गर्ने वा कुनै किसिमको कानि-नोक्सानी गर्ने काम भएकाले सोही कानून आकर्षित हुनेछ ।
एक पुरातत्त्वविद् भन्छन्, “यहाँको क्षेत्रको हरेक चिजको ऐतिहासिक महत्त्वको छ । यहाँ गरिने कुनै पनि अनुमति विनाको कामले सम्पदालाई नष्ट गर्न सक्छ । गहिरो खाल्डो खन्ने, इँटालगायतका पुरातात्त्विक वस्तु निकाल्ने काम चोरी गर्ने काम अपराध हो । सोही ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३’ अनुसार कारबाही हुन्छ ।”
Facebook Comment
Comment