मेलम्ची बजारका अनधिकृत संरचना हटाउन सुरु

नेपालभ्युज

मेलम्ची बजारका अनधिकृत संरचना हटाउन सुरु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले वडा नं ११ बजार क्षेत्रमा सडक पेटी मिचेर बनाइएका संरचना तथा सामग्री हटाउन सुरु गरेको छ ।

नगरपालिकाले डोजर तथा जनशक्तिको सहायताले सडकपेटी मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको हो ।

पैँतिस दिने सूचना जारी गरेर हटाउन भनिए पनि अटेर गरेर नहटाएपछि डोजर लगाएर हटाइएको नगरपालिकाका इञ्जिनियर जीतबहादुर कार्कीले जानकारी दिए ।

गत पुस २६ गते बसेको कार्यपालिका बैठकले बजारका अव्यवस्थित संरचना हटाउने निर्णय गरेको थियो ।

मेलम्ची बजारमा एक सय भन्दाबढी घरले सडकपेटी अतिक्रमण गरी संरचना बनाएपछि ती संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको नगर प्रमुख आइतमान तामाङले बताए ।

नगरको आग्रहमा केहीले आफैँ हटाएका भन्दै बाँकी रहेका घरमा डोजर लगाइएको मेलम्ची–११ का वडध्यक्ष चन्द्रबहादुर तामाङको भनाइ छ ।

नगरपालिकाले बजारलाई व्यवस्थित बनाउन मेलम्ची–११ का वडाध्यक्ष तामाङको अध्यक्षतामा बजार व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिको निर्णय अनुसार ३५ दिने सूचना नगरपालिकाले जारी गरेको थियो ।

उक्त सूचनाको म्याद नसकिँदै अधिकांश स्थानीय तथा व्यापारीले स्वतःस्फूर्त रूपमा अतिक्रमित अस्थायी संरचना हटाएका थिए ।

सूचनाको बेवास्ता गरी नहटाइएका एक दर्जनबढी संरचनामाथि नगरपालिकाले डोजर चलाएको इञ्जिनियर कार्कीले बताए । उनका अनुसार पालिकाले बजार व्यवस्थापनका लागि सञ्चालन गरेको अभियानप्रति यहाँका व्यवसायीले पूर्णसाथ दिएका छन् ।

अभियानमा मेलम्ची–१० का वडाध्यक्ष अमृत खनाल, ९ का वडाध्यक्ष किरणदिप खडका, स्थानीयलगायतको सहभागिता थियो । मेलम्ची बजार क्षेत्रको मात्र नभइ तालामाराङ, बाहुनेपाटी, दुवाचौर, भोटेचौरलगायत क्षेत्रको पनि उचित व्यवस्थापन हुनुपर्ने व्यवसायी रामकृष्ण चालिसेले बताए ।

नगरपालिकाको उक्त अभियानमा नगर उद्योग वाणिज्य सङ्घले पूर्ण समर्थन जनाउँदै सङ्घका महासचिव ताराबहादुर बानियाँले संरचना भत्काउने मात्रै नभइ उचित व्यवस्थापन समेत गर्नुपर्ने उल्लेख गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved