विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल

नेपालभ्युज

विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्छ : राष्ट्रपति पौडेल

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले माथिल्लो जिम्मेवारीमा बसेकाहरुबाट काम सम्पन्न भएको छ कि स्थानीय जनताको मेहनतबाट मात्रै काम सम्पन्न भएको छ भन्ने कुराको अब मूल्यांकन गर्नुपर्ने बेला भएको बताएका छन् ।

तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशुली नदी पुलको शनिबार उद्घाटन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

“ सरकारले धेरै योजनामा धेरै ठाउँमा धेरै बजेट राखेको छ, तर ती अलपत्र छन्, तर जहाँ स्थानीय जनताले मेहेनत गरेका छन्, त्यहाँ मात्रै काम सम्पन्न भएका छन्”, उनले भने, “त्यसैले अब मूल्यांकन हुनुपर्छ कि माथिल्लो जिम्मेवारीमा बसेकाले काम सम्पन्न गरेका छन् की स्थानीय जनताको मेहेनतबाट मात्र काम सम्पन्न भएका छन् । ”

राष्ट्रपति पौडेलले अब भोटको र छाडा राजनीति गरेर जथाभावी सार्वजनिक जग्गा बाड्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै सार्वजनिक जग्गालाई पार्क र बगैचा बनाएर पर्यटक आकर्षित गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

राष्ट्रपति पौडेलले नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्र प्राप्तीसँगै क्रमशः भएको विकासको गति र त्यसको स्तरोन्नतिलाई यस्ता पूर्वाधारका कामले भविष्यको वृहत्तर विकासको आयामलाई बढावा दिन आशा एवम् भरोसा जगाएको बताए ।

“केही भएन होइन, केही भएको छ र केही हुँदैन होइन, केही हुँदैछ भन्ने आश र विश्वासको जगमा नेपाली जनताको समयअनुसारको विकासको चाहना पुरा गर्न हामी सबै एक भएर जुटनुको विकल्प छैन”, उनले भने ।

देशको समृद्धिको मुख्य आधार कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको विकास हो परन्तु त्यसको लागि पहिलो खाँचो सुशासन नै भएको उनले स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved