साउदीका राजदूत सुवेदी र कर्मचारी भ्रष्टाचारमा लिप्त भएको उजुरी, कारबाहीको माग गर्दै परराष्ट्रमा निवेदन

राजदूत नवराज सुवेदी र कर्मचारीका निकटस्थ मेनपावर कम्पनीबाट श्रमिक लैजानुपर्ने शर्त गराएर मात्रै प्रमाणीकरण गरिनु र यसबापत् प्रति श्रमिक न्यूनतम पाँच हजार रुपैयाँ घुस दिनुपर्ने अवस्था रहेको समेत उजुरीमा उल्लेख छ ।

नेपालभ्युज

साउदीका राजदूत सुवेदी र कर्मचारी भ्रष्टाचारमा लिप्त भएको उजुरी, कारबाहीको माग गर्दै परराष्ट्रमा निवेदन

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासमा कार्यरत नेपाली कर्मचारीले वैदेशिक रोजगारदाता कम्पनीको मागपत्र प्रमाणीकरण र नेपाली मेनपावर छनोटमा अनियमितता गरेको आरोप लागेको छ ।

उनीहरुमाथि छानबिनको माग गर्दै सरोकारवालाले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई उजुरी दिएका छन् ।

चीनमा रहेका श्रेष्ठलाई उनीहरुले इमेलमा उजुरी पठाउँदै राजदूत नवराज सुवेदी, नियोग उपप्रमुख डा. डमरुबल्लभ पौडेल र अधिकृत टिकाराम उपाध्यायमाथि छानबिन र कारबाही गर्न माग गरेका हुन् ।

हरेक दूतावासमा सम्बन्धित देशका रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरण गरेपछि मात्रै कामदार लैजाने वैधता सिर्जना हुन्छ ।

साउदी दूतावासमा रोजगारदाता कम्पनीले पचास जना वा त्यसभन्दा कम संख्यामा कामदार माग गर्दा नियोग उपप्रमुखले प्रमाणीकरण गर्ने र ५० भन्दा माथि संख्यामा मागपत्र आएमा राजदूतको तहबाट प्रमाणिकरण गर्ने चलन रहँदै आएको छ ।

‘प्रमाणीकरणका क्रममा दुतावासका उपनियोग प्रमुख पौडेल र अधिकृत उपाध्यायको सेटिङमा रोजगारदाता कम्पनीबाट प्रतिफाइल तीन हजार स्थानीय मुद्रा अनिवार्य बुझाउनु परेको छ’ उजुरीमा भनिएको छ, ‘प्रमाणीकरणका लागि दूतावासको शर्त हुन्छ : नेपालमा फलाना मेनपावर कम्पनीबाट कामदार ल्याउनुपर्छ होइन भने प्रमाणिकरण हुँदैन ।’

राजदूत नवराज सुवेदी र कर्मचारीका निकटस्थ मेनपावर कम्पनीबाट श्रमिक लैजानुपर्ने शर्त गराएर मात्रै प्रमाणीकरण गरिनु र यसबापत् प्रति श्रमिक  न्यूनतम पाँच हजार रुपैयाँ घुस दिनुपर्ने अवस्था रहेको समेत उजुरीमा उल्लेख छ । उनीहरुले के यसले सुशासनको झलक दिन्छ त ? भनेर प्रश्न पनि गरेका छन् ।

उजुरीमा थप भनिएको छ, ‘परराष्ट्रसचिवको समेत नाम दूरुपयोग गरेर मागपत्र प्रमाणीकरणका नाममा मेनपावर कम्पनीको सिन्डीकेट खडा गरेर आचरणहिन कार्य गरेको हुनाले उनीहरुमाथि यथोचित छानबिन र कारबाहीका लागि हामी माग गर्दछौँ ।’

रोजगारदाता कम्पनीले दूतावासमा यसको विरोध गर्दै आए पनि राजदूत सुवेदीले बेवास्ता गरेको पनि उनीहरुले बताएका छन् ।

शाखा अधिकृत उपाध्याय विगत तीन वर्षदेखि दूतावासको मागपत्र प्रमाणीकरण शाखामा कार्यरत छन् । ‘उपाध्याय र नियोग उपप्रमुख पौडेलसँगै राजदूत सुवेदी पनि प्रभावित भएको गम्भीर आशंका छ ।’ उजुरीमा भनिएको छ ।

साउदी अरबस्थित नेपाली दूतावास

उनीहरुले साउदी अरबस्थित नेपाली राजदूतावासमा भएको कुशासनको छानबिन गर्न अनि रोगगारदाता कम्पनीमाथि ठगी र नेपाली गरीब कामदारमाथि अतिरिक्त आर्थिक भार सिर्जना गरेर अनैतिक आचरण देखाउनेमाथि कारबाही गर्न माग गरेका छन् ।

आवश्यक परेमा परराष्ट्र मन्त्रालयलाई छानबिनका लागि सप्रमाण सहयोग गर्न समेत तयार रहेको पनि उजुरीमा उल्लेख गरिएको छ ।

उजुरीकर्ताले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, नेपाली राजदूतावास साउदी अरब र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोधार्थ दिएका छन् ।

‘देश अहिले लगानी सम्मेलनको सम्मुखमा छ । यो नेपालका विदेशस्थित कूटनीतिक नियोगहरुले देशभित्र वैदेशिक लगानी भित्र्याउनुपर्ने कार्यमा अधिकतम सक्रियता देखाउनुपर्ने समय हो । तर, यस महत्वपूर्ण काममा सक्रिय हुनुपर्ने साउदी अरबस्थित नेपाली दूतावासको क्रियाकलापले लगानीका लागि प्रतिकुल परिस्थिति मात्रै सिर्जना गरेको छैन, नेपालको प्रतिष्ठा नै धुमिल बनाउन लागेको छ।’ उजुरीमा उल्लेख छ ।

निवेदनमा रोजगारदाता कम्पनीका तर्फबाट सरोकारवालाहरु भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved