अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भिर नभएको सांसदहरुको आरोप

नेपालभ्युज

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भिर नभएको सांसदहरुको आरोप

काठमाडौं । सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भिर नभएको आरोप लगाएका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरुले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।

सांसदहरुले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतिलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भिर नभएको बताए । उनीहरुले अर्थतन्त्र गम्भिर मोडमा पुग्दा समेत अर्थमन्त्री लगायत सरकारका सबै मन्त्रीहरु विदेश भ्रमणमा व्यस्त रहेको बताए ।

सांसदहरुले सरकारले अर्थतन्त्रका धेरै सूचकहरु सकारात्मकदेखि पनि अर्थतन्त्रमा संकट रहेको बताएका छन् । त्यस्तै सांसदहरुले सरकारमा बस्ने प्रधानमन्त्री र अर्थमन्त्री बीचमा नै अर्थतन्त्रका विषयमा एक रुपता नदेखिएको बताए ।

उनीहरुले सरकारले निर्माण व्यवसायीहरुलाई गर्नु पर्ने भुक्तानी समेत दिन नसक्नु अर्थतन्त्र मन्दीमा गएको संकेत रहेको उल्लेख गरे । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रीले अर्थतन्त्रमा सुधार हुँदै आएको र जथाभावी बोल्दा मनोबल कमजोर हुन्छ भने पनि अहिले मन्तव्य सुधार गर्ने भन्दा पनि अर्थतन्त्र सुधार गर्न आवश्यक रहेको बताए ।

उनले मानिसहरुको मन्तव्य सकारात्मक भए पनि मुलुकको अर्थतन्त्र सकारात्मक नभएको बताए । उनले अर्थतन्त्रका बारेमा सकारात्मक कुरा गर्दैमा तथ्य नलुक्ने बताए । उनले अर्थतन्त्रका विषयमा अर्थमन्त्री र प्रधानमन्त्रीकै फरक–फरक कुरा आउने गरेको बताए ।

बैठकमा बोल्दै काँग्रेस सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सबै विषय सकारात्मक हुँदा पनि अर्थतन्त्र संकटमा परेको बताए । उनले अर्थतन्त्रमा देखिका समस्याको जवाफ अर्थमन्त्रीले मात्रै नभएर समग्र सबैले दिन नसके मुलुकको अर्थतन्त्रले गति लिन नसक्ने बताए। उनले पछिल्लो समय नेपालको कमजोर आर्थिक वृद्धिदर,बढ्दो मूल्य वृद्धि रहेको बताए । उनले मुलुकको अर्थतन्त्र आत्मनिर्भर हुनुपर्छ भने पनि आत्मनिर्भर अर्थतन्त्रमा जान नसकेको बताए ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकारले ग्रिन अर्थतन्त्रलाई प्राथमिकता दिएर अर्थनीति सुधार गर्न आवश्यक रहेको बताए । उनले बजेट कार्यान्वयन गर्ने विषयमा अर्थमन्त्रीसँग अति बढी अपेक्षा भएपनि विगतका मन्त्रीको जस्तै अवस्था देखिएको बताए। उनले अर्थतन्त्रका बारेमा जानेको अर्थमन्त्रीले ल्याएका बजेटमा दिएको केही उधारो समर्थन फिर्ता गर्नुपर्ने अवस्था देखिएको बताए । उनले भूकम्पले पारेको क्षेतीलाई हलुका रुपमा हेर्नु नहुने बताए।

सांसदहरुले अहिले जिल्ला–जिल्लाका निर्माण व्यवसायीले पैसा पाउन नसकेको भन्दै सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी गर्न सुझाव दिएका छन् । उनीहरुले आयोजना सकिए पनि पैसा नपाउँदा निर्माण व्यवसायीदेखि श्रमिकसम्म समस्यामा परेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved