सात महिनामा ८ खर्ब व्यापार घाटा, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

नेपालभ्युज

सात महिनामा ८ खर्ब व्यापार घाटा, सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना अवधिमा मुलुकले कुल रू नौ खर्ब ८४ अर्ब ७७ करोडको वैदेशिक व्यापार गर्दा रू आठ खर्ब ११ अर्ब ११ करोड बराबरको घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिना अवधिको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा रू आठ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख बराबरको आयात भएको छ भने रू ८६ अर्ब ८३ करोड नौ लाख १२ हजार बराबरको मात्रै निर्यात भएको छ ।

गत आवको सुरुआती सात महिना अवधिको तुलनामा चालु आवको सोही अवधिमा आयात दुई दशमलव ३१ र निर्यात सात दशमलव ०७ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा समग्र व्यापार घाटा दुई दशमलव ७५ प्रतिशतले घट्दा व्यापार घाटा पनि एक दशमलव ७७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

नेपालले सबैभन्दा ठूलो वैदेशिक व्यापार गर्ने मुलुक भारत हो । भारतसँग रू पाँच खर्ब ५४ अर्ब ७५ करोड ८८ लाखको आयात गर्दा रू ५८ अर्ब ७२ करोड २७ लाखको मात्रै निर्यात भएको छ । अर्थात् चालु आवको सात महिना अवधिमा भारतसँग मात्र नेपालले रू चार खर्ब ९६ अर्ब तीन करोड ६० लाख व्यापारघाटा व्यहोरेको छ ।

त्यस्तै, दोस्रो ठूलो वैदेशिक व्यापार रहेको मुलुक चीनसँग नेपालले रू एक खर्ब ७१ अर्ब २३ करोड ६३ लाख बराबर व्यापार घाटा व्यहोरेको छ ।

माघ मसान्तसम्ममा चीनबाट रू एक खर्ब ७३ अर्ब नौ करोड ११ लाख बराबरको मालवस्तु आयात हुँदा रू एक अर्ब ८५ करोड ४८ लाख बराबरको निर्यात भएको छ ।

नेपालले उच्च व्यापार घाटा व्यहोर्ने मुलुकको सूचीमा तेस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ ।

चालु आवको सात महिना अवधिमा संयुक्त अरब इमिरेट्ससँग रू १५ अर्ब ६९ करोड ५४ लाखको आयात र रु एक अर्ब ५८ करोड ३३ लाख बराबरको निर्यात भएको छ । यो मुलुकसँगको व्यापार घाटा रू १४ अर्ब ११ करोड २० लाख छ ।

नेपालले वैदेशिक व्यापार गर्ने मुलुकहरुमध्ये सबैभन्दा बढी व्यापार नाफा संयुक्त राज्य अमेरिकासँग रहेको छ । सात महिना अवधिमा अमेरिकाबाट रू नौ अर्ब १७ करोड ५८ लाख बराबरको वस्तु आयात हुँदा नेपालबाट रू नौ अर्ब ५४ करोड छ लाख बराबरको निर्यात भएको छ ।

अर्थात् समीक्षा अवधिमा अमेरिकासँगको नेपालको व्यापार नाफा रू ३६ करोड ४७ लाख बराबर छ । डेनमार्क, नर्वे, अफगानस्तान, माल्दिभ्सलगायत मुलुकसँग पनि नेपालको व्यापार नाफामा छ ।

चालु आवको सुरुआती सात महिना अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । यो अवधिमा रू ७७ अर्ब ४१ करोड ९८ लाख बराबरको डिजेल, रू ३८ अर्ब ८२ करोड ६३ लाख बराबरको पेट्रोल र रू ३० अर्ब ३१ करोड २४ लाख बराबरको एलपी ग्याँस आयात भएको छ ।

त्यस्तै, फलामजन्य सामग्री रू २२ अर्ब ६६ करोड, रू १७ अर्ब ३८ करोड ३६ लाख बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved