उखुको समर्थन मूल्य छिटो तोक्न कांग्रेस सांसद चौधरीको माग, किसानका समस्याप्रति गम्भीर बन्न आग्रह (पत्रसहित)

नेपालभ्युज

उखुको समर्थन मूल्य छिटो तोक्न कांग्रेस सांसद चौधरीको माग, किसानका समस्याप्रति गम्भीर बन्न आग्रह (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् ।

सरकारले मूल्य तोक्न ढिलाइ गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेका हुन् ।

“नवलपरासी (सु.प.) जिल्लाको मेरो निर्वाचन क्षेत्र उखु उत्पादनका लागि पकेट क्षेत्र मानिएको र त्यहाँका किसानहरू उखु खेतितर्फ साह्रै उत्साहित देखिन्छन् । किसानको उत्साहलाई प्रोत्साहन गर्नु हामी राजनीतिकर्मीको मूल ध्येय हो,” सांसद चौधरीले भनेका छन्, “चालु आर्थिक वर्ष २०८०\८१ का लागि समयमै उखुको समर्थन मूल्य तोकिदिनुपर्ने हुन्छ। तर हालसम्म पनि मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरू अन्योल र मर्कामा परेका छन् ।”

उनले उखुको समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उद्योगहरूले उखु खरिद गर्न नपाएको र किसानको उखु बारीमै सुक्ने अवस्था सिर्जना भएको सरकारलाई अवगत गराएका छन् ।

साथै कतिपय किसानले सरकारले मूल्य नतोक्दा सस्तोमै उखु बेच्न बाध्य भएको भन्दै सांसद चौधरीले कृषि मन्त्री बेदुराम भुसालको लिखित ध्यानाकर्षण गराएका हुन् ।

उनले समर्थन मूल्यसँगै किसानलाई सरकारले उपलब्ध गराउने अनुदान बापतको रकम पनि समयमै भुक्तानी गराउन पनि मन्त्रीसँग माग गरेका छन् ।

सांसद चौधरीकै पहलमा यसपटक नवलपरासीका उखु किसानले सरकारले दिने अनुदान बापतको रकम पाइसकेका छन् ।

कतिपय जिल्लामा किसानले अघिल्लो वर्षकै रकम नपाएर आन्दोलनरत छन् । सरकारले अघिल्लो वर्ष उखुको न्यूनतम मूल्य प्रति मेट्रिक टन ६१० रुपैयाँ तोकेको थियो ।

जसमा उखु उद्योगले ५४० रुपैयाँ र सरकारले अनुदानबापतको ७० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved