आईपीओ, हकप्रद, एफपीओ निष्कासन तत्काल खोल्नुपर्छ: अध्यक्ष ढकाल

नेपालभ्युज

आईपीओ, हकप्रद, एफपीओ निष्कासन तत्काल खोल्नुपर्छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्कासन रोक्न नहुने बताएका छन् । महासंघका अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्कासनलाई स्थगित गर्नु बजारको लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताएका हुन् ।

सरकार वर्तमान अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउनको लागि लगानी सम्मेलन गर्ने तर लगानी सञ्चिति हुने आईपीओ निष्कासन स्थगित गर्नु नहुने उनको भनाई छ । उनले तीनै तहका सरकारको लगानी भित्र्याउन पहल भइरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहरू आईपीओ निष्कासनको तयारी पूरा हुँदा समेत अनुमति नपाउनु राम्रो नभएको बताए ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउनुपर्छ भन्ने तर सम्पूर्ण तयारीहरू पूरा गरेका कम्पनीहरूको आईपीओ रोकिँदा पुँजी थप गर्ने योजना बनाएका कम्पनीको व्यवसाय बिस्तारदेखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन  समस्या पर्ने थालेको उनले बताए ।

उनले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आईपीओ निष्कासन तत्काल अनुमति दिन आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आईपीओ निष्कासनको लागि तयारी गरेका कम्पनीहरूलाई अटो पाइलटको रूपमा आईपीओ निष्कासनमा जाने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजश्व बढाउनेमा प्राथमिकता दिनुपर्ने उनको धारणा छ । उनले समग्र लगानी र सरकारले लिन खोजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आईपीओ निष्कासन रोक्दा गलत सन्देश जान लागेको बताए ।

आईपीओ निष्कासन रोक्दा आन्तरिक मात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भन्दै सरकारले तत्काल प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई आईपीओको अनुमति दिन आवश्यक रहेको उनको भनाई छ ।

‘रियल क्षेत्रका कम्पनीहरू आईपीओमा जाने तयारी पूरा गरेको अवस्थामा रोकिएको छ,’ उनले भने ‘मापदण्ड पूरा गरेर आएका कम्पनीहरूलाई सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रूपमा आईपीओ निष्कासन अनुमति दिनुपर्छ ।’

उनले सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरूको बैंकहरुबाट कर्जा लिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरूलाई आइपीओ निष्कासन अनुमति दिँदा व्यवसायीहरूले भोग्दै आएको आर्थिक मन्दिलाई समेत सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

आईपीओ निष्कासनले वर्तमान आर्थिक समस्या समेत केही सहज बनाउने उनको बुझाई छ । धितोपत्र बोर्डले करिब दुई महिना पहिले आईपीओ सप्लाई बढी भएर बजार प्यानिक भएको गुनासो आएको भन्दै आईपीओ निष्कासन लाई नियन्त्रण गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved