राजा महेन्द्र शाहबारेका ७ भ्रम र यथार्थ

राजा महेन्द्रबारेको जिज्ञासा मान्छेमा आज पनि उत्तिकै छ । तर, उनीबारे हुने चर्चामा यथार्थ मात्र हैन, कतिपय भ्रमसमेत छन् । राजावादी निरंकुशतावादी तत्वले उनको व्यक्तित्व र ऐतिहासिक योगदानलाई राजनीतिक पुँजीका रुपमा प्रयोग गर्न अतिरञ्जानापूर्ण मिथ खडा गर्न खोजेको पाइन्छ । तर, लोकतान्त्रिक खेमाभित्रै पनि उनलाई कर्मंठ, देशभक्त र राष्ट्रप्रेमी राजा मान्ने सोच बलियो छ ।

राजा महेन्द्र शाहबारेका ७ भ्रम र यथार्थ

काठमाडौं । हरेक वर्ष जब पुष १ गते आउँछ, राजा महेन्द्र शाहको चर्चा चुलिन्छ । उनको समर्थन र विरोधमा जनमत विभाजित हुन्छ । सञ्चार माध्यमले उनी र तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाबीचको वैचारिक तथा सत्ता संघर्षका कथा उधिन्छन् । महेन्द्रका विचार, नीति र नियतिमाथि आलेख वा टिप्पणी लेखिन्छन् । निधन भएको ५४ वर्षपछि पनि राजा महेन्द्र शाहमाथिको बहस जारी छ ।

२०४६ सालअघि यो क्रम झनै बाक्लो हुन्थ्यो । विद्यालयस्तरमा नेपाली भाषा बिषयको पुस्तकको नाम नै ‘महेन्द्रमाला’ राखिएको थियो । पुष १ गतेलाई संविधान दिवसको रुपमा धुमधामसँग मनाइन्थ्यो । पुष १ गते महेन्द्रको प्रिय दिन थियो, जसलाई देशको लोकतान्त्रिक जनमतले भने सधै ‘कालो दिन’ भन्यो, लोकतन्त्रको हत्या भएको दिनका रुपमा ।

महेन्द्रको जन्म वि.सं. १९७७ साल जेष्ठ ३० गते र मृत्यु २०२८ साल माघ १७ गते भएको थियो । तर, उनको जन्मदिन र स्मृति दिवसको विरलै सम्झना गरिन्छ । जेष्ठ ३० वा माघ १७ लाई उनकै समर्थकले पनि मनाउँदैनन् । पुष १ गतेको भने यसरी चर्चा हुन्छ, मानौं कि महेन्द्रको जन्म, कर्म र निधन यही एकै दिन भएको हो ।

२०१५ सालको आम निर्वाचनबाट पहिलो जननिर्वाचत संसद विघटन र सरकारलाई बर्खास्त गर्दै उनले वि.सं. २०१७ साल पुष १ गते निर्दलीय पञ्चायती व्यवस्था सुरुवात गरेका थिए । यो नेपालको इतिहासकै एक ठूलो र महत्वपूर्ण घटना बन्न पुग्यो । त्यसको दुई वर्षपछि वि.सं. २०१९ सालमा पञ्चायती व्यवस्थाको संविधान उनले पुष १ गते नै पारेर जारी गरे ।

राजा महेन्द्र राम्रा कवि र गीतकार थिए । उनले मविवि शाहको नामले कविता र गीत लेख्ने गर्थे । उनका गीत ख्यातिप्राप्त गायक-गायिकाले गाएका थिए । रेडियो नेपालले ती गीत बाक्लै गरी बजाउँथ्यो । गुलाम अलीको स्वरमा ‘गाजलु ती ठूलाठूला आँखा’ बोलको गीत निक्कै लोकप्रिय थियो । ‘म मरे पनि मेरो देश बाँचिरहोस’ राजा महेन्द्रको सर्वाधिक प्रयोग हुने उक्ति थियो।

महेन्द्र शाह वि.सं. २०११ साल चैत्र १ गतेदेखि २०२८ साल माघ १७ गतेसम्म करिब १७ वर्ष नेपालको राजा रहे । २०१५ सालको आम निर्वाचनपछि बनेको बीपी कोइरालाको प्रधानमन्त्रित्वकाललाई छोडेर उनी सधै सक्रिय र निर्णायक राजा थिए । देशका सर्वेसर्वा शासक थिए । शासनकालमा उनको शक्ति निस्कन्टक थियो । उनले ती सबै काम गरे जो उनी गर्न चाहन्थे वा गर्न सक्थे ।

२०२८ साल माघ १७ गते चितवनको दियालो बंगलामा हृदयघातबाट निधन हुँदा उनी ५२ वर्षको मात्र थिए ।

राजा महेन्द्र शाहबारेको जिज्ञासा मान्छेमा आज पनि उत्तिकै छ । तर, उनीबारे हुने चर्चामा यथार्थ मात्र हैन, कतिपय भ्रमसमेत छन् । राजावादी निरंकुशतावादी तत्वले उनको व्यक्तित्व र ऐतिहासिक योगदानलाई राजनीतिक पुँजीका रुपमा प्रयोग गर्न अतिरञ्जानापूर्ण मिथ खडा गर्न खोजेको पाइन्छ ।

तर, लोकतान्त्रिक खेमाभित्रै पनि उनलाई कर्मंठ, देशभक्त र राष्ट्रप्रेमी राजा मान्ने सोच बलियो छ । यस मानेमा कांग्रेस–कम्युनिष्टभित्रको एउटा पंक्तिले समेत उनीको व्यक्तित्व र योगदानको उच्च मूल्यांकन गर्दछन् । यदि निरंकुशता र लोकतन्त्र विरोधी क्रियाकलापलाई बिर्सिदिने हो भने उनी ‘राम्रै राजा’ थिए भन्ने धारणा सर्वसाधारणमा पनि बलियो छ । राजा महेन्द्रबारे भविष्यमा पनि सायद यस्ता बहस भइरहने छन् ।

तर, राजा महेन्द्रबारे हिजोआज खडा गर्न खोजिएका कतिपय मिथ भने सत्य हैनन । यहाँ शाहबारे त्यस्तै ७ सबैभन्दा बलिया भ्रम र यथार्थलाई केलाउने प्रयत्न गरिएको छ ।

१. भ्रम : राजा महेन्द्रको पालासम्म चुच्चे नक्सामा देखिने कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालको नक्सा र भोग चलनभित्र थियो । उनी भारतसँग नडग्ने र कहिल्यै कुनै सम्झौता नगर्ने हक्की राजा थिए । वीरेन्द्रको पालामा मात्र नेपालको नक्शाबाट चुच्चो हटाइएको हो ।

यथार्थ : पाका पत्रकार भैरव रिसालका अनुसार कालापनी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा वि.सं. २०१८ सालको जनगणना भएको थियो । तर, त्यसपछिका दिनमा त्यो भाग नेपालको नक्साबाट हटाइयो । नेपालको प्रशासनले त्यो क्षेत्रमा क्रियाकलाप गर्न छोड्यो । किन त्यसो गरियो त्यो कसैलाई थाहा भएन तर, नक्शाबाट चुच्चो हटाउने काम राजा महेन्द्रकै पालामा २०१९ सालपछि भएको थियो ।

चर्चित इतिहासकार तथा कुटनीतिज्ञ ऋषिकेश शाहले जीवनको उत्तरार्धमा एक अन्तर्वार्तामा भने अनुसार उनले राजा महेन्द्र सामु यो विषय उठाएका थिए । तर, राजा महेन्द्रले –‘ऋषि यो कुरा छोडिदेउ, मैले हिन्दूस्तानको धेरै चित्त दुखाएँ, अब दुखाउन चाहन्न’ भन्ने उत्तर दिएका थिए ।

कुटनीतिक मामिलाका जानकार भन्छन्–यदुनाथ खनालमार्फत् राजा महेन्द्र र तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुबीच नेपालले उपरोक्त क्षेत्र नक्साबाट हटाउने र भारतीय सेनालाई बस्न दिने, त्यसवापत भारतले पञ्चायती व्यवस्था र राजा महेन्द्रको शासनलाई समर्थन गर्ने गोप्य सम्झौता भएको थियो । यही सम्झौता अनुसार मातृकाप्रसाद कोइरालाको पालामा स्थापित उत्तरी क्षेत्रका सबै भारतीय सुरक्षा चेकपोष्ट हटे पनि कालापानी क्षेत्र भने भारतले कब्जा गरेको थियो ।

२. भ्रम : महेन्द्र शाह व्यक्तिगत जीवनमा उच्च नैतिकता भएका न्यायप्रेमी राजा थिए । उनको व्यक्तिगत आचरण नैतिकवान थियो र उनी राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेका निष्पक्ष र तटस्थ राजा थिए ।

यथार्थ : राजा महेन्द्रबारेको यो भ्रम पनि तथ्यबाट पुष्टि हुँदैन । उनका तीन वटी पत्नी थिए । जेठी गीता गुरुङ थिइन, जससँगको विवाहलाई उनले वैधानिकता नै दिएनन् । उनको कोखबाट जन्मिएका रवीन्द्र शाह उनको जेठा छोरा थिए । महेन्द्र शाह युवा उमेरमा गीता गुरुङको प्रेममा पागलजस्तै भएका थिए तर जातकै कारणले उनले गीतासँग औपचारिक विवाह गरेनन् । उनले आफ्नो पहिलो प्रेम र सन्तान जनता र समाजबाट सधै लुकाएर राखे ।

यसको कारण जातप्रथा थियो । उनी जात व्यवस्थामा विश्वास गर्थे तसर्थ उनले क्षेत्री कुलवंशकी महिलासँगको विवाहलाई मात्र मान्यता दिए । यदि उनी जात व्यवस्थाका पक्षपाति हुँदैन थिए भने वीरेन्द्र शाह हैन, रवीन्द्र शाह नेपालको राजा हुन्थे । गुरुङसेनीको छोरा भएकै कारण रवीन्द्र शाहले जीवन अपमान र अन्यायपूर्ण ढंगले बिताउन पर्यो ।

गीता गुरुङ र रवीन्द्र शाह दरबारबाट सधै बहिष्कृत तथा तिरस्कृत रहे । रवीन्द्र शाहले लेखेको गीत–‘श्रद्धाको फूल चढाइ दिनु आएर लासमा’ मा त्यो पीडा र वितृष्णा व्यक्त भएको छ ।

कान्छी श्रीमती रत्ना राणा उनकी आफ्नै साली थिइन । आफ्नै बहिनीसँग लोग्ने लहसिएको इन्द्रलाई मन पर्दैनथ्यो । भलै कि उनले रत्नासँग इन्द्राको मृत्युपछि मात्रै बिहे गरे । उनी शिकार र मदिराका पनि उत्तिकै ठूला शौखिन थिए।

एकपटक शुक्लाफाँटा क्षेत्रमा शिकार खेल्दा महेन्द्रले चलाएको गोली रत्नालाई लागेको थियो । भारतीय सीमा क्षेत्रमा रत्नाको गोप्य उपचार गरिएको थियो । घटनालाई भित्रभित्रै लुकाइएको थियो ।

राजनीतिक दलका नेता, कार्यकर्ताप्रति उनमा तीव्र प्रतिशोधको भावना थियो । उनले निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ मात्र गरेनन् करिब ८ वर्ष सुन्दरीजल जेलमा राखे । उनले कयौं राजनीतिक कार्यकर्ताको सर्वस्वहरण गरेका थिए । हजारौं मानिसलाई जेल हालेका थिए । हिरासत वा जेलमा राजनीतिक कार्यकर्तालाई चरम यातना दिइन्थ्यो । राजबन्दीलाई यातना दिन सेना प्रहरीलाई प्रेरित गरिन्थ्यो ।

हजारौं राजनीतिक कार्यकर्ता उनको शासनकालमा देश छोडेर भारतमा निर्वासित भएका थिए । उनीहरुको घरबार बिग्रिएको थियो । जीवन बर्बाद भएको थियो । तिनलाई ‘राजनीतिक पीडित’ भन्ने गरिन्थ्यो।

३. भ्रम :  महेन्द्र शाह राष्ट्रवादी राजा थिए । उनको पालामा अन्य देशबाट विवाह गरेर ल्याएकी महिलालाई नेपालको नागरिकता दिने प्रचलन थिएन । उनको पालामा अंगिकृत नागरिकताको प्रचलन थिएन।

यथार्थ : राजा महेन्द्र शाह स्वयं अंगिकृत आमाका सन्तान थिए । राजा त्रिभुवनका दुई पत्नी थिए। कान्ती र इश्वरी । दुवै भारतबाट डोला झिकाइएका राजपुत परिवारका छोरी थिए । महेन्द्र र हिमालय जेठी रानी कान्तीका सन्तान थिए भने कान्छा बसुन्धरा कान्छी रानी इश्वरीका सन्तान थिए।

विवाह भएर नेपाल आउने वित्तिकै विदेशी महिलाले नेपालको अंगिकृत नागरिकता पाउने प्रचलन राजा महेन्द्रकै पाला देखिको हो । अझ उनको शासनकालमा उत्तरपूर्वी भारत र बर्माबाट आएका नेपाली मूलका मानिसलाई नागरिकता र जमिन दिएर बसोबास गराइएको थियो । झापाको काँकटभिट्टादेखि कञ्चनपुरको महेन्द्रनगरसम्म अहिले पनि ती बर्मेली टोलका नामले चिनिन्छन्।

केही महत्वपूर्ण प्रशासक, संगीतकार, सल्लाहकार उनले भारतबाट बोलाएका थिए । २०१५ सालको संविधान बनाउन उनलाई सहयोग गर्ने विशेषज्ञ अमेरिकी थिए ।

४. भ्रम : राजा महेन्द्र बीपी कोइरालासँग मिलेर काम गर्न, देश बनाउँन चाहन्थे । प्रधानमन्त्रीका रुपमा बीपीले उनको मानमनितो पुर्याउँन नसक्दा आक्रोशित महेन्द्रले २०१७ साल पुष १ गतेको कदम चालेका हुन् ।

यथार्थ : स्वयं बीपी कोइरालाको आत्मवृतान्त र महेन्द्र नजिकका इतिहासकारका भनाई र लेखोटबाट यो तर्क पुष्टि हुँदैन । बीपी महेन्द्रको आत्मसम्मानमा ठेस नपुगोस भनेर होसियार हुन्थे तर महेन्द्र असाध्यै महत्वकांक्षी थिए ।

बीपीको प्रतिभा र क्षमतासँग तुलना गर्दा आफ्नो व्यक्तित्व पुड्को पाउँथे । बीपीको व्यक्तित्वलाई टक्कर दिन उनले गीत र कविता लेख्न थालेका थिए तर उनको साहित्यिक व्यक्तित्व, योगदान र उचाई बीपीको हाराहारी पुगेन ।

‘बीपीले बाहुनको छोरो भएर पनि शासन गर्ने, जनतामा लोकप्रिय हुने म राजाको छोरो भएर शासन गर्न नपाउने, दरबारको खोपीमा राणा शासनमा जस्तो थन्किएर बस्ने’ भन्ने मनोदशाले ग्रस्त थिए महेन्द्र । उनमा लोकतन्त्रप्रति कुनै झुकाव र लगाव थिएन । उनी इतिहासमा आफ्नो स्थानको चिन्ता र महत्वाकांक्षाले छट्पटिएका थिए ।

उनी बीपीलाई बारम्बार भन्ने गर्थे–‘तपाइँको त त्यसै नाम र लोकप्रियता छ । मैले केही नगर्ने हो भने इतिहासले मलाई कसरी चिन्छ ?’

यसबाट प्रष्ट हुन्छ, २०१७ साल पुष १ गतेको ‘कु’ गर्नुको अरु कुनै राजनीतिक कारण थिएन त्यो उनको निजी महत्वाकांक्षा मात्रै थियो ।

५. भ्रम : महेन्द्रले दलीय किचलो, गुटतन्त्र, बीपीको शासकीय असफलता र असक्षमताको कारणले बाध्य भएर मात्रै २०१७ साल पुष १ गतेको कदम चालेका थिए । केही समयपछि सत्ता जनतामा फर्काउने र लोकतन्त्र बाहल गर्ने उनको सोच र योजना थियो

यथार्थ : २०१७ साल पुष १ गतेको ठीक २ वर्षपछि उनले निर्दलीय पञ्चायती व्यवस्थाको संविधान जारी गरे । संविधानमा लोकतन्त्र र राजनीतिक दल सम्बन्धि कुनै परिकल्पना वा प्रावधान थिएन । राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाइएको थियो । यदि उनी बीपीको सरकारसँग मात्र असन्तुष्टि थिए भने बहुदलीय लोकतन्त्रकै संविधान कायम राखी नयाँ निर्वाचन गराउन सक्थे । न त राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नै आवश्यक हुन्थ्यो ।

न त हजारौं संख्यामा राजनीतिक दलका कार्यकर्तालाई पक्राउ गर्न, मुद्दा लगाउन, जेल हाल्न र निर्वांसित हुन बाध्य गर्न नै आवश्यक थियो । २०१५ सालको संविधान बनाउँदा पनि उनले सार्वभौम अधिकार स्वयं आफैमा राखेका थिए । २०१९ सालको संविधान जारी भएपछि पनि उनी १ दशक देशको निस्कन्टक र सर्वेसर्वा शासक भए तर, नयाँ चुनाव गराउने कुनै प्रयत्न गरेनन् ।

महेन्द्रको सोचमा सार्वभौम नागरिक, राजनीतिक स्वतन्त्रता, बहुदलीय लोकतन्त्र र संवैधानिक राजतन्त्र जस्ता मान्यताको कुनै स्थान थिएन । उनी जुनकुनै कोणबाट हेर्दा पनि एक निरंकुश राजा, एक निर्दयी तानाशाह थिए ।

६. भ्रम : महेन्द्रले राम्रो भूमिसुधार गरेका थिए । महेन्द्रकै भूमिसुधारको कारणले आज पनि भूस्वामित्वमा न्याय कायम भएको हो ।

यथार्थ : निसन्देह परम्परागत जमिन्दारी प्रथाआधारित भूमि व्यवस्थामा भन्दा महेन्द्रको वि.सं. २०२१ को भूमिसुधारपछि भूमि स्वामित्व वितरण बढी न्यायपूर्ण भएको थियो । तर, त्यतिधेरै व्यवस्थित र वैज्ञानिक भूमिसुधार भने थिएन, जति भन्ने गरिन्छ ।

महेन्द्रको भूमिसुधारले जमिनमा दोहोरो स्वामित्व कायम गरिदियो । यो २०५४ सालमा मात्र अन्त्य भयो । दोहोरो स्वामित्वबाट मोहीलाई बेदखली गर्न अनेक षडयन्त्र हुन्थे । कुत बुझाउने बेलामा भरपाईको झगडा हुन्थ्यो । जमिन्दारले भपाई दिँदैनथे र केही वर्ष भर्पाई नदिए मोही हक बेदखली हुन्थ्यो । मोही किसानलाई पिटिन्थ्यो, धम्क्याइन्थ्यो । मोही हक छोड्न बाध्य गरिन्थ्यो ।

हदबन्दीभन्दा माथिको जमिन जमिन्दारहरुले परिवार नातागोतामा नामसारी गरि लुकाउँथे। उनको शासनकालमा जमिन धेरै र जनसंख्या थोरै थियो । तर, पनि धेरै मानिस र परिवारसँग जमिनको स्वामित्व थिएन, सुकुम्बासी जनसंख्या धेरै थियो । उनले ‘धर्म भकारी’ नामको एक अव्यावहारिक नीति लागू गरेका थिए, जसको ऋण र ब्याजको कारणले धेरै मोही किसानको जमिन गुम्यो । धर्म भकारीको अभ्यास पूर्णत असफल भयो ।

७. भ्रम : महेन्द्रको पालामा पूर्वपश्चिम राजमार्गलगायत धेरै विकास भयो ती सबै विकास देशको आफ्नै पुँजी र बजेटले भएको हो ।

यथार्थ : हो, त्यतिखेर राज्य वा सरकारले ऋण लिने प्रचलन थिएन तर महेन्द्रका पालमा भएका सबै विकास देशको आफ्नै श्रम, पुँजी र बजेटबाट भएको भने हैन । भौतिक विकासमा होस वा अन्य राजकीय प्रबन्धनमा त्यो वेला विदेशीले नेपाललाई राम्रै अनुदान सहयोग गरेका थिए । त्यसको कारण भने दोस्रो विश्व युद्धपछि विश्व बैंकको स्थापना र पुनर्निर्माण योजना तथा शीत युद्धकालिन प्रतिस्पर्धा थियो ।

पूर्व पश्चिम राजमार्गको काकरभिट्टा–ढल्केबर खण्ड भारतले, ढल्केबर–पथलैया खण्ड सोभियत संघले, पथलैया–हेटौडा खण्ड एडिबीले, हेटौडा–नारायणघाट खण्ड अमेरिकाले, नारायणघाट–बुटवल खण्ड बेलायतले र बुटवल– बनबासा खण्ड भारतले बनाई दिएका हुन् । अरनिको र सिद्धार्थ राजमार्ग चीनले बनाइ दिएको थियो ।

महेन्द्रको शासनकालमा पनि आन्तरिक पुँजी निर्माण प्रक्रिया कमजोर थियो । उनकै शासनकालमा पहिलोपटक भारु र नेरुबीच मुद्रा पेगिङ भएको हो, जो अहिले पनि जारी छ । महेन्द्र शासनकालको नेपालमा कृषिआधारित ग्रामिण अर्थतन्त्र थियो । बजार भर्खरै विकास हुन थालेका थिए ।

ठीक त्यही बेला त्यही प्रक्रियाले उत्तरी भारतबाट तराईमा जनसंख्या आप्रवासन भएको हो । नेपालमा उद्योग व्यापारको परम्परागत कला र सीप नहुँदा बानियाँ, साहु, तेली, मारवाडीलगायत समुदायको एक हिस्सा भारतबाट नेपालतिर आएको थियो । यो प्रक्रिया राणशासनकै बेला सुरु भएको थियो, जो महेन्द्रको शासनकालमा झनै तीव्र भयो ।

यसको अर्थ उनको शासनकालमा कुनै राम्रा काम नै भएनन् भन्ने हैन । तर, जे जति हल्ला र मिथकीकरण गरिन्छ त्यो भने सत्य हैन । उनका सीमित योगदानलाई भजाएर निरंकुशतावादी तत्वले राजनीतिक फाइदा लिने वा लोकतन्त्रमाथि हमाल गर्ने प्रयास गर्दै आएका छन । देशको नयाँ पुस्ता यस्तो हल्ला, मिथिकीकरण र प्रोपोगाण्डाबाट सचेत हुन आवश्यक छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved