काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन (Vladimir Putin)ले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताएका छन् ।
मार्च २२ मा क्रोकस सिटी हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् ।
टेलिभिजनमा प्रसारण भएको वार्तामा रूसी नेता पुटिनले भने, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।”
अलजजीराले रूसी नेता पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “यो अत्याचार सन् २०१४ देखि नव–नाजी किएभको योजनामा हाम्रो देशसँग युद्ध गरिरहेकाहरूको प्रयासको सम्पूर्ण शृङ्खलाको एउटा कडी मात्र हुन सक्छ ।”
पुटिनले घटनाबारे गम्भीर भएर सोच्नु र निष्कर्ष निकाल्नु आवश्यक रहेको बताउँदै भने, “निःसन्देह, अपराध गरेपछि आतङ्कवादीहरूले युक्रेन जान किन खोजे र त्यहाँ उनीहरूलाई कसले पर्खिरहेको थिया भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।”
“हामीलाई थाहा छ, रूस र रूसी जनताविरूद्ध यो ज्यादती गर्न कसको हात प्रयोग गरिएको थियो र कसले आदेश दियो भन्ने कुरा हामी जान्न चाहन्छौँ ।” उनले थपे ।
शुक्रबारपछि रूसको खोरासान प्रान्तबाट इस्लामिक स्टेटले धेरै पटक आक्रमणको पछाडि आफ्नो हात रहेको बताउँदै आएको छ र आईएसआईएलसम्बद्ध सञ्चारमाध्यमहरूले आक्रमणका क्रममा बन्दुकधारीहरूको ग्राफिक भिडियो सार्वजनिक गरेका छन् ।
सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तत्काल कसैलाई आरोप लगाउनुभन्दा रूसमा गरिएको आक्रमणको अनुसन्धानको नतिजा पर्खन पत्रकारहरूसँग आग्रह गरेका थिए ।
अमेरिकाले मार्च ७ मा मस्कोका अधिकारीहरूलाई सम्भावित आक्रमणबारे चेतावनी दिएको भन्ने समाचारबारे टिप्पणी गर्न समेत उनले इन्कार गरे ।
उनले रूसले त्यस्तो कुनै पनि गोप्य सूचनालाई अनुसन्धान प्रक्रियापछि मात्र सार्वजनिक हुने बताए ।
रूसी अनुसन्धान समितिका अनुसार मार्च २२ मा क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणमा अहिलेसम्म कुल १३७ जनाको मृत्यु भइसकेको छ भने र घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
मस्को क्षेत्रीय स्वास्थ्य मन्त्रालयले १८२ जना घाइते भएको जनाएको छ ।
युक्रेनी सीमातर्फ भाग्न खोजेका चार जना संदिग्ध आक्रमणकारीसहित आक्रमणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ । –एएनआई
Facebook Comment
Comment