भुटानी शरणार्थीको कथा समेटिएको नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने

नेपालभ्युज

भुटानी शरणार्थीको कथा समेटिएको नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुसले अभिनय गर्ने

काठमाडौं । नेपाली फिल्म ‘भुठान’मा हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । ‘बुलबुल’ बनाएका निर्देशक विनोद पौडेलको दोस्रो चलचित्र ‘भुठान’मा दयाहाङ राई र हरिवंश आचार्य अनुबन्धित भइसकेका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम र जीवनयात्राको कथाको फिल्मको अङ्ग्रेजी नाम ‘द वर्ल्डस् ह्याप्पिएयस्ट मेन’ राखिएको छ ।

यसमा खेल्न लागेका हलिउड अभिनेता ब्रुस डर्न सन् १९७९ को चलचित्र ‘कमिङ होम’बाट दुई पटक ओस्कारको मनोनयनमा परेका कलाकार हुन् ।

उनी अभिनीत चलचित्र ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा ‘बेस्ट एक्टर’ अवार्ड जितेका थिए ।

यस चलचित्रमा अमेरिकाको ओहायो–पेन्सिल्भेनिया क्षेत्रमा बसोबास गर्ने भुटानी–नेपाली शरणार्थीहरूको दुर्दशा र विस्थापनको लडाइँलाई देखाइनेछ ।

निर्देशक पौडेल भन्छन्, ‘‘एजेन्सी मार्फत स्क्रिप्ट पठाएका थियौँ । उनको म्यानेजरले ब्रुस डन हामीसँग काम गर्न राजी भए भनेर फोन आयो । उनलाई स्क्रिप्टले मन छोएछ । हामीले आर्थिक रूपमा उनलाई लिन नसक्ने अवस्थामा पनि हाम्रो प्रोजेक्टमा आए ।”

पौडेलले ब्रूस जस्तो अभिनेतासँग काम गर्न पाउँदा आफू फिल्ममेकर बनेर राम्रो गरेको महसुस गरेको बताए ।

‘भूठान’मा नेपाली अभिनेता द्वय हरिवंश आचार्य र दयाहाङ राईसहित जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, कौशिला खनाल कर्माचार्यलगायतले अभिनय गर्नेछन् ।

पौडेलको चलचित्र ‘बुलबुल’ सन् २०१९ मा ओस्कारको अन्तर्राष्ट्रिय विधाका लागि नेपालबाट सिफारिस भएको थियो । उनले यही चलचित्रबाट ‘उत्कृष्ट निर्देशक’ बन्दै ‘राष्ट्रिय चलचित्र अवार्ड’ जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved