विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

पहिलो, अमेरिकामा समेत कोटिहोम लगाउने झुटो आश्वासन दिएर नयाँ सिकार बनाउँदै ठगी गरिरहेका छन् । दोस्रो, पशुपति कोटिहोममा उठेको दान रकम आफूबाट पहिला पीडित भएकामध्ये केहीलाई फिर्ता दिने बताएका छन् ।

नेपालभ्युज

विजय भण्डारी: अमेरिकामा कोटिहोम लगाउने भन्दै ठगी, ठगेको पैसा महायज्ञको दानबाट फिर्ता गर्ने आश्वासन !

काठमाडौं । धार्मिक आवरणमा ठगी धन्दा गर्दै आएका विजय भण्डारीले अमेरिकामा समेत कोटिहोम लगाउने भन्दै ठगी गरिरहेको र पशुपति कोटिहोमबाट उठेको दानको पैसासमेत दुरुपयोग गरिरहेको खुलेको छ ।

साउन महिनाभर पशुपतिनाथ क्षेत्रमा चलेको ‘विवादित’ कोटिहोमका मुख्य सङ्कल्पकर्ता भनिएका कथित बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज ऊर्फ विजय भण्डारीले भक्तजनलाई दोहोरो ठगी गरिरहेको खुलेको हो ।

पहिलो, अमेरिकामा समेत कोटिहोम लगाउने झुटो आश्वासन दिएर नयाँ सिकार बनाउँदै ठगी गरिरहेका छन् । दोस्रो, पशुपति कोटिहोममा उठेको दान रकम आफूबाट पहिला पीडित भएकामध्ये केहीलाई फिर्ता दिने बताएका छन् ।

यसले गर्दा एक महिनासम्म पशुपतिमा चलेको कोटिहोमको उद्देश्यभन्दा फरक प्रयोजनमा भक्तजनको दान रकमको घोर दुरुपयोग भइरहेको देखिन्छ । यसले गर्दा कोटिहोम आयोजनाको उदेश्यमाथिनै प्रश्न उठेको छ । जबकि उनले बालआश्रम बनाउने बहाना देखाएर महायज्ञ लगाएर भक्तजनलाई प्रभावित पारेका थिए ।

१० वर्षअघि यस्तै ठगीका कारण जेल परेका भण्डारीले अहिले पनि सोही पुरानो ढाँचा दोहोर्‍याइरहेका छन् । अझ आश्चर्यजनक कुरा त के भने अदालतबाट दोषी ठहर भइसकेका भण्डारीले ठगीलाई निरन्तरता दिन प्रहरीबाट चारित्रिक प्रमाणपत्रसमेत बनाएका गरेका छन् ।

विजय भण्डारी

यो प्रकरणमा प्रहरी प्रशासनको संलग्नताबारे पनि गम्भीर प्रश्न उठेको छ । यसबारे प्रहरीले समेत आन्तरिक छानबिन सुरु गरेको छ । तर, सोही प्रमाणपत्र देखाएर उनले पहिल्यै ठगी गरेका व्यक्तिलाई अमेरिका लैजाने आश्वासन बाँडिरहेका छन् । कतिपयसँग फेरि पैसा उठाउन थालेका हुन् ।

 

अमेरिका लैजाने वा महायज्ञको भेटी फिर्ता वचन

१० वर्षअघि धार्मिक कार्यक्रमकै लागि अमेरिका जान भन्दै पैसा बुझाएका केहीले उनीसँग फिर्ता मागिरहेका छन् । तर, विजय भण्डारीले पशुपति कोटिहोम सकेर अमेरिकामा कार्यक्रम गर्ने र जसरी पनि लैजाने आश्वासन बाँडिरहेको पीडितहरूले बताएका छन् ।

ठगीको मुद्दा अझै अदालतमा विचाराधीन छ । तैपनि विजय भण्डारीले पैसा फिर्ता गर्ने वा अमेरिका लग्नेमध्ये एक काम गर्ने भन्दै पीडितलाई झुलाइरहेका दाङ टरिगाउँ १२ की लीला गिरी बताउँछिन् ।

उनले नेपालभ्युजसँग भनिन्, “१० वर्षअघि नै हामीलाई बाध्य बाधकको रूपमा अमेरिका लैजाने भनेर पैसा लिएका थिए । त्यो बेलामा अरू रसुवालगायतका धेरै ठाउँमा ठगी गरेका छन् । पक्राउ परेपछि हामीले पनि ठगी मुद्दा हालेका थियौँ । तर उनले हामीले विदेश जान पैसा दिएको नभइ चन्दा दिएको दाबी गरेर बयान दिए । जिल्ला उच्च दुवै तहमा हारिसकेको छ । अहिले उ सर्वोच्च अदालत गएको छ । मुद्दा विचाराधीन छ । तैपनि अहिले बाहिर हल्ला नगर्नुहोला । अमेरिका लैजान्छौँ भनेर झुलाउन छाडेको छैन ।”

पीडित लीला भन्छिन्, “यो देशमा न्याय छ भने धार्मिक आवरणमा ठगी गर्ने यस्ता फटाहालाई हदैसम्मको कारबाही होस् । हाम्रो रकम फिर्ता होस् ।”

आस्था र आलोचनाको दोसाँधमा पशुपति कोटिहोम, धर्मको आडमा धनको खेल !

विजय भण्डारीले दाङका दीपक गिरी, सुशील चन्दलगायत १४ जनाबाट ८१ लाख पचास हजार रुपैयाँ असुल गरेका थिए । त्यसको केही समयपछि एक करोड २७ लाख ठगी गरेको कसुरमा प्रहरीले अनुसन्धान अघि बढायो ।

२०७३ मंसिर ६ मा २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला भयो । जेलसमेत बसेका उनी २०७३ चैत १४ गते थुनामुक्त भए । तर, रकम भने फिर्ता गरेनन् ।

अमेरिका लैजाने आश्वासनमा विजय भण्डारीबाट ठगिएकाहरू र रकम

साउनभर पशुपतिमा उनको आयोजनामा महायज्ञ लगाइएपछि पीडितहरू उनलाई भेट्न आएका थिए ।

बाउन्सरले भेट्न नदिएपछि पीडितहरूले आफूहरूमाथि भएको ठगीको भण्डाफोर गर्ने चेतावनी दिए । त्यसपछि महायज्ञमा मानिसहरूले गर्ने दान तथा चन्दामा असर पर्न सक्ने भन्दै विजय भण्डारीले महायज्ञबाट पैसा उठेपछि फिर्ता दिने बचन दिए ।


एक पीडितले भने, “पैसा नपाए हामीले सबै मिडिया बोलाएर थप बदनाम गर्ने चेतावनी दिएका थियौँ । त्यसपछि थोरै रकम हुनेलाई उनले पशुपति कोटिहोममा भक्तजनले लिएको दान चन्दाबाट उठेको रकम फिर्ता दिए । धेरैलाई महायज्ञ सकिएपछि दिउँला भनेका थिए ।”

यसअघि पनि उनले २०७६ मा यस्तै गरेका थिए । फर्फिङमा सप्ताह लगाउँदा त्यहाँ उठेको चन्दा तथा दानले ठगीको क्षतिपूर्ति तिरेका भिडिओ नेपालभ्युजले पाएको छ ।

२०७६ तिर उनी काठमाडौंको फर्फिङमा सप्ताह लगाउन गएका थिए । विभिन्न बहानामा लामो समयदेखि बेपत्ता उनी त्यहाँ गएको चर्चा चलेपछि पीडितहरू उनलाई घेर्न गए । त्यहाँ उनको महायज्ञबाट पैसा उठेपछि दिने बचन दिएको भिडिओमै सुन्न सकिन्छ ।

पीडितसँग पैसा लिएपछि दिएको स्लिप, यसलाई उनले अहिले चन्दा लिएको दाबी गर्दै आएका छन् ।

त्यहाँ विजयले भनेका छन्, “अहिले सबैलाई पाँच-पाँच लाख रुपैयाँको चेक दिन्छु । त्यो साट्न नजानुहोस् । खातामा पैसा छैन । सप्ताहमा पैसा उठिरहेको छ । अहिले होहल्ला नगर्नुहोस्, फेरि भक्तजनले दान गर्दैनन् । १३ गते सप्ताह सकिन्छ । म १२ गतेसम्ममा पैसा दिन्छु । अहिलेसम्म २ लाखबाट बढी उठेको छैन । २ लाखबाट एक रुपैयाँ बढी उठेको भए तपाईंको पिसाब पिउन तयार छु । अब लास्ट दिनसम्ममा पैसा उठ्छ, अनि फिर्ता दिउँला ।”

उनको विगतदेखिको यस्तो व्यवहारले ३२ दिनसम्म चलेको कोटिहोमको मुख्य उद्देश्य धर्मको नाममा ठगी गर्ने रहेको अनुमान मात्र होइन प्रष्टै देखिन्छ ।

पीडितसँग पैसा लिएपछि दिएको स्लिप, यसलाई उनले अहिले चन्दा लिएको दाबी गर्दै आएका छन् ।

नाम फेर्दै ठग्दै, हिसाब माग्दा कुटपिट

कोटिहोमका मुख्य डिजाइनर हुन् अमेरिका पठाउँछु भन्दै युवाहरूसँग करोड ठगेर जेल बसेर आएका उनै विष्णु प्रपन्नाचार्य ऊर्फ विष्णु भण्डारीले भक्तजनले यही नाम थाहा पाउँछन् भनेर नै कोटिहोममा आफ्नो नामसमेत परिवर्तन गरेका थिए । उनले आफ्नो भेष बदल्न नसके पनि नाम बदलेर ‘श्री विजय कृष्ण मूर्तिजी महाराज’ राखेका थिए ।

नाम फेर्दै धर्मको नाममा योजनावद्ध रूपमा ठगी धन्दा चलाउँदै आएका उनले अहिले पशुपतिनाथ मन्दिरमा कोटिहोमको नाममा ठगीधन्दा चलाइरहेको आरोप लाग्यो ।

पीडितसँग पैसा लिएपछि दिएको स्लिप, यसलाई उनले अहिले चन्दा लिएको दाबी गर्दै आएका छन् ।

त्यसलाई पुष्टि गर्दै उनले विगतमा ठगेकालाई समेत यही कोटिहोमबाट उठेको चन्दाबाट पैसा फिर्ता गर्ने आश्वासन दिएका हुन् । अहिले नेपालभ्युजको सम्पर्कमा आएका केही पीडितहरूले विजय भण्डारीले आफूहरूलाई कोटिहोमबाट उठेको पैसाबाट रकम फिर्ता दिने बचन दिएको बताएका छन् ।

कोटिहोमको नाममा अराजकताः बङ्गलादेशभन्दा बेहाल बनाउने आयोजकको भड्काउ अभिव्यक्ति (भिडिओ)

यसैले होला उनले अहिले कोटिहोममा उठेको हिसाब माग्नेलाई गुन्डा लगाएर कुटिरहेका छन् । हरहिसाब सार्वजनिक गरेका छैनन् ।

कोटिहोमको समापनको रात १२ बजेतिर एक युवाले ‘महायज्ञको हिसाबकिताब सार्वजनिक गर्नुपर्दैन ?’ भन्दै पारदर्शिताको प्रश्न उठाएका थिए । त्यसपछि विजय भण्डारीले मञ्चबाट कार्यकर्तालाई ‘ठिक पार्न भन्दै’ निर्देशन दिएका थिए ।

आदेश पाएपछि उनका पन्ध्र-बीसजना युवाहरू ती हिसाब देखाउन भन्ने युवातिर दौडिए । भीडले ती युवालाई नियन्त्रणमा लियो । वरिपरि घेरिएका सबैले कुटपिट गर्दै अगाडि मञ्चमा लगे । त्यो भिडिओ नेपालभ्युजको फेसबूक पेजमा लाइभ गरेको थियो । त्यो भिडिओ लाइभ गरेको र पारदर्शीताको प्रश्न उठाएको भन्दै नेपालभ्युजकर्मी समेत कुटिएका थिए ।

उनको निर्देशनमा भएको त्यो व्यवहारले गेरुवस्त्रभित्र छिपेको उनको वास्तविक चरित्र पनि उजागर भएको छ ।

सो घटना हुनुपूर्व समेत उनले आफ्नो असली स्वरूपमा देखिए, जतिबेला उनलाई प्रहरीले पक्राउको ‘असफल प्रयास’ गरेको थियो । किर्ते चारित्रिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले सोधपुछ गर्न लिन आउने क्रममा उनी प्रहरीको भ्याननजिकबाट उम्किन सफल भए ।

तर, लगत्तै फेसबूक लाइभमा देखाएको अभिव्यक्ति र प्रयोग गरेका अश्लील अमर्यादित शब्दले उनको हैसियत उदाङ्गो पारेको थियो । जुनबेला उनका समूहका मानिसहरूले प्रहरी प्रशासन र सरकारविरुद्ध अश्लील गाली गलौच गर्दै लाठी मुङ्ग्री गरेका थिए ।

पञ्चाङ्ग निर्णायक समितिका एक पूर्व अध्यक्षले समेत कोटिहोममा धर्म नभई अपराध भएको आरोप लगाएका थिए । उनले भनेका थिए, “सोझासाझा मानिसलाई झुक्काएर धेरैभन्दा धेरै पैसा उठाउने उद्देश्यले कोटिहोम चलाइरहेको हो । धार्मिक विधि र पद्धतिलाई नै चुनौती दिने गरी चलिरहेको कोटिहोमको मुख्य उद्देश्य धर्मको रमिता देखाएर मोटो रकम झार्ने बाहेक अरू केही थिएन । त्यो उद्देश्य पुरा भयो । पैसा लिएर कता भागिसके ।”

भण्डारीको ठगीको लहरो

यसअघि विजय भण्डारीविरुद्ध अपराध अनुसन्धान कार्यालय र वैदेशिक रोजगार विभागमा पटक-पटक उजुरी परेको थियो । उनी पक्राउ परेर सजायसमेत भोगेका थिए । लगत्तै उनले सार्वजनिक वृत्तमा आफ्नो नाम बदलेर ‘स्वामी बालयोगेश्वर महाराज’ प्रयोग गर्न थालेका थिए ।

त्यसपछि उनले केही ठाउँमा सप्ताह लगाएर ठगी गरे । अमेरिका लगिदिने भन्दै पैसा उठाएका थिए । ठगीको पुरानो परिचय बदल्नकै लागि उनले पछिल्ला वर्षमा आफूलाई स्वामी बालयोगेश्वर महाराज बताएका थिए । फेरि अहिले उनले ‘बाल योगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराज’ भन्दै चिनाउँदै आएका छन् ।

स्वघोषित महाराज विजय भण्डारीको छवि गाउँलेमाझ पनि राम्रो छैन । उनलाई गाउँमा स्थानीयले जुत्ताको माला लगाएर लखेटेको स्थानीय बताउँछन् ।

गेरुवस्त्र धारण गरेलगत्तै विजय भण्डारीले २०६८ वैशाखमा आफैँले पाँच लाख खर्चेर कलंकीमा भागवत् पुराण लगाएका थिए । त्यसपछिका वर्षमा उनले विभिन्न स्थानमा महायज्ञ र धान्यान्चल गर्दै आएका थिए । केही रकम आफू खर्चने र केही रकम स्थानीयलाई खर्च गर्न लगाउँथे । तर, उठेको दान दक्षिणा आफैँ लिए टाप कस्थे ।

पशुपति कोटिहोममा नेपालभ्युजकर्मी पुडासैनीमाथि हातपात, ज्यान मार्ने धम्की (भिडिओ)

उनी पहिलोपटक २०६९ मा ठगी मुद्दामा पक्राउ परेका थिए । दोस्रोपटक २०७१ मा परे । २०७५ चैत २३-३० सम्म विद्यालयले आयोजना गरेको महायज्ञमा उठेको रकम एक्लैले कुम्ल्याएर हिँडे ।

२०७५ पुसमा चितवनको पार्वतीपुरस्थित भानु माविले आयोजना गरेको धनधान्याचल महायज्ञमा ‘महाराज’ मुख्य वाचक थिए । त्यहाँ पनि ठगेर फरार भए । यसबीचमा उनले गुल्मीमा लगाइएको सप्ताहको सबै पैसा ७१ लाख रुपैयाँ एक्लै कुम्ल्याएर फरार भएको चर्चा चलेको थियो ।

२०७६ मा फर्फिङमा सप्ताह लगाउँदा पनि त्यहाँ उठेको रकममध्ये केही उनले दुरुपयोग गरेका थिए । जे उद्देश्यले महायज्ञ गरियो त्यसमा खर्च नगरेर चन्दा तथा दानको रकम आफूले विगतमा ठगेका मानिसलाई तिरेका थिए ।

नेपालभ्युजकर्मी पुडासैनीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved