रुसको पक्षमा लड्न नागरिक पठाउने नेटवर्कमाथि भारतको छापा

नेपालभ्युज

रुसको पक्षमा लड्न नागरिक पठाउने नेटवर्कमाथि भारतको छापा
फाइल तश्वीर

नयाँदिल्ली । भारतीय अधिकारीहरूले धेरै ट्राभल एजेन्टमाथि छापा मारेपछि युक्रेनमा रुसी सेनाको पक्षमा लड्नका लागि मुलुकका नागरिक पठाउने एक ‘तस्करी’ नेटवर्कका सदस्यहरूलाई पक्राउ गरेको बताएका छन् ।

रुसको आक्रमण सुरु भएको दुई वर्षपछि युक्रेनमा उसका हजारौँ सैनिक मारिएका छन् र मस्को थप लडाकूहरूको वैश्विक खोजीमा छ । युद्धमा कम्तीमा दुई भारतीय सैनिक मारिएका छन् । सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्रिम पङ्क्तिमा पठाइएको बताएका छन् ।

शुक्रबार साँझ जारी विज्ञप्तिअनुसार भारतको केन्द्रीय जाँच ब्युरो (सिबिआई) का अनुसन्धानकर्ताहरूले बिहीबार १३ स्थानमा छापा मारेर सोधपुछका लागि ‘केही संदिग्ध’ लाई पक्राउ गरेका थिए ।

“यी तस्करले सङ्गठित नेटवर्कका रूपमा काम गरिरहेका छन् र युट्युबजस्ता सामाजिक सञ्जाल च्यानल तथा आफ्ना स्थानीय सम्पर्क÷एजेन्टमार्फत भारतीय नागरिकलाई रुसमा उच्च तलब भएको नोकरीका लागि प्रलोभन दिइरहेक थिए”, विज्ञप्तिमा भनिएको छ, “तस्करीमा परेका भारतीय नागरिकहरूलाई लडाकू भूमिकामा प्रशिक्षित गरिएको छ र उनीहरूको इच्छाविरुद्ध रुस–युक्रेन युद्ध क्षेत्रमा अग्रिम ठेगानामा तैनाथ गरिएको छ ।”

सिबिआईका अनुसार उसले भारतीयलाई रुस पठाउने ‘करिब ३५ उदाहरण’ स्थापित गरेको छ तर उसले धेरै सम्भावित पीडितहरूको पहिचानका लागि काम गरिरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले पहिला रुसी सेनामा करिब २० भारतीय नागरिकलाई निकाल्न सुनिश्चित गर्नका लागि काम गरिरहेको बताएको थियो । मन्त्रालयले शुक्रबार विज्ञप्तिमा भनेको छ, “हामी हाम्रा नागरिकको शीघ्र रिहाइ र अन्ततः घर फिर्तीका लागि प्रतिबद्ध छौँ ।”

सिबिआईले दुबईस्थित भर्ती एजेन्ट फैसल खानसहित नेटवर्कमा चार संदिग्धको नाम राखेको छ । उनीहरूले आफ्नो सामाजिक सञ्जाल च्यानल बाबा भ्लग्समा रुसी सेनाको नोकरीको विज्ञापन गरेका थिए । खानले आफूले गत वर्षको अन्त्यमा सेनामा सहायक भूमिकाका लागि १६ भारतीय पासपोर्ट धारकको रुस भ्रमणलाई सुविधाजनक बनाउन सहयोग गरेको गत महिना बताएका थिए ।

उनले सेनामा भर्ती भएकालाई हतियार दिएपछि आफू ‘अचम्मित’ भएको र ‘भर्ती प्रक्रियामाथि रोक लगाउने निर्णय गरेको’ बताए ।

सेनामा भर्ती भएका केही भारतीयले गत महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई उच्च तलब र रुसी राहदानी दिने वाचा गरेर सेनामा सामेल हुन प्रलोभन दिइएको बताएका थिए । आफूहरूलाई गैर–लडाकू भूमिका दिने वचन दिइएको तर युक्रेन पठाउनुअघि कलाश्निकोभ एसल्ट राइफल र अन्य हतियारको प्रयोग गर्नका लागि प्रशिक्षित गरिएको उनीहरूले बताएका थिए ।

भारत रुसको पुरानो सहयोगी हो र उसले युक्रेनका विषयमा आक्रमणको स्पष्ट निन्दा गर्नबाट पछि हटेको छ । भारतमा तीव्र आर्थिक विकास भए पनि बेरोजगारी उच्च छ र प्रत्येक वर्ष ठूलो सङ्ख्यामा मानिसहरू विदेशमा कामको खोजी गर्छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved