बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतंकवादी समूहका रूपमा प्रतिबन्ध

नेपालभ्युज

बेलायतद्वारा हिज्ब उत–तहरिरलाई आतंकवादी समूहका रूपमा प्रतिबन्ध

लन्डन । सुन्नी इस्लामवादी राजनीतिक सङ्गठन हिज्ब उत–तहरिरलाई बेलायतमा औपचारिकरूपमा प्रतिबन्ध लगाइएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार बताएको छ ।

गृहमन्त्री जेम्स क्लेभर्लीले उक्त समूहलाई गैरकानूनी घोषणा गर्ने प्रक्रिया सुरु गरिएको सोमबार घोषणा गरे । उनले उक्त समूहलाई यहुदी विरोधी उल्लेख गर्दै भने, “उक्त समूहले सक्रियरूपमा आतङ्कवादलाई बढावा दिन्छ र प्रोत्साहित गर्छ ।”

सांसदहरूले यसअघि नै हिज्ब उत–तहरिरलाई प्रतिबन्धित ७९ समूहको सूचीमा जोड्ने मन्त्रीको प्रस्तावलाई अनुमोदन गरेका छन् । उक्त सूचीमा अल–कायदा र कथित इस्लामिक स्टेट समूह सामेल छन् ।

हिज्ब उत–तहरिरसँग सम्बन्धित वा उसका लागि ‘समर्थन निमन्त्रणा गर्ने’ लाई अब १४ वर्षसम्मको कारागार सजाय हुने तथा दोषी ठहर कुनै पनि व्यक्तिलाई जरिवाना र कारागार पनि हुनसक्ने गृह मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

हिज्ब उत–तहरिरले अक्टोबर ७ मा इजराइलमाथि हमासको आक्रमण र सम्बन्धित घटनाहरूको ‘प्रशंसा’ गरेका कारण समूहमाथि प्रतिबन्ध लगाउने कदम चालेको बेलायत सरकारले बताएको छ ।

“हिज्ब उत–तहरिरसँग इजराइल तथा यहुदीविरुद्ध आक्रमणको व्यापकरूपमा प्रशंसा गरेको र खुसियाली मनाएको इतिहास छ”, विज्ञप्तिमा भनिएको छ, “बेलायत यहुदीविरोधी विरुद्ध दृढतासाथ खडा छ र कुनै पनि रूपमा आतङ्कवादको प्रवर्द्धनलाई सहने छैन ।”

हिज्ब उत–तहरिरको दीर्घकालीन लक्ष्य इस्लामिक कानूनअन्तर्गत शासित खलिफाको स्थापना गर्नु हो । गृह मन्त्रालयका अनुसार सन् १९५३ मा स्थापना भएको यो समूह लेबनानस्थित छ र बेलायत, अमेरिका, क्यानाडा र अस्ट्रेलियासहित कम्तीमा ३२ मुलुकमा सञ्चालनमा छ । उक्त समूहलाई यसअघि नै बङ्गलादेश, इजिप्ट, जर्मनी, पाकिस्तान र धेरै मध्य एसियाली तथा अरब मुलुकमा प्रतिबन्ध लगाइएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved