मतदान अधिकारीको खुलासा : ७०-८० हजार मतले जितिसकेका इमरान समर्थित उम्मेदवारलाई हराइयो

नेपालभ्युज

मतदान अधिकारीको खुलासा : ७०-८० हजार मतले जितिसकेका इमरान समर्थित उम्मेदवारलाई हराइयो

काठमाडौं । पाकिस्तानको रावलपिंडीका मतदान अधिकारी लियाकत अली चट्टाले शनिबार आफूले चुनावमा धाँधली गरेको स्वीकार गरेका छन् ।

जियो न्यूजका अनुसार लियाकतले भने, ‘ स्वतन्त्र उम्मेदवार पूर्वप्रधानमन्त्री इमरान समर्थक हरू ७०-८० हजार मतसहित अग्रस्थानमा थिए । उहाँहरू जित्नुभएको थियो, तर हामीले नक्कली मतपत्रबाट पराजित गर्यौं । म मेरो अपराधको पूर्ण जिम्मेवारी लिन्छु।’

‘निर्वाचन आयोगका अध्यक्ष र प्रधानन्यायाधीश पनि धाँधलीमा संलग्न छन् । हारेका उम्मेदवारलाई ५० हजार मतान्तरले विजयी बनाएका छौं । यो सबै पीटीआईलाई समर्थन गर्ने स्वतन्त्रहरूलाई हराउनको लागि गरिएको थियो।’ पदबाट राजीनामा दिँदै लियाकतले भने– ‘देश तोड्ने यो अपराधमा म साझेदार बन्न चाहन्न ।’

हालै सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले १०१ सिट प्राप्त गरेका थिए । पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० ले ७५ सिट र पूर्व विदेशमन्त्री बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी संसदीय दलले ५४ सिट प्राप्त गरे ।

इमरानको पार्टी विपक्षमा बस्ने
पूर्वप्रधानमन्त्री खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का ब्यारिस्टर अली सैफले पार्टीले केन्द्र सरकार र पञ्जाब विधानसभामा प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् ।

‘पीटीआईले गठबन्धन सरकार नबनाउने र प्रतिपक्षमा बस्न चाहेको धेरै पटक स्पष्ट गरिसकेको छ ।’ सैफले भने, ‘विपक्षमा बस्ने निर्णय इमरान खानको निर्देशनमा गरिएको हो ।’

निर्वाचनमा धाँधलीको विरोधमा शनिबार पीटीआईले देशभर विरोध प्रदर्शन गरेको छ । अर्कोतर्फ कार्यवाहक सरकार र सेनालाई प्रदर्शनका क्रममा हिंसाको डर छ । प्रधानमन्त्री अनवर उल हक कक्कडले शुक्रबार राति नै बैठक बसेर अवस्थालाई सम्बोधन गरेका थिए । यसमा सेनाका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

इस्लामावादलगायत देशका सबै ठूला सहरको सुरक्षाका लागि सेना परिचालन गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved