प्रदेश र सङ्घीय सरकारले नदेखेका जनतासँगै बसेर रुने हिम्मत गर्छौँ : अध्यक्ष राई

नेपालभ्युज

प्रदेश र सङ्घीय सरकारले नदेखेका जनतासँगै बसेर रुने हिम्मत गर्छौँ : अध्यक्ष राई

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफूले स्थानीय सरकार प्रमुखको रूपमा इमान्दार प्रयत्न गरिरहेको बताएका छन् ।

गाउँपालिकाद्वारा आयोजित  ‘पाँचौँ गाउँपालिका अध्यक्ष रनिङ शिल्ड तथा स्थानीय तहस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’को उद्घाटन समरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“थुलुङ दुधकोशी स्थानीय सरकारको प्रमुखका रूपमा कार्यसम्पादन गरेको ७ वर्ष पुगिसक्यो । अहिलेसम्म स्थानीय सरकार प्रमुखका रूपमा इमान्दार प्रयत्नहरू गरिएको छ,” अध्यक्ष राईले भने ।

त्यसअघि उनले भने, “स्थानीय सरकार, जनताको सबैभन्दा नजिकको सरकार हो । हामी प्रदेश र सङ्घीय सरकारले नदेखेका जनताको पीडा अनि दु:खहरूसँग सँगै बसेर रुने हिम्मत गर्छौँ । उहाँहरूको अभवालाई सम्बोधन गर्ने प्रयास गर्छौँ ।”

राज्यको पुनर्संचना भइसकेपछि प्रदेश र सङ्घीय सरकारबाट वित्तीय हस्तान्तरणको नाममा केही श्रोत आउने तर, त्यसले जनअपेक्षाअनुरूपको काम गर्न नसकिने अध्यक्ष राईले उल्लेख गरे । तर, आफूहरूले इमान्दार प्रयत्न गरेर अन्य विभिन्न विधिहरूबाट श्रोत जुटाएर काम गरिरहेको उनले बताए ।

“त्यसका लागि अन्य विधिहरूबाट, अन्तर-सरकार समन्वयबाट, प्रदेश र सङ्घ सरकारसँगको प्रयत्नबाट, त्यहाँका सरकार प्रमुखहरूसँगको समन्वयबाट आज थुलुङ दुधकोशी स्थानीय सरकारले काम गर्दैछ । तपाईंले थुलुङ दुधकोशी स्थानीय सरकारले बनाएको बजेट हेर्नुस्, बजेटको सिलिङ हेर्नुहोला । र, अन्तिममा अडिट भएको बजेट हेर्नुहोला । जुन श्रोत राज्यबाट प्राप्त हुन्छ, त्योभन्दा ४ गुणा बढी बजेटको कार्यान्वयन गर्छौँ । हामीले रोयल्टीहरू भित्र्याउनका लागि निकै प्रयत्न गर्छौँ र त्यसकै भरमा काम गरिरहेको छ,” अध्यक्ष राईले भने ।

यस्तै अध्यक्ष राईले थुलुङ दुधकोशी स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, स्थानीय विकाससँगै समग्रतमा भूगोल सुहाउँदो र जनअपेक्षाअनुसारकको काम गरेको जिकिर गरे । त्यसो त गाउँपालिकाले प्रशासकीय कार्यालय मात्रै नभइ प्राविधिक शिक्षालय, सुविधासम्पन्न अस्पताललगायत आधारभूत आवश्यकीय संरचना बनाएर काम सुरू गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved