२२० केभी बाह्रबिसे सबस्टेसनको निर्माण अन्तिम चरणमा

नेपालभ्युज

२२० केभी बाह्रबिसे सबस्टेसनको निर्माण अन्तिम चरणमा

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्माण भइरहेको २२०-१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ निर्माण थालिएको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो ।

सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरू जडान भइसकेका छन् । सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरू राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरू जडान  अन्तिम चरणमा छ ।

नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरू निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । उपकरणहरूको जडान धमाधम भइरहेको छ । २२०-१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९५ प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिने छ ।

मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरू निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ ।

आयोजनाले बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न सकिरहेको छैन । हाल मध्यभोटेकोशी जलविद्युत आयोजनाका संरचनाहरूको निर्माण सम्पन्न गरी परीक्षण भइरहेका छन् ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेर खेर जाने अवस्था आउन नदिन बाह्रबिसे सबस्टेसन जतिसक्दो छिटो सम्पन्न गर्नु पर्ने दबाबमा प्राधिकरण छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र आयोजना व्यवस्थापन निर्देशनालयका उप कार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिबार सबस्टेसन निर्माण स्थलको अनुगमन गरी बाँकी कामहरू तत्काल सम्पन्न गर्न निर्देशन दिएका छन् ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिका, प्रसारण लाइनमा भइरहेको अवरोध हटाउन स्थानीयसँग छलफल गरेको थियो । साथै, टोलीले मध्यभोटेकोशी जलविद्युत आयोजनाको पनि भ्रमण गरी हाल भइरहेका परीक्षणका कार्यहरूको जानकारी लिएको थियो ।

कार्यकारी निर्देशक घिसिङले उपकरणहरू सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि अन्तिम चरणमा पुगेको अवस्थामा जनशक्ति अझै थप गरी दुई महिनाभित्रमा सबस्टेसन निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

‘सबस्टेसन निर्माणको पछिल्लो चरणको प्रगति सन्तोषजनक नै देखिएको छ, नयाँ खिम्ती–बाह्रबिसे र बाह्रबिसे लप्सीफेदी (काठमाडौं) प्रसारण लाइन निर्माण पनि अन्तिम चरणमा पुगेको छ, अन्य कुनै समस्या नआएमा निर्माण आगामी २-३ महिनाभित्र सम्पन्न हुने अवस्था बनेको छ, त्यसैले सबैले आ-आफ्नोतर्फबाट अन्तिम पहल र कोसिस गरौं’, घिसिङले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved