के हो सोसल इञ्जिनियरिङ ? कसरी काम गर्छ यसले ?

के हो सोसल इञ्जिनियरिङ ? कसरी काम गर्छ यसले ?

काठमाडौं। समकालीन बौद्धिक बहसमा अक्सर मानिसले एक शब्दाबली प्रयोग गरिरहेका हुन्छन्– सोसल इञ्जिनियरिङ । सोसल इञ्जिनियरिङ कस्तो अवधारणा हो र यसले कसरी काम गर्दछ ? यो प्रश्न धेरैका लागि उत्सुकता र जिज्ञासाको विषय हुन सक्दछ ।

सोसल इञ्जिनियरिङको सरल अर्थ हो— मानिसको भावना वा संवेदनशीलतालाई अनुकूलन गर्ने उद्देश्यले प्रभावित गर्नु । अर्थात् मान्छेको संज्ञानमाथि नयाँ सूचनाले घुसपैठ गर्नु । सम्भवत: यतिले मात्र पनि यसको अर्थ राम्रोसँग खुल्दैन । अझ सरल भाषामा भन्दा मानिस आफैँमा एक संवेदनशील र सामाजिक प्राणी हो । हरेक मान्छे कुनै न कुनै समाज वा समुदायसँग जोडिएको हुन्छ । त्यससँग उसको शिक्षा, ज्ञान, अनुभव र संस्कार जोडिएको हुन्छ । कुनै शक्तिशाली, प्रायोजित वा प्रभावशाली बाह्य तत्त्वले मान्छेको संवेदनशीलतामा खेलेर उसको शिक्षा, ज्ञान, अनुभव र संस्कारलाई परिवर्तन गर्दिन्छ, प्रथम उसको ‘माइन्ड वास’ गरी अर्को, नयाँ वा प्रायोजित ‘माइन्ड सेट’ निर्माण गर्छ भने त्यो सोसल इञ्जिनियरिङ हो ।

सोसल इञ्जिनियरिङ गर्ने मुख्य तीन वटा तरिका हुन्छन् । व्यक्तिगत सम्बन्ध, समूहगत, सङ्गठनात्मक तथा संस्थागत सत्संग र प्रविधि वा सञ्चारमाध्यममार्फत् दिइने सूचना । सोसल इञ्जिनियरिङको प्रक्रियामा मानव मनोविज्ञान, सङ्गठनात्मक आचारण र सूचना-सञ्चार संयन्त्रको त्रिकोणात्मक प्रभाव हुन्छ ।

आम आह्वान (मास अपिलिङ) र सोसल इञ्जिनियरिङबीच गहिरो भिन्नता हुन्छ । आम आह्वानमा कुनै खास विचार र एजेण्डालाई समर्थन गर्न मान्छेलाई सार्वजनिक अपिल गरिन्छ । तर, त्यस्तो विचार, एजेण्डा र अपिललाई मान्छेले स्वीकार गर्छन् कि गर्दैन भन्ने कुरालाई विशेष महत्त्व दिइन्छ । मानिसको ठूलो संख्याले स्वीकार नगरेमा त्यसलाई अनुमोदित नभएको अर्थमा लिइन्छ ।

तर, सोसल इञ्जिनियरिङको प्रक्रिया पक्ष यो कुरामा विश्वस्त हुन्छ कि उसका विचार, एजेण्डा र भनाइ सजिलै अनुमोदित हुने छैनन् । तर, त्यसका लागि निरन्तर प्रयत्न गरिन्छ ।

धर्म परिवर्तन सोसल इञ्जिनियरिङको एक राम्रो उदाहरण हो । प्रारम्भमा कुनै पनि मानिस धर्म परिवर्तन गर्न सजिलै सहमत हुँदैन । तर, धर्म प्रचारक व्यक्ति र संस्थाले त्यसका लागि निरन्तर प्रयत्न गर्दछन् । अनेक प्रलोभन पनि देखाउँछन् र धर्म परिवर्तन गराउन सफल पनि हुन्छन् ।

व्यक्तिगत आपदविपत्‌मा कुनै व्यक्ति वा संस्थाले सहयोग गर्‍यो वा कोही व्यक्ति कसैसँग भावनात्मकरूपले नजिकियो, मित्र वा आफन्त बन्यो भने उसले अप्रत्यक्ष र लगातार प्रयत्न गरेर मान्छेको मन परिवर्तन गर्न सक्दछ ।

दार्शनिक तथा सैद्धान्तिक विचारधाराको निरन्तर प्रचार पनि एक प्रकारको सोसल इञ्जिनियरिङ हो । यसलाई ‘इनडक्ट्रिनेसन’ वा ‘स्कुलिङ’ भनिन्छ । यो प्रक्रियाले मानिसलाई आफूले लिएका विचारप्रति भरोसा वा विश्वास पैदा हुन्छ । आफूले बुझेका कुरा एक मात्र सत्य हो र यही नै ठीक मार्गको भन्ने भान पर्दछ ।

अक्सर बाल्यकाल र युवा उमेरमा ‘स्कुलिङ’ गर्न मान्छेलाई सजिलो हुन्छ । किनकि त्यो समयमा मानव मष्तिष्कको चरित्र काँचो माटोको जस्तो हुन्छ । मष्तिष्कमा अनेक जिज्ञासा र अमूर्त विचार हुन्छन्, ती कुनै निश्चित आकारमा ढलिसकेका हुँदैनन् । ‘स्कुलिङ’ ले ‘इनडक्ट्रिनेसन’ निर्माण गर्दछ कि त्यसलाई ‘डि-लर्न’ कमै मानिसले मात्र सक्दछन् ।

यही उद्देश्यले राजनीतिक दलहरूले युवा तथा विद्यार्थी सङ्गठन बनाउँछन् । तर, बाल अधिकारका दृष्टिले यो नराम्रो काम हो । बालबालिकाको कलिलो मष्तिष्कलाई परिपक्क नहुँदै कुनै निश्चित विचारधारा, सङ्गठन र सम्प्रदायतिर लाग्न प्रेरित र सीमित गर्नु मानव अधिकारीविरोधी काम हो ।

तर, वयस्क मानिसबीच भने ‘स्कुलिङ’, ‘इनडक्ट्रिनेसन’ र सोसल इञ्जिनियरिङ नराम्रो कुरा मानिँदैन । किनकि मान्छे सामाजिक प्राणी भएको हुँदा कुनै न कुनै प्रकारको सोसल इञ्जिनियरिङ उसले सामना गर्नै पर्दछ ।

सोसल इञ्जिनियरिङको प्रक्रिया जबरजस्ती भने हुनु हुँदैन । सोसल इञ्जिनियरिङ मानिसले किन स्वीकार गर्दछ ? यसको मनोवैज्ञानिक पाटो हो— भय, संलग्नता र सुरक्षाको भावना ।

मान्छे सामाजिक प्राणी भएको हुँदा साथीभाइ समाज र सङ्गठनबाट एक्लिन चाहँदैन । बरु त्यसमा समावेश भएर सुरक्षित महसुस गर्दछ । संलग्नता र सुरक्षाको भावना त्यही बलियो हुन्छ जसको सङ्गठन, शक्ति, सम्प्रदाय र समुदाय ठूलो हुन्छ ।

अर्थात् सोसल इञ्जिनियरिङ सामाजिक प्रभावको प्रक्रिया पनि हो । सोसल इञ्जिनियरिङको प्रक्रिया त्यही विचार, सम्प्रदाय र सङ्गठनको प्रभाव बढ्दै जाने सम्भावना हुन्छ, जससँग स्रोत साधनमा पहुँच छ । जसको संख्या, सङ्गठन र शक्ति धेरै छ ।

तर, सोसल इञ्जिनियरिङलाई नकारात्मक अर्थमा लिनेको संख्या पनि ठूलो छ । यसमा विश्वास गर्नेहरू भन्छन् कि सोसल इञ्जिनियरिङ निर्दोष, कमजोर र गरिबमाथिको एक प्रकारको अत्याचार वा शोषण हो । किनकि सोसल इञ्जिनियरिङकै कारण निश्चित बर्चश्वशाली समूह, विचार र आन्दोलनको प्रभाव पर्दै जान्छ, तिनले आफ्नो स्वतन्त्रता, निजत्व र मौलिकता गुमाउँछन् ।

यसका कर्ताले सोसल इञ्जिनियरिङ गरिने व्यक्ति वा समुदायको कमजोरीमा खेल्दछन् । जस्तो कि हिन्दू धर्म परिवर्तन गराउन अक्सर यसको जातव्यवस्था र छुवाछुतलाई उपयोग गरिन्छ । कम्युनिष्ट विचारको प्रभाव बढाउन मान्छेको गरिबी र श्रम शोषणलाई उपयोग गरिन्छ ।

सोसल इञ्जिनियरिङकर्ताले अगाडि नै निश्चित समुदाय वा वर्गलाई लक्षित गरेका हुन्छन् । त्यस्ता समुदाय अक्सर नाजुक नै हुन्छन् । कुनै समुदाय वा व्यक्ति पूर्वसंकल्पित वा दृढनिश्चियी छ भने त्यसमाथि सोसल इञ्जिनियरिङ गर्न सकिँदैन । अक्सर स्वाभिमानी र समृद्ध व्यक्ति संकल्पित र दृढ निश्चयी हुन्छन् । उनीहरूलाई सोसल इञ्जिनियरिङमार्फत् अनुकूलन गर्न सकिँदैन ।

सोसल इञ्जिनियरिङको विधि हुन्छ । प्रारम्भमा लक्षित व्यक्ति वा समुदाय पहिचान गरिन्छ । उसका लागि उपयोगी वा प्रभावी सूचना र ज्ञान छनोट तथा संकलन गरिन्छ । दोस्रो चरणमा सम्पर्क स्थापित गरिन्छ । व्यक्तिगत, संस्थागत तथा प्रविधिकेन्द्रित अप्रत्यक्ष सम्बन्ध निर्माण गरिन्छ । तेस्रो चरणमा भने मानसिकतामा आक्रमण गरिन्छ । सोसल इञ्जिनियरिङ भनेको मान्छेको मन र मष्तिष्कमा आक्रमण ह्याकिङ, कब्जा र नियन्त्रण गर्नु हो ।

सूचना प्रविधिको क्षेत्रमा सोसल इञ्जिनियरिङभन्दा अघि ‘पब्लिसिटी’ वा ‘प्रोपगाण्डा’ शब्द प्रचलित थिए । ‘पब्लिसिटी’ ले मान्छेको आचारणगत तथा उपभोक्ता व्यवहार परिवर्तनका लागि सञ्चारमाध्यमबाट गरिने दीर्घकालीन प्रयत्न भन्ने बुझिन्थ्यो ।

जस्तो कि— कुनै निश्चित ब्राण्डको चिया बेच्न वा त्यसको विज्ञापन गर्न पहिले मान्छेमा चिया पिउने लत हुन आवश्यक हुन्छ । ‘चिया पिउनुहोस् वा चिया पिउनु फाइदाजनक छ’ भन्ने प्रचार र चिया पिउने मान्छेको संख्या विस्तारलाई ‘पब्लिसिटी’ भनिन्थ्यो । तब मात्र मुना, सोक्तिम, टोकला, इलामेली वा अन्य कुनै ब्राण्डको चिया विज्ञापन गर्न र बेच्न सकिने भयो ।

‘प्रोपागण्डा’ भने एक प्रायोजित र आक्रामक सूचना युद्धलाई भनिन्थ्यो, जसलाई विरोधी पक्षको मनोबल कमजोर पार्न र आफ्ना समर्थकको मनोबल बढाउन उपयोग गरिन्थ्यो । प्रोपोगाण्डामा पनि सबै चिज गलत नै भनिन्छ भन्ने हैन । कुनै अभियान, युद्ध, मिसन वा संकथनलाई सहयोग पुग्नेगरी सूचनाको ‘चेरी पिकिङ’ गरिन्छ । त्यसलाई निरन्तर दोहोर्‍याइन्छ ।

नाजी सञ्चारमन्त्री गोयबल्सको भनाइ ‘सयपटक दोहोर्‍यायो भने झुट पनि सत्य हुन्छ’ प्रोपगाण्डासँग सम्बन्धित थियो । भलै, कि सय त के हजारपटक दोहोर्‍यायो भने पनि झुट सत्य हुँदैन । अँ हो, केही समय केही मान्छेलाई सत्यजस्तो लाग्न सक्दछ तर सबै मान्छेलाई सधै हैन ।

सोसल इञ्जिनियरिङ भने अझ गहिरो, मिहीन र दीर्घकालीन प्रक्रिया हो । सोसल इञ्जिनियरिङले कुनै राज्य, समाज र समुदायको सामाजिक तथा सांस्कृतिक व्यवहारमै दीर्घकालीन परिर्वतन ल्याउन सक्दछ । जस्तो कि जापानको ‘मेइजी रेस्टोरेसन’ ।

जापानमा सन् १८६८ मा एक नयाँ र व्यापक पहलकदमी राज्यले सुरू गरेको थियो, जसलाई ‘मेइजी रेस्टोरेसन’ भनिन्छ । असाध्यै छिन्नभिन्न जापानलाई एकीकृत, आधुनिक र शक्तिशाली राष्ट्र बनाउन मेइजी रेस्टोरेसनको ठूलो भूमिका थियो भनेर विश्वका इतिहासकारले स्वीकार गरेका छन् ।

भनिन्छ— सोसल इञ्जिनियरिङ शब्दको पहिलो प्रयोग सन् १८९४ मा डच उद्योगपति जे.सी.भी. मार्केनले गरेका थिए । शीत युद्धको समयमा यो शब्द पश्चिमा विद्धान्‌हरूले सोभियत सङ्घविरुद्ध व्यापक प्रयोग गरेका थिए । उनीहरूले साम्यवादी शासकहरूले रुसी जनताको सोसल इञ्जिनियरिङ गरेकाले उनीहरूले लोकतन्त्रको महत्त्व बुझ्न नपाएको तर्क गरिन्थ्यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved