ल्होसारका अवसरमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट शुभकामना सन्देश; सुशासन र सामाजिक न्यायमा जोड

नेपालभ्युज

ल्होसारका अवसरमा राष्ट्र प्रमुख तथा सरकार प्रमुखबाट शुभकामना सन्देश; सुशासन र सामाजिक न्यायमा जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको हिमालीसहित विभिन्न क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा विविध कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ ।

त्यस्तै, उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले पर्वको माध्यमबाट राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग पुग्ने बताएका छन् ।

पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । प्रचण्डले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् ।

उनले स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved