चितवनका १४० उद्योग बन्द, ४० वटाको नामसारी

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहेका १४० वटा उद्योग बन्द भएका छन् ।

नेपालभ्युज

चितवनका १४० उद्योग बन्द, ४० वटाको नामसारी

चितवन। घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहेका १४० वटा उद्योग बन्द भएका छन् ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ती उद्योग बन्द गर्न कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको खनालले बताए ।

सोही समयमा व्यावसायिक फर्महरु १८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको छ । व्यावसायिक फर्मतर्फ २७३ वटा नयाँ दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७९-८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या ४३४ रहेको थियो । यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९-८० मा २६९ वटा उद्योग बन्द भएका थिए ।

खनालका अनुसार गत आर्थिक वर्षमा ८५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको छ। उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको खनालको भनाइ छ । उनले भने, “पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।”

आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको विश्लेषण खनालकाे छ । कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् ।

राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको खनालले जानकारी दिए ।

चालु आर्थिक वर्षमा १३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved