मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न प्राधिकरणको ताकेता

नेपालभ्युज

मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रहेको उक्त आयोजना सम्पन्न गर्न प्राधिकरणले ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके सम्मिलित टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माणको अनुगमन गरी वर्षायामको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि मार्कीचोक–नयाँ भरतपुर प्रसारण लाइन महत्त्वपूर्ण रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन् ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग छलफल गरी निर्माणको अवस्था, बेहोरिरहेका समस्या, निर्माण सम्पन्न हुन समयतालिकालगायतका विषयमा जानकारी लिएको थियो ।

आयोजनाकारतर्फबाट वन क्षेत्रको जग्गा प्रयोग र रुख कटान स्वीकृतिका रहेको कानुनी लामो प्रक्रिया, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भइरहेको जानकारी गराइएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले मार्कीचोक–नयाँ भरतपुर खण्ड आगामी असारभित्रमा निर्माण सम्पन्न गर्न नसकिएमा २/३ सय मेगावाट विद्युत् प्रवाह गर्न नसकी खेर फाल्नु पर्ने अवस्था आउन सक्ने बताए ।

‘अहिले चालू रहेको मर्स्याङ्दी भरतपुर र दमौली–भरतपुर १३२ केभी प्रसारण लाइन सिङ्गल सर्किट मात्र छन्, जसबाट करिब ८०/८० मेगावाट मात्र विद्युत् प्रवाह गर्न सकिन्छ, मार्कीचोकबाट विद्युत् काठमाडौं ल्याउन त सकिन्छ तर प्रसारण लाइनको क्षमताले नथाम्ने हुँदा काठमाडौंबाट हेटौँडातर्फ थप विद्युत् पठाउन पनि सकिँदैन, यसबाट भारतर्फको विद्युत् निर्यात पनि प्रभावित हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने ।

आयोजनाअन्तर्गत लमजुङको उदीपुरबाट गोरखा, तनहुँ हुँदै नयाँ भरतपुरसम्मको प्रसारण लाइन निर्माणका लागि ६९.६९ हेक्टर राष्ट्रिय वन प्रयोग र त्यहाँ रहेका १० हजार २ सय २५ रुख कटान गर्नु पर्नेछ । मन्त्रिपरिषद्को गत २५ माघको बैठकले वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका लागि स्वीकृति दिएको थियो ।

मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नु पर्ने छ । त्यसमध्ये ३५ वटा टावरको जग हालिएको छ । ५ वटा टावर खडा गरिएको छ । मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका चार वटा सबस्टेसनहरुको निर्माण हुँदैछन् ।

चितवनमा नयाँ भरतपुर सबस्टेसनको निर्माण सम्पन्न भइसकेको छ । लमजुङको उदीपुर तथा खुदी र मनाङको धारा पानीमा सबस्टेसन निर्माणाधीन छन् । मर्स्याङ्दी र त्यसका सहायक नदीहरूबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो ।

प्रसारण लाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारा पानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ ।

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ । दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माण गरिएको छ ।

तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारा पानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेका छन् । नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved