सन्दर्भ : माघ १९ को प्रजातान्त्रिक कू

‘राजाले कू गरेपछि दलहरू एक भए भन्नु रोग लागेपछि उपचारको अवसर मिल्यो भनेझैँ’

२०६१ साल माघ १९ अर्थात् आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कू’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए ।

नेपालभ्युज

‘राजाले कू गरेपछि दलहरू एक भए भन्नु रोग लागेपछि उपचारको अवसर मिल्यो भनेझैँ’

काठमाडौं । २०६१ साल माघ १९ अर्थात् आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कू’ गरेर निरङ्कुश शासनको सुरुवात गरेका थिए ।

उनले जनताका मौलिक अधिकार निलम्बन गरे, सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरे । प्रमुख राजनीतिक दलका नेताहरूलाई पक्राउ गरी नजरबन्दमा राखे । राजाको कदमबाट २०४६ सालमा स्थापित बहुदलीय प्रजातन्त्रको मान्यताहरू पूर्णरूपमा निस्तेज भए ।

राजाको त्यस्तो अराजनीतिक कदमले सशस्त्र सङ्घर्षरत तत्कालीन नेकपा (माओवादी) र संसद्‌वादी दलहरूलाई एकठाउँमा आउन सहयोग गर्‍यो । त्यसपछि दलहरू राजाको प्रत्यक्ष शासनविरुद्ध एकजुट भए र आन्दोलनमा उत्रिए ।

२०६२/०६३ को जनआन्दोलनको सूत्रपात नै यही दिनको कदमलाई मानिन्छ । २०६२ मंसिरमा दिल्लीमा तत्कालीन माओवादी र तत्कालीन सात दलबीच १२ बुँदे समझदारी बन्यो । जसमा ‘निरङ्कुश राजतन्त्रविरोधी शक्तिहरूले निरङ्कुश राजतन्त्रकाविरुद्ध आ-आफ्ना ठाउँबाट प्रहार केन्द्रित गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलन गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने’ उल्लेख थियो ।

त्यसपछि माओवादीसहित आठ राजनीतिक शक्तिले राजाको प्रत्यक्ष शासनविरुद्ध खह्रो आन्दोलन चर्काए । त्यही आन्दोलनको सफलतासँगै २०६३ वैशाख ११ गते लोकतन्त्र पुनर्स्थापना भयो । त्यसपश्चात् २०६४ को पहिलो संविधान सभाको निर्वाचितमार्फत बनेको संविधान सभाको २०६५ जेठ १५ गतेको बैठकले झन्डै २४० वर्षे राजसंस्थाको अन्त्य गरेको घोषणा गर्‍यो ।

यसपछि पनि मुलुकले धेरैखाले राजनीतिक उतारचढाव भोगेको छ । तर, अहिले पनि राजा र राजावादीहरूले कहीँ न कहीँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोलिरहेका छन् । त्यसो त यसको सान्दर्भिकता कति ? १९ वर्ष अगाडिको त्यो प्रजातान्त्रिक कूको समीक्षा कसरी गर्ने ? यी र यस्तै सवालहरूको जवाफ नेपालभ्यूजले अधिवक्तासमेत रहेका नेकपा नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीसँग खोजेको छ ।

बिडारीकै भाषामा यो प्रस्तुत छ—

२०१७ सालमा पुस १ गते जे भएको थियो, त्यही गर्नलाई दुस्प्रयास गरिएको दिन हो माघ १९ । यसले प्राप्त गरिसकिएको सीमित अधिकार; त्योबेला राजतन्त्र थियो । प्राप्त गरिसकिएको सीमित अधिकार र केही बहुदलीय अधिकारलाई निष्क्रिय, निस्तेज र प्रतिबन्ध लगाउने कुचेष्टासहित गरिएको थियो ।

तर, त्यसलाई ट्राडिसनल नेताहरूलाई सुम्पेको हुनाले; खासगरी कीर्तिनिधि विष्टजस्ता मान्छेहरूलाई नै प्रयोग गरेको हुनाले त्यो सफल हुन सकेन ।

र, त्यसको निम्ति तत्कालीन तत्कालीन शाही सेना, तत्कालीन राजनीतिक दलका नेताहरूले सकारात्मक भूमिका खेलिदिएको हुनाले पनि त्यो असफल भयो । माघ १९ नेपाली राजनीतिक इतिहासमा कलङ्ककै दिन हो ।

कतिपयले राजाले त्यसो नगरेको भए प्रजातन्त्र, लोकतन्त्र चाहने दलहरू एकठाउँमा आउन सक्दैनथे, राजाले एकठाउँमा ल्याइदिए भन्नेखाले व्याख्याता बनाएका देख्छु । तर, त्यसो होइन । त्योचाहिँ रोग लागेकाले उपचार गर्ने अवसर मिल्यो भनेजस्तो हुन्छ । रोग लागेर के अवसर पाइयो त भन्दाखेरि उपचार गर्ने मौका पाइयो । यस्तो हुँदैन । त्यसलाई त्यताबाट हेर्नु हुँदैन, त्यो गलत नै हो । सर्वथा गलत ।

अहिले पनि कथित राजा, महाराजका आउरेबाउरे, धुपौरे, उनले पढाका, हुर्काका, खुवाका, चलाका, खाइपल्केकाहरू सबै एकठाउँमा आउँदा यसो बाँसघारीमा सारौँ कराएजस्तो चाहिँ हुँदोरहेछ । त्यसको कुनै अर्थ छैन । त्यसको सान्दर्भिकता, उपयोगिता, उपादेयता केही छैन ।

राजतन्त्र चाहने भनेको त कि दुष्टले हो, कि मूर्खले हो, कि खाइपल्केका कपुतहरूले हो । अरुले त किन चाहने राजतन्त्र ? त्यहाँ के छ र ? तपाईं आफैँ भन्नुस् त, किन चाहने मान्छेले राजतन्त्र ?

फेरि मान्छेले बेलायतमा त चाहे नि भन्लान् । त्यहाँ त हटाउँदा अप्ठ्यारो पर्ने भयो नि त, बेलायत धनाढ्यहरूको धन थुप्रेको ठाउँ पर्‍यो । ती सम्भ्रान्त वर्गहरूको प्रतिनिधित्व कसले गर्ने भन्ने झगडा भयो त्यहाँ, त्यसकारण त्यसको प्रभुत्व कसले जमाउने भन्दाखेरि महासभा/अप्पर हाउस बनाउने, हाउस अफ लर्ड बनाउने, एकपटक हाउस अफ लर्डको मेम्बर भइसकेपछि त्यो मर्नुभन्दा अगाडिसम्म मेम्बर हुने, त्यसले सम्मानचाहिँ पाउने, त्यसले सुविधाभत्ता केही नपाउने, त्यसले कानून बनाउनु नि नपाउने, सरकार बनाउनु नि नपाउने, बजेटको कुरो गर्नु नि नपाउने, तर त्यसले सम्मानचाहिँ पाउने भनेर कम्प्रमाइज गरिएको हो ।

त्यो कम्प्रमाइज गरेपछि त अब, जस्तै क्यानडाले के गर्‍यो ? हाम्रोमा पनि अर्को हात्ती पाल्नुभन्दा त्यही बेलायतका राजा हाम्रोमा पनि राजा भए भइहाल्यो नि त भन्यो । एउटा सार्वभौम सम्पन्न राष्ट्रले त्यसो भन्न त मिल्दैनथ्यो । तर, भन्दियो उसले । जस्तै अष्ट्रेलियाले; हाम्रोमा पनि त्यही राजा भए भइहाल्यो नि त, अर्को किन चाहियो भनेर भनिदियो । त्यसकारण त्यहाँ डार्विनको सिद्धान्त लागू हुन्छ । बाँदरको पुच्छर किन हरायो भन्दा ‘लौरो न हतियार भो’ । त्यसकारण मान्छेमा पुच्छर हरायो । जुन अङ्ग उपयोग हुँदैन, त्यो अङ्ग लोभ भएर जान्छ ।

अब राजतन्त्रको उपयोगिता छैन पृथ्वीमा । जहाँ राजतन्त्र छ, त्यहाँ पनि त्यसको उपयोगिता छैन । ल तपाईं नै भन्नुस् त, बेलायतकी रानीले क्यानडा-अष्ट्रेलिया गएर के गर्छे ? अब यी रवीन्द्र मिश्र/सिश्र भनाउँदाहरू त बाजे-बराजुदेखि नै राजाले नै हुर्काएको, पढाएको, जागिर उसैले दिलाइदिएको, जम्मा यत्ति न हो । अरु के छ र ? त्यसकारण माघ १९ बेठीक दिन हो, कलङ्कको दिन हो ।

जहाँसम्म नेपालमा राजा फर्काउनुपर्छ भन्ने साना/मसिना संस्थाहरू छन्, उनीहरू त उनै पहिल्यैदेखि राजाले पालिल्याएकाहरू हुन् । उनीहरूले के गर्न सक्लान् र ? उनीहरूले आफ्ना धर्म पूरा गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved