जसपाको आन्तरिक विवाद उत्कर्षमा, अध्यक्ष यादवविरुद्ध असन्तुष्टको मोर्चाबन्दी

यद्यपि असन्तुष्टि बढेपनि तत्काल पार्टी विभाजनमा भने कानूनी अड्चन छ । किनकि दल विभाजनसम्बन्धी ऐन अहिले निष्क्रिय अवस्थामा छ । यो ऐन क्रियाशील नभई कुनै पनि दल विभाजन गर्न सम्भव छैन ।

जसपाको आन्तरिक विवाद उत्कर्षमा, अध्यक्ष यादवविरुद्ध असन्तुष्टको मोर्चाबन्दी

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्टहरूले पार्टीमा मोर्चाबन्दी गरेका छन् ।

मधेसका केही जिल्लामा समानान्तर समिति नै बनाइएको छ । त्यसरी समानान्तर समिति बनाउन जसपाकै शीर्ष नेताहरू खटिएका छन् । यसले जसपा विभाजित हुने सम्भावनासमेत बढाएको केही नेताहरू बताउँछन् ।

पार्टीमा अध्यक्ष यादवको स्वेच्छाचारी प्रवृत्ति बढ्दै गएको, त्यागी नेता कार्यकर्ताको अवमूल्यन भएको, पार्टी र सङ्गठनका लागि मरिमेट्ने कार्यकर्तालाई पाखा लगाउने कार्य भएको, केही सीमित व्यक्तिको कुरा सुनेर नेतृत्वले निर्णय गर्ने गरेकोलगायतका आरोप लगाउँदै समानान्तर समितिहरू बनाइएको छ ।

अध्यक्ष यादवको गृहजिल्ला सप्तरीमै जसपाको समानान्तर समिति बनेको छ । सप्तरीमा जसपा कार्यकारिणी सदस्य एवम् पूर्वमन्त्रीसमेत रहेकी रेणु यादवको सहभागितामा समानान्तर समिति बनेको छ । यो समिति बनाउन सप्तरीकै सांसद नवलकिशोर शाह सुडीसमेतको सहयोग रहेको बताइन्छ ।

त्यहाँ उमेश यादवको नेतृत्वमा ५७ सदस्यीय समानान्तर जिल्ला समिति बनाइएको छ । त्यसअघि अध्यक्ष उपेन्द्र यादवले केदार यादवलाई जिल्ला अध्यक्ष बनाएका थिए । तर, उनी नेतृत्वको समितिविरुद्ध समानान्तर समिति गठन भएको छ ।

सप्तरी रेणु यादवको पनि गृहजिल्ला हो । उनलाई सांसद नवलकिशोरसहित नेताहरू शैलेन्द्र साह, सूर्यनारायण यादव, विनोद यादवलगायतका केन्द्रीय सदस्यले सक्रिय साथ दिएका छन् ।

यसैगरी पर्सा जिल्लामा पनि समानान्तर समिति बनेको छ । त्यहाँ रामनरेश राय यादव नेतृत्वको समितिविरुद्ध समानान्तर समिति गठन भएको हो । उनी अध्यक्ष उपेन्द्र यादवनिकट हुन् ।  समानान्तर समितिको अध्यक्षमा सिंहासन तेली छन् । उनी जसपा कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवनिकट मानिन्छन् ।

पर्सा समानान्तर समिति गठनमा प्रदीप यादव आफैँ उपस्थित भएका थिए । पार्टी निर्माणको काम नेतृत्वबाटै उपेक्षित भएको उनी बताउँछन् । “पार्टी जसरी बन्नुपर्ने हो, त्यहाँ नेतृत्व नै गम्भीर भएन । यसपछि अलिक चुनौतीपूर्ण तवरले नै अघि बढ्नुपर्ने भयो,” उनले भने ।

स्रोतकाअनुसार रेणु यादव, प्रदीप यादवलगायतका नेताले पार्टी नै विभाजित गर्नेसम्मका छलफल गर्ने गरेका छन् । यसमा अर्का प्रभावशाली नेता इस्तियाक राईको समेत सहयोग रहेको बताइन्छ । राई लामो समयदेखि अध्यक्ष यादवसँग असन्तुष्ट भएर पार्टीमा निष्क्रियजस्तै छन् ।

पश्चिम क्षेत्रमा राम्रै प्रभाव भएका इस्तियाकसमेत अब उपेन्द्र यादवसँग मिलेर अघि बढ्न नसकिने निष्कर्षमा पुगेको स्रोत बताउँछ । पार्टीको अवस्था कस्तो छ भन्ने नेपालभ्यूजको जिज्ञासामा उनी भन्छन्— उपेन्द्रजीको जिल्लामै समानान्तर समिति बनेको छ । यसले पनि जसपामा असन्तुष्टि कस्तो छ भन्ने स्पष्ट हुन्छ । म त केही समययता पार्टीको गतिविधिमा खासै संलग्न छैन, त्यसैले धेरै कुरा थाहा पनि छैन । अध्यक्षले बैठक नै बोलाउनुभएको छैन । अब पार्टीको अवस्था कस्तो छ भनेर कसरी भन्न सकिन्छ ।

अध्यक्ष यादव यसैगरी अघि बढे पार्टी नै विभाजन गर्नेसम्मको योजनामा असन्तुष्टहरू रहेको स्रोतको दाबी छ । उनीहरूले पार्टी केन्द्रीय समिति र संसदीय दलमा अध्यक्ष उपेन्द्र यादव अल्पमतमा रहेकोसमेत दाबी गरेका छन् ।

हाल जसपाका १२ जना सांसद छन् । तिमध्ये दुईतिहाइभन्दा धेरै अध्यक्ष यादवसँग असन्तुष्ट रहेको एक नेताले नाम नेलेख्ने शर्तमा बताए । उनकाअनुसार मत विभाजनकै अवस्था आयो भने यादवको पक्षमा जम्मा ४ जनामात्रै सांसद बाँकी रहनेछन् ।

यद्यपि असन्तुष्टि बढेपनि तत्काल पार्टी विभाजनमा भने कानूनी अड्चन छ । किनकि दल विभाजनसम्बन्धी ऐन अहिले निष्क्रिय अवस्थामा छ । यो ऐन क्रियाशील नभई कुनै पनि दल विभाजन गर्न सम्भव छैन । त्यसैले जसपाका असन्तुष्टहरू अहिले यो ऐन क्रियाशील गराउने बाटोको खोजीमा लागिरहेको स्रोतको दाबी छ ।

यता जसपाका प्रवक्ता मनीष सुमन भने पार्टीभित्रका समस्या समाधानउन्मुख रहेको दाबी गर्छन् । “केही होइन । पर्सा र सप्तरीमा समानान्तर समिति बनाइएका हुन् । पर्सामा रेणुजी देखिनुभयो । सप्तरीमा प्रदीपजी देखिनुभयो । जीवन्त पार्टीमा कहिलेकाहीँ यस्तो हुन्छ । यस्तो प्रतिस्पर्धा भएनन् भने त्यो पार्टी जीवन्त नै हुँदैन । सामान्य विवाद देखिएको थियो । अहिले समाधान भइसक्यो भन्दा पनि हुन्छ,” प्रवक्ता सुमन भन्छन् ।

अध्यक्ष यादव पक्षकाअनुसार मधेसमा देखिएको समस्या समाधानका लागि प्रदेश समितिलाई जिम्मा दिइएको छ । तर, समस्या समाधान हुने संकेत भने देखिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved