निसीखोला दुर्घटना : बस रुखमा अड्किँदा धेरैको ज्यान जोगियो

नेपालभ्युज

निसीखोला दुर्घटना : बस रुखमा अड्किँदा धेरैको ज्यान जोगियो

बलेवा । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए ।

प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ पर्न लागेको थियो ।

मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ पातिहाल्ने खण्डमा रात्रि बस चलिरहेका थिए । पातिहाल्नेबाट निसिखोला गाउँपालिका–६ को सीप गस्ती नपुग्दै गस्तीमा रहेको प्रहरीलाई खबर आयो, “जाउलेपानीमा रात्रि बस पल्टियो ।”

गस्ती सकाएर ब्यारेक फर्कँदै गरेको प्रहरीको टोली बीचबाटोबाटै फर्कियो । जाउलेपानी पुग्दा बस सडकदेखि एक सय ५० मिटर तल रुखमा अड्किएको अवस्थामा थियो ।

यात्रुरु चारैतिर छरिएका थिए । निसीखोला प्रहरी चौकी प्रमुख भोजबहादुर गुरुङले भने, “कोही चिच्याइरहेका थिए, कोही रोइरहेका थिए, कोही चुपचाप थिए, हतारहतार नाढी छाम्यौँ, केहीको घटनास्थलमै मृत्यु भइसकेको थियो ।”

दुर्घटना भएको ठाउँदेखि निसिखोला प्रहरी चौकी झण्डै १५ किलोमिटरको दुरीमा छ भने इकालाका प्रहरी कार्यालय पुग्न थप समय लाग्छ ।

संयोगवश गस्तीमा भएकाले प्रहरी टोली दुर्घटना भएको केही मिनेटमै दुर्घटनास्थल पुग्यो । गस्ती नभएको भए प्रहरी पुग्न समय लाग्ने थियो । समयमै घटनास्थल पुगेर घाइतेको ज्यान बचाउन पाएको सकिएको प्रहरीको भनाइ छ ।

“पहिलै मृत्यु भएकालाई त केही गर्न सकिएन्, घाइतेलाई तत्काल उद्धारमा लाग्यौँ । सहयोगका लागि स्थानीय पनि आउनुभयो । पछि जिल्लाबाट थप प्रहरी परिचालन भइहाल्यो”, उनी भन्छन्, “नजिकैको खोलाबाट प्लास्टिकमा पानी ल्याएर घाइतेलाई खुवायौँ, जतिसक्दो अस्पताल पुर्याउने प्रयास भयो ।”

जाउलेपानीमा भएको बस दुर्घटनामा घटनास्थलमै सात जनाले ज्यान गुमाए । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा थप दुई जनाको मृत्यु भयो ।

बागमती प्रदेश ०१-००६ख३८७९ नं को बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनापछिको उद्धार र घाइतेको उपचारमा गस्तीमा रहेको प्रहरी सहयोगी बन्यो । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको सीपदेखि उकालो लागेपछि पातीहाल्ने पुग्न कयौँ घुम्ती पार गर्नुपर्छ ।

घुम्ती नै घुम्ती रहेको सडक भिरालो जमिनमा बनेको छ । पक्की सडक भएकाले सवारीको गति स्वभाविक बढी हुन्छ, तर घुमाउरो भएकै कारण दुर्घटनाको जोखिम थियो नै ।

“घुम्ती मोड्न नसकेकै कारण बस खसेको जस्तो देखिन्छ, बाँकी अनुसन्धानकै पाटो भयो”, गुरुङ भन्छन्, “समयमा उद्धार हुनु र खसुँको रुखले बस अड्याउनुले बसमा सवार धेरैको ज्यान जोगिएको देखिन्छ ।”

एक सय ५० मिटर तल खस्नुअघि बसले दुई वटा गुराँस र दुईवटा खर्सुका मध्यमखालका रुख भाँचेको छ । जहाँ बस अडियो त्योभन्दा तल खसेको भए थप दुईसय मिटर तलसम्म भीरालो जमिन भएकाले बस रोकिने अवस्था थिएन भन्छन् गुरुङ ।

खसुँमा अडिएको बस उत्तानो परेको छ । हाल केही घाइतेको बागलुङस्थित धौलागिरि अस्पतालमा र केहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved