उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने

नेपालभ्युज

उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्ने

काठमाडौं। उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने भएको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका छन्।

ललितपुरको झम्सिखेलमा दूतावासको कार्यालय रहेको छ। परराष्ट्र मन्त्रालयलाई समेत उत्तर कोरियाली दूतावासले आफ्नो निर्णयबारे जानकारी गराइसकेको छ। अहिले सीमित कर्मचारी राखेर उत्तर कोरियाले आफ्नो दूतावास सञ्चालन गर्दै आएको थियो।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले उत्तर कोरियाली राजदूतले नेपालको आफ्नो दूतावास बन्द गर्न लागेको प्रधानमन्त्री दाहाललाई जानकारी गराएको बताए। उत्तर कोरियाली राजदूत मेनले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबार पुगेका थिए।

प्रधानमन्त्रीलाई जानकारी गराएसँगै नेपालस्थित उत्तर कोरियाली दूतावासले नेपाल छाड्ने तयारी सुरु गरेको छ।

उत्तर कोरियाली दूतावास बन्द गर्ने निर्णयप्रति प्रधानमन्त्री दाहालले राजदूतसँग दुःख व्यक्त गरेका थिए।

नेपालमा उत्तर कोरियाले आफ्नो दूतावास स्थापना गरेपनि नेपालले भने उत्तर कोरियामा आफ्नो दूतावास स्थापना गरेको छैन।

चीनको बेइजिङमा रहेको नेपाली दूतावासले उत्तर कोरिया मामिलासमेत हेर्दै आएको छ।

विश्व राजनीति परिवेश, भूराजनीतिक प्रभाव र विश्वव्यापीरूपमा बढदै गएको आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालको दूतावास बन्द गर्ने निर्णय गरेको स्रोतले बताएको छ। नेपालमा उत्तर कोरियाली दूतावास बन्द भएपछि भारतको नयाँ दिल्लीमा रहेको उत्तर कोरियाली दूतावासले नेपाल मामिला हेर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved