प्रहरीमा राजनीतिक हस्तक्षेप : प्रचण्ड र ओलीका पीएसओलाई बढुवा उपहार, छुटे ‘नम्बर वान’ डीएसपी !

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा कार्यक्षमतालाई आधार बनाइएको थियो । तर, अहिले रवि लामिछाने गृहमन्त्री हुँदा वरियता मिच्दै नेताका नजिककालाई बढुवा सिफारिस गरिएको छ ।

नेपालभ्युज

प्रहरीमा राजनीतिक हस्तक्षेप : प्रचण्ड र ओलीका पीएसओलाई बढुवा उपहार, छुटे ‘नम्बर वान’ डीएसपी !

काठमाडौं । प्रहरीको सङ्गठनमा बढुवा एउटा स्वाभाविक प्रक्रिया हो । तर, बढुवासँगै अधिकांश पटक वरियता मिचिएको भन्दै सङ्गठन भित्रैबाट असन्तुष्टि बाहिरिने गरेको छ । किनकि प्रहरीको बढुवामा राजनीतिक चासो बढी नै पाइन्छ ।

पछिल्लो पटक एसपी बढुवामा पनि बालुवाटार र बालकोटको कोटाबाट तीनजना परे । कार्यक्षमताको आधारमा १२औं नम्बरमा रहेका पनि बढुवा हुनुले पनि यसको पुष्टि गर्छ । तर, एक नम्बरमा रहेका डीएसपी बढुवा लिष्टमा नै परेनन् । अझ भनौ छुटाइए ।

बुधबार प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिसमा रोल क्रममा पछाडि रहे पनि प्राथमिकतामा परे । कोही अघि रहे पनि छुटे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पीएसओले बढुवामा प्राथमिकता पाए । ८ जना बढुवा भएका मध्ये ३ जना प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) भएर काम गरेका अधिकृत छन् ।

बढुवा भएका राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पीएसओ थिए ।

ओलीसँग लामो समय काम गरेका लिम्बू बढुवा प्रतिस्पर्धाको सूचीमा अन्तिममा थिए । सूचीको ९औं नम्बरका सन्तोष तामाङ चौथो नम्बरमा पर्दै बढुवा भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’का पीएसओ भएर डीएसपी विनोद घिमिरेले लामो समय काम गरेका थिए । उनी प्रतिस्पर्धा सूचीको १२औं नम्बरका भए पनि बढुवामा परेका छन् ।

बढुवा सिफारिस सूचीमा प्रतिस्पर्धाको १ नम्बरमा रहेका डीएसपी प्रदीपबहादुर क्षेत्री भने छुटेका छन् । ६ नम्बर वरियतामा रहेका नारायण रंजितकार पनि बढुवाको सूचीमा छैनन् ।

बढुवा सूचीको पछाडि रहेका पीएसओसहित ढकेन्द्र खतिवडा, अङ्गुर जिसी, यादव ढकाल, श्याम बाबु ओलिया र निरञ्जन दत्त भट्ट एसपीमा बढुवा सिफारिसमा परेका छन् ।

एसपीमा सिफारिस भएका ८ जना २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । आइजीपी वसन्त कुँवर नेतृत्वको बढुवा समितिले सूची निकालेको हो ।

यसअघि नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रहरी निरीक्षकबाट डीएसपीमा बढुवा गर्दा कार्यक्षमतालाई आधार बनाइएको थियो । तर, अहिले रवि लामिछाने गृहमन्त्री हुँदा वरीयता मिचिएको छ ।

यसअघि आइजीपी कुँवरले वरियता नमिचेर रोलक्रम अनुसार बढुवा गर्ने बताएका थिए । उनी आफ्नै प्रतिवद्धतामा चुकेका छन् ।

तर, एसपी बढुवामा सङ्गठन प्रमुखलाई भूमिकाविहीन बनाइएको चर्चा छ । गृहमन्त्रालय स्रोत भन्छ, ‘एसपी बढुवा प्रहरी महानिरीक्षक (आइजीपी) मात्र होइन, गृहप्रशासन हाँक्ने गृह सचिवसमेत कारिन्दाको भूमिकाभन्दा माथि छैनन् । सबै माथिकै आदेशले गर्दा अगाडि नम्बरमा रहेकाहरू बढुवामा छुटे ।’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको दबाबमा मेरिटको आधारमा बढुवा गर्ने अडानबाट आइजीपी कुँवर पछि हटेका छन् । मेरिट कायम राखेर बढुवा गर्ने वा शक्तिकेन्द्रका निकटलाई बढुवा गर्ने भन्नेबारे मतभेद हुँदा लामो समयदेखि बढुवा रोकिएको थियो ।

डीएसपीबाट एसपीमा बढुवा गर्न गरेको सिफारिसप्रति प्रहरीभित्र असन्तुष्टि देखिएको छ । अब्बल प्रहरी अधिकृतलाई छुटाएर राजनीतिक पहुँच भएका लाई बढुवा गर्न सिफारिस गरिएको भन्दै असन्तुष्टि देखिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved