प्रहरीले यातना दिएको दाबी गर्ने सिंहले अत्यधिक सिटामोल खाएको पुष्टि

नेपालभ्युज

प्रहरीले यातना दिएको दाबी गर्ने सिंहले अत्यधिक सिटामोल खाएको पुष्टि

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अनुसन्धानका लागि भनेर अनावश्यक यातना दिएको दाबी गर्ने जाजरकोटका गणेशमान सिंहले पहिले नै ‘औषधि’ सेवन गरेको पाइएको छ ।

वैशाख १२ गते औषधि सेवन गरेपछि सिंहलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । वीरबाट रिफर गरेर अहिले उनको कीर्तिपुर अस्पतालमा आईसीयूमा राखेर उपचार जारी छ ।

गृहमन्त्री रवि लामिछानेको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि प्रहरीले आफूलाई जेल हाल्ने धम्की दिएको सिंहले दाबी गरेका थिए ।

फेसबुकमा सेयर गरिएको भिडिओमा उनले भनेका छन्, ‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’

तर, अस्पतालको रिपोर्टमा सिंहले सिटामोल खाएको देखिएको छ । उनले एकैपटक अत्यधिक सिटामोल खाएको पाइएको प्रहरीले जनाएको छ ।

घटना के हो ?

सिंहले इलामको एउटा होटलमा ‘याैनजन्य कार्य हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

त्यसबारे प्रहरीमा उजुरी परेको थियो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न भनेपछि उनलाई प्रहरीले बोलाएको थियो ।

प्रहरीले बोलाएपछि सिंहले साइबर ब्यूरोले ‘जेल हाल्छौँ’ भनेर बोलाएको दाबी गर्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई फोन गरेर भनेका थिए ।

ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि ती विद्यार्थी नेताले घटनाबारे प्रहरीलाई जानकारी दिएका थिए ।

पछि सिंह प्रहरीकोमा पुगेका थिए । स्वास्थ्य अवस्था ठिक नदेखिएपछि सिंहलाई सोधपुछ नगरी अस्पताल पठाएको ब्यूरोका सूचना अधिकारी दीपक राज अवस्थीले जानकारी दिए ।

तर, सिंहले अस्पतालको भिडिओ सेयर गर्दै आफूलाई प्रहरीले यातना दिएकाे दाबी गरेका थिए ।

ब्यूरोले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रसारित भिडिओ सिंहको भ्रमपूर्ण भएको बताएको छ ।

‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको व्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा समेत अनुरोध गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved