इरानद्वारा इजरायली आक्रमणको दाबी खण्डन, भन्यो- ड्रोन आक्रमण गर्ने असफल प्रयास भयो

नेपालभ्युज

इरानद्वारा इजरायली आक्रमणको दाबी खण्डन, भन्यो- ड्रोन आक्रमण गर्ने असफल प्रयास भयो
इसफाहान सहर

काठमाडौं । इरानले इजरायली आक्रमणको दाबीको खण्डन गरेको छ । एक उच्च इरानी अधिकारीहरूले कुनै मिसाइल आक्रमण नभएको बताएका छन् ।

यसअघि इजरायलले इरानमाथि आक्रमण गरेको बताएको थियो । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीको अमेरिकीसम्बद्ध संस्था सीबीएस न्यूजले पनि इजरायलले इरानमाथि आक्रमण गरेको जनाएको थियो ।

तर, इरानी अन्तरिक्ष एजेन्सीका प्रवक्ता होसेन डालिरियनले यसको खण्डन गरेका छन् ।

‘इसफाहान सहर वा देशको कुनै पनि भागमा बाहिरबाट कुनै हवाई आक्रमण भएको छैन।’ डालिरियनले सामाजिक सञ्जालमार्फत् भने ।

डालिरियनले थप भने, ‘इजरायलले ड्रोन आक्रमण गर्ने असफल र अपमानजनक प्रयास मात्र गरेको छ। सबै ड्रोनहरू खसालिएका छन् ।’

इरानको सरकारी सञ्चारमाध्यमले इसफाहानमा रहेको आणविक अखडाको भिडियो सार्वजनिक गर्दै उनीहरू पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ ।

यसअघि इजरायलले इसफाहान सहरमा मिसाइल आक्रमण गरेको दाबी गरेको थियो ।

इसफाहानमा इरानी सेनाको ठूलो हवाई अड्डा छ । र, यस क्षेत्रमा आणविक हतियारसँग सम्बन्धित धेरै महत्त्वपूर्ण अड्डाहरू पनि छन्।

साथै, इरानले यसअघि प्रतिबन्ध लगाइएका हवाई उडानहरू अब हटाइसकेकोसमेत उल्लेख गरेको छ ।

इजरायलले आक्रमणबारे अमेरिकालाई पहिल्यै जानकारी गराएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलले इरानमाथि आक्रमण गरेको कुरा अमेरिकी अधिकारीको हवाला दिँदै सार्वजनिक गरिएपछि विश्व बजारमा तेल र सुनको मूल्य बढ्नुका साथै सेयर बजारमा गिरावट समेत आएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved