प्रचण्डले विश्वासको मत लिएपछिको संकेत- मधेसमा अब कसको सरकार ?

सत्ता गठबन्धनबाट यादवको बहिर्गमनपछि राउतले प्रधानमन्त्रीलाई सघाउने निर्णय लिएका हुन् । तर यसको उद्देश्य मधेस प्रदेश सरकारको नेतृत्व प्राप्त गर्ने रणनीति लुकेको जानकारहरू बताउँछन् ।

नेपालभ्युज

प्रचण्डले विश्वासको मत लिएपछिको संकेत- मधेसमा अब कसको सरकार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ मा चौथो पटक विश्वासको मत लिँदा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले लिएको पक्ष अर्थपूर्ण थियो । जनमत पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो । लोसपाले भने मतदान बहिस्कार गर्‍यो ।

राजनीतिक रुपमा उपेन्द्र यादव जहाँ उभिन्छन्, प्रायः त्यसको विपरीत धारमा उभिँदै आएका छन् सीके राउत । सत्ता गठबन्धनबाट यादवको बहिर्गमनपछि राउतले प्रधानमन्त्रीलाई सघाउने निर्णय लिएका हुन् । तर यसको उद्देश्य मधेस प्रदेश सरकारको नेतृत्व प्राप्त गर्ने रणनीति लुकेको जानकारहरू बताउँछन् ।

गत वैशाख ३० मा मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिएका थिए । त्यसै दिन उनीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन पनि फिर्ता लिएका थिए ।

राजनीतिक रुपमा मुख्यमन्त्री यादव अल्पमतमा परेका छन् । यद्यपि, ३० दिनभित्र विश्वासको मत लिने सुविधा उनलाई छ । तर प्रदेश सभामा बहुमत जुटाउने सम्भावना भने न्यून देखिएको छ ।

जसपा नेपालबाट मुख्यमन्त्री बनेका यादवलाई कांग्रेसबाहेक अर्को शक्तिले साथ दिने सम्भावना देखिएको छैन । लोसपाले समेत जसपा नेपालसँगको सहयात्राप्रति रुचि देखाएको छैन । तीन वर्षअघि जसपा नेपाल नै विभाजन भएर लोसपा गठन भएको थियो । यादव शक्तिशाली हुँदा आफूहरूलाई धोका दिने गरेको बुझाइमा लोसपा पंक्ति छ । त्यसैले मधेस प्रदेशमा जसपा नेपालका मुख्यमन्त्रीलाई सघाउने सम्भावना न्युन छ ।

त्यसो त जसपा नेपाल आफैं पनि हालै मात्र विभाजित भएको छ । तर मधेस प्रदेशको संसदीय दलमा विभाजनको आकार प्रष्ट भइसकेको छैन । त्यहाँ दुवै पक्षले सांसदहरूलाई आफ्नो पक्षमा राख्ने प्रयत्न गरिरहेका छन् । यद्यपि, विभाजनपछि गठन भएको जसपातिर सांसदहरू जान सम्भावना छ ।

यस्ता अनेक कारणले मुख्यमन्त्री यादवको बहिर्गमन निश्चितप्रायः छ । त्यसैले यादव सरकारलाई कुन दल र नेताले विस्थापित गर्ला भन्ने प्रतीक्षा छ ।

अर्कोतिर, एमाले, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपा भने एक ठाउँमा उभिने सम्भावना बलियो छ । उल्लेखित दलहरूसँग रहेका सांसदहरूको संख्या जोड्दा सभामुखबाहेकै ५४ पुग्छ । विभाजनपछि गठन भएको जसपातिर लाग्ने सांसदहरू पनि यही गठबन्धनमा जोडिनेछन् । त्यसैले पनि यो पक्षलाई बहुमत जुटाउन समस्या छैन ।

तर पहिले को मुख्यमन्त्री बन्ने भन्नेचाहिँ अन्योल छ ।

एमाले र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन एमाले, माओवादी केन्द्र, जनमत पार्टी र लोसपाका नेताहरूको सामूहिक फोटो सार्वजनिक भएको थियो । त्यतिबेला एमालेको नेतृत्वमा नयाँ सरकार गठन हुने चर्चा चलेको थियो । तर नेताहरूले फरकफरक धारणा सार्वजनिक गर्न थालेका कारण त्यो गठबन्धन अलपत्र पर्‍यो । नयाँ सरकारको विषयमा पनि अन्योल थपियो ।

जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि नयाँ सम्भावनाको संकेत देखिएको छ ।

२०७९ पुसमा सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन हुँदा पनि जसपा नेपाल र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा थियो । तर सरकारमै छँदा दुई तलबीच असमझदारीहरू सार्वजनिक भए । जनमतले सरकार नै छोड्नुपर्ने स्थिति बन्यो ।

त्यसैले यादव सरकारलाई प्रतिस्थापन गर्ने जनमत पार्टीको पहिल्यैदेखिको दृढता छ ।

आफूहरू अहिले संघीय सरकारकै गठबन्धनमा रहेको सो पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले नेपाल भ्युजलाई बताए । ‘अब मधेस प्रदेशमा हाम्रै नेतृत्वमा सरकार गठन हुन्छ’, उनले भने ।

यद्यपि, सरकारको नेतृत्व भने आलोपालो हुने उ तर त्यसबारे विस्तृत समझदारी भने बनिनसकेको उनको भनाइ छ । ‘सुरुमा हाम्रो पार्टीको तर्फबाट मुख्यमन्त्री बन्छौँ’, उनले भने, ‘अर्को कार्यकाल अर्को पार्टीले पाउँछ ।’

अर्को कार्यकाल एमालेले पाउने सम्भावना छ । किनकि, प्रदेश सभाको सबैभन्दा ठूलो दल नै एमाले हो ।

त्यसो त, जनमत पार्टीभित्र पनि को मुख्यमन्त्री बन्ने भन्ने विषय अन्योलमा छ । पार्टीका केन्द्रीय महासचिव समेत रहेका चन्दनकुमार सिंह पनि प्रदेश सभामा छन् । उनी संसदीय दलका नेता यादवभन्दा सिनियर हुन् । त्यसैले मुख्यमन्त्रीको अवसर आउँदा सिंहलाई अघि सार्नुपर्ने मत पनि पार्टीभित्र छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved