सयदेखि तीन सय शैय्यासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउने सरकारको तयारी

नेपालभ्युज

सयदेखि तीन सय शैय्यासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउने सरकारको तयारी

काठमाडौं । सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ ।

सोमबार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् ।

सचिव पोखरेलले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए ।

उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने पनि बताएका छन् । ३ सय शैय्याका अस्पतालहरूका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको उनको भनाई छ । उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने दाबी गरे ।

१५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरूमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ ।  स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्ने अवस्था नभएको स्पष्ट पारे ।

उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रिय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको पनि बताएका छन् ।

‘स्वास्थ्य मन्त्रालयले १ सय देखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने गरी बोर्डले पास गरेका छौं’, उनले भने ‘अबको तीन दिन भित्र मन्त्रीपरिषद्मा लैजान्छौं । हामी के चाहन्छौं भने १ सय वा २ सय बेड भएका अस्पतालहरूमा प्रत्येक प्रदेश वा साविकका अञ्चल अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउँछौं ।’

सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड  र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उनले उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved