महरालाई रिहा गर्न देखाइएका तीन कारण

के हो हाजिरी जमानी ?

नेपालभ्युज

महरालाई रिहा गर्न देखाइएका तीन कारण

काठमाडौं । शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान सकिएसँगै माओवादी उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएको छ ।

महरालाई जेठा छोरा निर्मलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । कान्छा छोरा राहुल भने सुन तस्करी प्रकरणकै अनुसन्धानमा पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महराको स्वास्थ्य अवस्थालाई हेरेर हाजिरी जमानीमा छाडिएको बताए ।

यसरी छोडिएको व्यक्तिलाई मुद्दा चलाउनुपर्ने अवस्थामा उपस्थित हुने कागज गराइएको हुन्छ । तर, आफू पक्राउ पर्ने थाहा भएपछि महरा कपिलवस्तुबाट भारत भाग्दै थिए । त्यही बेलामा उनी पक्राउ परेका हुन् ।

हाजिरी जमानी के हो ? कसरी छुटे ?

कुनै व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको कतिपय अवस्थामा सरकारी वकिलको अनुमति नलिइ पनि प्रहरीले जमानीमा छाड्न सक्छ ।

मुलुकी फौजदारी कार्यविधि संहिताले निश्चित अवस्थामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गर्न सक्ने अधिकार सरकारी वकिलको कार्यालयलाई दिएको छ ।

हाजिरी जमानीमा छुटे महरा

यसैलाई आधार मानेर जिल्ला सरकारी वकिलको कार्यालयले महरालाई हिरासतमुक्त गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले बताए । उनलाई चारदिन थुनामा राखिएको थियो ।

प्रहरीले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई सोमबार पक्राउ गरेको थियो । तर, स्वास्थ्यका कारण बहाना बनाउँदै उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनको प्रहरी र सरकारी वकिलको कार्यालयमा सुन तस्करीको अभियोगबारे बयान लिइएको थियो ।

रिहा गर्न देखाइएका तीन कारण

यसअघि अदालतले नै महराको स्वास्थ्यस्थितिका कारण अस्पतालमा राख्न भनेको थियो । त्यसैले हिरासतमा नभइ अस्पताल बसेका थिए ।

उनी विभिन्न आठवटा औषधि सेवन गरिरहेका छन् । उनी क्षयरोग, युरिक एसिड र प्रोस्ट्रेट ग्रन्थीको समस्याबाट पीडित भनिएको छ । यही कारणले उनलाई रिहा गरिएको हो ।

अर्काे उनको बयान लिइसकिएको छ । बयान भइसकेको अवस्थामा हिरासतमा बस्नु नपर्ने भनिएको छ ।

तेस्रो कारणमा महराको उमेरको समेत ध्यानमा राखेर सीआईबीको मागबमोजिम हाजिर जमानीमा छोडिएको हो । महराको उमेर समकालीन नेताभन्दा केही कम छ । उनी ६६ वर्षका भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved