आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

नेपालभ्युज

आज २५६८ औं बुद्ध जयन्ती, भगवान बुद्धप्रति आस्था प्रकट गरी मनाइँदै

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६८ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ ।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मिएका सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उनले विश्व प्रसिद्धि पाए ।

३६ वर्षको उमेरमा सारनाथमा उनले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन दिएका थिए । उनको पहिलो प्रवचनमा उनले भनेका थिए – जसमा संसार दुःखै दुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुनसक्छ र दुःखको अन्त्यका उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो ।

जन्म, व्याधि, जरा र मृत्युका चार सत्यलाई बुद्धले व्याख्या गरेका छन् ।

यसलाई बुद्धले दिएको आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश मानव जीवनका लागि अति उपयोगी मानिन्छ । आर्य अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक् समाधि पर्दछन् ।

यसैगरी पञ्चशीलमा चोरी नगर्नु, झुटो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसैकारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् । काठमाडौँको बौद्ध, स्वयम्भू, चावहिलस्थित चारुमति विहारलगायत बौद्ध बिहार, गुम्बा, स्तुप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभ्रेपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति ¥याली निकालिन्छ ।

यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । प्रभातफेरि र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘संघम् शरणम् गच्छामि’ को भजन गाइन्छ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved