अमेरिकामा वयोवृद्ध राष्ट्रपति देशको समस्या बन्नसक्ने चिन्ता

आगामी चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेद्वार बाइडन भएमा विश्लेषक ठान्दछन् कि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाव जित्ने सम्भावना बढ्ने छ ।

नेपालभ्युज

अमेरिकामा वयोवृद्ध राष्ट्रपति देशको समस्या बन्नसक्ने चिन्ता

काठमाडौं । वर्षको अन्त्यतिर नोभेम्बर ५ मा अमेरिकामा नयाँ राष्ट्रपतिको निर्वाचन हुनुपर्नेछ । बलियो सम्भावना छ— वर्तमान राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘रिम्याच’ हुनेछ ।

गत राष्ट्रपतीय निर्वाचनमा यिनै दुईबीच प्रतिस्पर्धा भएको थियो। यसपटक पनि यी दुवैले आ-आफ्नो पार्टीभित्रको ‘प्राइमरी’मा अग्रता हासिल गरिरहेका छन् ।

फ्लोरिडा गभर्नर रोन डिसेन्टिस र युवा नेता विवेक रामास्वामीले उम्मेदवारी अभियान फिर्ता गरेपछि रिपब्लिकन प्राइमरीमा डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा निक्के हेली मात्र बाँकी छन् । डेमोक्र्याटिक पार्टीभित्र राष्ट्रपति बाइडनको बलियो प्रतिस्पर्धी देखिएको छैन ।

राष्ट्रपति बाइडन अहिले ८१ वर्षका भए । मानौँ कि उनले आगामी चुनाव जिते, दोस्रो कार्यकाल पूरा गर्दा उनी ८६ वर्षका हुनेछन् । बाइडनभन्दा अघि सबैभन्दा बुढ्यौली उमेरसम्म राष्ट्रपतिमा बहाल रहेको रेकर्ड रोनाल्ड रेगनका नाममा थियो । सन् १९८९ मा आफ्नो दोस्रो कार्यकाल पूरा गर्दा उनी ७७ वर्षका थिए।

बाइडनको उमेरलाई लिएर स्वयम् डेमोक्र्याटिक मतदाता चिन्तित भएको बताइन्छ । न्यूओर्क टाइम्सका राजनीतिक विश्लेषक नाटे कोहनका अनुसार ७० प्रतिशत मतदाता बाइडनको उमेरप्रति सन्तुष्ट छैनन् । राष्ट्रपति पदले माग गर्ने सक्रियता र समझका लागि बाइडनको उमेर निकै धेरै र अनुपयुक्त हो भन्ने तिनको ठहर छ ।

बाइडनमा अहिले नै बिर्सने समस्या छ । उनी कयौं महत्त्वपूर्ण समयतालिका र सन्दर्भ बिर्सन्छन् । यद्यपि, उनको मानसिक स्वास्थ्य भने अझै राम्रो रहेको छ । एक स्वास्थ्य परामर्शदाता रोवर्ट के हुरले बाइडनलाई ‘कमजोर स्मरणशक्ति भएका वयोवृद्ध व्यक्ति’ को संज्ञा दिएका छन् ।

आगामी चुनावमा डेमोक्र्याटिक पार्टीको उम्मेदवार बाइडन भएमा विश्लेषक ठान्दछन् कि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाव जित्ने सम्भावना बढ्नेछ । विचार, पार्टी र मुद्दालाई छोडेर उमेरकै कारणले जो बाइडनको साटो डोनाल्ड ट्रम्पले भोट पाउन सक्दछन् ।

ट्रम्प अहिले बाइडनभन्दा केही कम ७७ वर्षका छन् । उनले जितेमा कार्यकाल पूरा गर्दा ८२ वर्षका हुनेछन् । उनी पहिलोपटक राष्ट्रपति हुँदा ६९ वर्षका थिए । बाइडनको तुलनामा ट्रम्प बढी स्वस्थ्य र सक्रिय छन् ।

न्यूओर्क टाइम्सका स्तम्भकार पौल क्रुगम्यान लेख्छन्— मान्छेको उमेरलाई लिएर बहस हुनु रुचिकर हैन । तर, बाइडनको कमजोर स्मरणशक्तिको कारण कतिपय काम बिग्रिएका उदाहरण छन् ।

अर्का विश्लेषक ब्रेट स्टेफेन भन्छन्– डेमोक्र्याटिक पार्टीले बाइडनको उमेरलाई नजरअन्दाज गर्नु उचित हैन ।

उमेरकै करणले बाइडन हारे भने त्यो पार्टी, देश र जनतका लागि हानिकारक बन्न सक्दछ । ट्रम्पको फिर्ती धेरै अर्थमा लोकतन्त्रका लागि हानिकारक हुन सक्ने उनको ठहर छ ।

द वासिङ्गटन पोष्टका पिटर बैंकर लेख्छन्— राष्ट्रपति उम्मेदवारको वयोवृद्ध उमेर मतदाताका लागि एक ठूलो समस्या हो । यसले मतदातामा एक प्रकारको द्विविधा सृजना गर्दछ । मतदाताले भावनाले खुलेर मतदान गर्ने अवसर गुमाउँछन् । हिच्किचाहट र अनिच्छाबीच मतदान गर्नुपर्ने अवस्था हुने छ । यसकारण मतदान दर घट्न सक्दछ।

अमेरिकामा दुई कार्यकाल मात्र राष्ट्रपति हुने प्रचलन स्थापित हुनुको एउटा कारण उमेर पनि थियो । वयोवृद्ध व्यक्ति लामो समय पदमा रहँदा हुने हानि नोक्सानी रोक्न यो प्रचलन उपयोगी हुने विश्वास थियो । यद्यपि त्यो बेला मान्छेको औसत आयु नै कम थियो । औसत पूर्वराष्ट्रपतिको निधन ६०/७० वर्षको बीचमा हुने गर्दथ्यो ।

पहिलो राष्ट्रपति जर्ज वासिङ्गटन पहिलोपटक राष्ट्रपति हुँदा ५७ वर्षका थिए । उनले ६५ वर्षको उमेरमा दोस्रो कार्यकाल पूरा गरे । ६७ वर्षको उमेरमा उनको निधन भयो ।

यस नियमका एक मात्र अपवाद बने, फ्राङकलिन डि. रुजबेल्ट । उनले तीन कार्यकाल पूरा गरेका थिए । चौथो कार्यकाल प्रारम्भ भएको ३ महिनामा उनको निधन भएको थियो । पदमा रहँदा राष्ट्रपतिको निधन भएमा उपराष्ट्रपतिले बाँकी कार्यकाल राष्ट्रपतिको भूमिका गर्दछन् । रुजबेल्टका उपराष्ट्रपति ह्यारी एस. ट्रुम्यानले बाँकी कार्यकाल पूरा गरेका थिए ।

सघन स्वास्थ्य सेवा तथा विज्ञान प्रविधिको विकासले मान्छेको औसत आयुमा व्यापक वृद्धि भएको कारण ७० वर्षपछि पनि सार्वजनिक जीवनमा सक्रिय मानिस थुप्रै भेटिनु अस्वाभाविक हैन । तर, अधिकांश अमेरिकी विश्लेषक तथा मतदाता ठान्दछन् कि ८० वर्षको उमेरसम्म पनि राष्ट्रपति पदमा रहनु सायद उपयुक्त हुँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved