रविबारे रास्वपामा दुई धार : कोही भन्छन्- हट्नुस्, कोही भन्छन्- डट्नुस्

रवि राजनीतिमा आउनुपूर्व नै राजनीतिमा होमिएका र अहिले रास्वपामा भएका केही नेताहरूले रविलाई पछि हट्न भन्दै घुमाउरो शैलीमा भनेका छन् । रास्वपा गठन भएपछि राजनीतिमा आएका नेताहरू भने रविको पक्षमा छन्।

नेपालभ्युज

रविबारे रास्वपामा दुई धार : कोही भन्छन्- हट्नुस्, कोही भन्छन्- डट्नुस्

काठमाडौं । ‘रहरले सञ्चारकर्मी बनेको तर, परिस्थितिले राजनीतिज्ञ बन्नुपरेको’ भन्दै राजनीतिमा आएका रवि लामिछाने एकपछि अर्काे गर्दै विवादमा मुछिँदै गएपछि उनकै पार्टीमा दुई धार देखिएको छ।

आफ्नोसमेत लगानी रहेको ग्यालेक्सी टेलिभिजनबाट अलग भएर संसदीय राजनीतिमा आएका उनी पुरानो व्यवसायको क्रममा सहकारी हिनामिनामा जोडिएपछि कतिपयले बाटो खाली गर्न भनेका छन् ।

सभापति रविले पार्टीलाई विधिभन्दा पनि निजी कम्पनी जसरी चलाउन खोजेको भन्दै केही नेताहरू पहिल्यै असन्तुष्ट थिए।

अहिले फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि सहकारी घोटालामा मुछिएपछि सो पार्टीका नेताहरूले पार्टीलाई थप क्षति नगर्ने हो भने पछि हट्न भनेका हुन् ।

पछिल्लो विवादमा पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलगायतले अर्थपूर्ण टिप्पणी गरेका छन्।

रवि राजनीतिमा आउनुपूर्व नै राजनीतिमा होमिएका र अहिले रास्वपामा भएका केही नेताहरूले रविलाई पछि हट्न भन्दै घुमाउरो शैलीमा भनेका छन् । रास्वपा गठन भएपछि राजनीतिमा आएका नेताहरू भने रविको पक्षमा छन्।

रवि पहिला टेलिभिजनमा मनोरञ्जन कार्यक्रम चलाउँथे । पछि अमेरिका पुगे । नेपाल फर्किएर टेलिभिजन कार्यक्रम सञ्चालन गरेर चर्चामा आए । तर, उनको पृष्ठभूमि भने विवादरहित थिएन ।

श्रीमती हुँदाहुँदै डिभोर्स नै नगरी प्रेमिका राख्नेदेखि लिएर आफ्नै सहकर्मीलाई आत्महत्या गर्न बाध्य बनाएको मुद्दासम्म खेपिसकेका उनले नागरिकता विवादमा सांसद पदसमेत गुमाए ।

फेरि नागरिकता लिएर पुन: निर्वाचित भए । उनी अझै पनि विवादमुक्त हुन नसकेपछि उनकै पार्टी भित्रकाले ‘मार्ग खाली गर्न’ भनेका हुन् ।

बाटो खाली गर्नुपर्ने भन्ने आफ्नो स्ट्याटसलाई लिएर भइरहेका टीकाटिप्पणीपछि उपनेता विराजभक्त श्रेष्ठले आफू सभापति लामिछानेको उपग्रह नभएको भन्ने आशयको टिप्पणी गरेका छन् ।

सभापति रविको नाम नलिई श्रेष्ठले ‘पछाडि हटेर कल्याण हुने भएपछि हटेर सहयोग गर्न आग्रह’ गरेका थिए ।

देशका विभिन्न सहकारीबाट ऋण लिई ग्यालेक्सी टीभीमा लगानी गरेर सर्वसाधारणको पैसा हिनामिना गरेको भन्दै लामिछानेविरुद्ध समाचार आइरहेका छन् ।

रविले एकपछि अर्काे गर्दै आफू संलग्न नभएको बताए पनि उनको प्रत्यक्ष संलग्नता रहेको प्रमाणसहित आइरहेका छन् । यसले पार्टीलाई थप क्षति हुने उनको आकलन छ ।

यसैले श्रेष्ठले देशका लागि सम्पत्ति बन्न नसके घाँडो नबन्न रविलाई नाम नलिई आग्रह गरेका थिए । सलाइको काँटीसहितको तस्वीर राख्दै उनले बुधबार स्ट्याटस लेखेका थिए, ‘‘यदि तपाईं कसैका लागि, समाजका लागि अथवा देशका लागि सम्पत्ति बन्न सक्नुहुन्न भने घाँडो पनि नबनी दिनुहोला । यदि पछाडि हटेर कल्याण हुन्छ, क्षति कम हुन्छ, भए पछाडि हटेर सहयोग गरिदिनुहोला ।’’

सो स्ट्याटसपछि रास्वपा कार्यकर्ताहरू सभापति रविलाई अप्ठ्यारोमा पार्न खोजेको भन्दै सामाजिक सञ्जालमा श्रेष्ठविरुद्ध खनिएका छन् । तर, कतिपयले जवाफ स्वरूप लेखेका छन्, ‘‘रवि राजनीतिमा आउनुभन्दा पहिला नै बिराज सांसद भएका थिए । रास्वपा बनेको रविले मात्र होइन, धेरैको कारण हो ।’’

२०७९ को प्रतिनिधिसभा चुनावमा विराजभक्त काठमाडौं– ८ बाट विजयी भएका थिए ।

आफ्नो स्ट्याटसलाई लिएर भइरहेका टीकाटिप्पणीपछि श्रेष्ठले बिहीबार आफू सभापति लामिछानेको उपग्रह नभएको भन्ने आशयको टिप्पणी गरेका छन् ।

‘‘यम ग्रह’ ग्रह हो कि होइन भन्ने धेरै बहसहरू भए, तर ती बहसले यम ग्रहलाई केही फरक नै पारेन, ऊ विधाताले निर्देशित विधिमा आज पनि चलिरहेकै छ,’’ श्रेष्ठले अगाडि लेखेका छन्, ‘‘बहस गर्नेहरू पृथ्वीमा नजन्मँदा पनि त्यही विधिमा चलिरहेको थियो र भोलि बहस गर्नेहरू नरहँदा पनि त्यही विधिमा चल्नेछ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved