जानी राखौँ, खुँखार फासिस्ट मुसोलिनीबारे यी रोचक जानकारी !

मुसोलिनीसहित १६ फासिस्ट नेताको शव एक ट्रकले मिलान शहरको पियाजालो लोरेटो चोकमा ल्याएर फाल्यो । मुसोलिनीको लास हेर्न हजारौँ मानिस चोकमा आए । रिसले चुर भएकी एक महिलाले लासमाथि ५ गोली हानिन् । मुसोलिनीको शासनकालमा उनमा ५ सन्तान मारिएका थिए । ठीक ८ महिना अघि मुसोलिनीले आफ्ना १५ जना राजनीतिक विरोधीको हत्या गरी यही चोकमा यसरी नै फालेका थिए ।

नेपालभ्युज

जानी राखौँ, खुँखार फासिस्ट मुसोलिनीबारे यी रोचक जानकारी !

बीसौं शताब्दी लोकतन्त्र, सैनिक तानशााही, एक दलीय साम्यवाद र फाँसीवाद बीचको चरम संघर्षको शताब्दी थियो । यो शताब्दीमा विश्वभरि दर्जनौँ साना-ठूला तानाशाहको उत्थान र पतन भयो ।

बीसौं शताब्दीका ५ खुँखार तानाशाह मानिए– जर्मनीका एडोल्फ हिटलर, सोभियत संघका जोसेफ स्टालिन, इटालीका बेनिटो मुसोलिनी, इन्डोनेसियाका सुहार्तो र चिलीका अगस्टो पिनोचेट ।

यी सबै तानाशाह लामो समय आआफ्नो देशको सत्तामा थिए । मुसोलिनी सन् १९२२ को अक्टोबर ३१ देखि सन् १९४३ को जुलाई २५ सम्म करिब २१ वर्ष इटालीको प्रधानमन्त्री भए । इटालीको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री हुने रेकर्ड अहिलेसम्म पनि मुसोलिनीको नाममा छ ।

मुसोलिनीले विश्व राजनीतिमा एक कुख्यात विचारधारा दिए–फाँसीवाद । यो शब्दको उत्पत्ति रोमन भाषाको ‘फासियो’ बाट भएको थियो । फसियो रोमन साम्राज्यको एक प्रतीक चिन्ह थियो । ‘फासेस’ ले लट्ठीहरूको मुठ्ठो भन्ने बुझाउँथ्यो भने त्यसमा एक बन्चरो बाँधेको प्रतीक चिन्हलाई फसियो भनिन्थ्यो । फसियो रोमन साम्राज्यको वीरता, पराक्रम, प्राधिकार र सौर्यको प्रतीक थियो ।

यही प्रतीक चिन्हलाई आधार बनाएर उनले पार्टीको नाम नेसनल फासिष्ट पार्टी अफ इटाली राखे र विचारधारको नाम– डक्ट्रिन अफ फासिज्म ।

अनौठो कुरा के थियो भने राजनीतिक जीवनको प्रारम्भमा उनी कम्युनिस्ट विचारधाराको नजिक र इटालियन समाजवादी पार्टीका सदस्य थिए । राजनीतिमा उनको प्रवेश पार्टी मुखपत्रको लेखन र सम्पादनबाट भएको थियो । उनले कुनैबेला सम्पादन गरेको पत्रिकाको नाम ‘वर्ग–संघर्ष’ थियो । त्यो बेला उनी मार्क्सवादमा विश्वास गर्थे ।

सन् १९१२ मा समाजवादी पार्टीसँग उनको मतभेद भयो । कारण थियो–पहिलो विश्वयुद्धलाई हेर्ने दृष्टिकोण । उनी पहिलो विश्वयुद्धको पक्षमा थिए । इटाली युद्धमा सामेल हुनु पर्दछ भन्ने धारणा राख्दथे । समाजवादी पार्टी भने युद्धको विपक्षमा थियो ।

प्रथम विश्व युद्धमा इटाली तटस्थ बस्नु पर्छ भन्ने समाजवादी पार्टीको धारणा थियो । यही विवादमा पार्टीले उनलाई निष्कासनको कारबाही गर्‍यो । समाजवादी पार्टीको निष्कासनले मुसोलिनीलाई पार्टीबाट मात्र हैन, समाजवादी विचारबाटै टाढा बनाउँदै लग्यो । उनी बिस्तारै राष्ट्रवादी विचारधारातिर प्रेरित भए । इटालीको एकीकरण आन्दोलनका नेता गारिबाल्डी र मैजिनीलाई आफ्नो आदर्श मान्न थाले ।

आफ्ना नयाँ विचारको प्रचार गर्न एक पत्रिका स्थापना गरेर उनले रोमन साम्राज्यको विरासत र इटालियन राष्ट्रवादको पैरवी गर्न थाले । सन् १९१४ मा उनले फासिस्ट क्रान्तिकारी आन्दोलन प्रारम्भ गरे, पछि सन् १९९१ को नोभेम्बरमा यस आन्दोलनका समर्थकले नयाँ पार्टी स्थापना गरे– नेसनल फासिस्ट पार्टी अफ इटाली ।

सन् १९१७ पछि मुसोलिनी फासिस्ट आन्दोलनको पेशेवर कार्यकर्ता भएका थिए । उनले आफ्नो सम्पूर्ण समय आन्दोलनको प्रचार र सङ्गठनमा लगाउने गर्थे । उनी बढो दृढ निश्चयी स्वभावका मानिस थिए । उनी आन्दोलन र सङ्गठनको काममा दिन रात खटिरहन्थे ।

उनलाई त्यो बेला बेलायती सुरक्षा संयन्त्र एम–१५ ले मासिक ४०० पाउन्ड दिन्थ्यो भनिन्छ । त्यसबापत उनले इटालीका सूचना बेलायतलाई दिन पर्थ्यो र इटालीमा युद्धको पक्षमा प्रचार गर्न पर्थ्यो । मुसोलिनीले यो अवसर र पहुँचलाई आफ्नो नयाँ पार्टी गठनका लागि उपयोग गरे ।

सन् १९१९ मा उनले २०० युवालाई लिएर ‘फसिष्ट दस्ता’ गठन गरे । यसले कालो पोशाक लगाउँथ्यो । तसर्थ यसलाई ‘ब्ल्याक सर्ट’ पनि भनिन्थ्यो । ‘ब्ल्याक सर्ट’ को संख्या उनले छोटो समयमै तीव्र विस्तार गरे । यही युवा दस्ता पछि गएर फासिस्ट पार्टीको शक्तिको आधार बन्यो ।

सन् २०२२ को अक्टोबरमा करिब ३०,००० ‘ब्लार्क सर्ट’ ले राजधानी रोममा प्रदर्शन गरे । उनीहरुले तत्कालीन सरकारको विरोध गर्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । ‘ब्लार्क सर्ट’ को ‘रोम मार्च’ ले इटाली तहसनहसजस्तो देखियो ।

यसबाट प्रभावित भएका राजा भिक्टर इम्यानुअल तेस्रोले मुसोलिनीलाई प्रधानमन्त्री नियुक्त गरे । यसरी सत्तामा मुसोलिनीको उदय भयो । सत्तामा आएको केही वर्ष उनले सबै राष्ट्रवादी तथा दक्षिणपन्थी शक्तिलाई समेटेर सरकार चलाए तर, १९२५ मा इटालीलाई ‘फसिष्ट राज्य’ घोषणा गरे ।

सन् १९३२ मा बेनिटो मुसोलिनीको नाममा एक पुस्तिका छापियो । नाम थियो– डक्ट्रिन अफ फासिज्म अर्थात् फाँसीवादको सिद्धान्त । यो पुस्तिका मुसोलिनी आफैले लेखेका थिएनन् । उनको सरकारका शिक्षामन्त्री जियोभिनी जिन्तानेले लेखेका थिए । तर, पार्टीको मूल नेता भएको हुँदा मुसोलिनीको नाममा छापिएको थियो । मुसोलिनीलाई फासिस्ट पार्टीको सर्वोच्च नेता ‘ड्यूस’ भनिन्थ्यो ।

फाँसीवादले उदारवाद, पूँजीवाद, लोकतन्त्र, समाजवाद, साम्यवादजस्ता त्यस बेलाका सबै विचारधाराको विरोध गर्दथ्यो । यसले भन्थ्यो कि व्यक्ति राज्यका लागि हुनुपर्दछ, राज्य व्यक्तिका लागि हैन । राज्यको पराक्रममा योगदान गर्नु नै व्यक्तिको कर्तव्य हो । वैयक्तिक स्वतन्त्रता राज्यको स्वतन्त्रता अधीनस्थ हुन्छ ।

आफ्नो लामो शासनकालमा मुसोलिनीले लाखौँ राजनीतिक विरोधीको हत्या गरे । उनको सरकार सेना, प्रहरी र जासुसले चलाउँथ्यो । उनी नाजी जर्मनका नेता हिटलरको नजिकका मित्र थिए ।

हिटलर र मुसोलिनी दुवैको उदयमा पहिलो विश्व युद्ध पछिको मनोविज्ञानले काम गरेको थियो ।

जब दोस्रो विश्वयुद्ध आयो हिटलरसँगै मुसोलिनीको पनि पतन सुरु भयो । पहिलो विश्वयुद्धले उनको उदयलाई सहज बनाएको थियो भने दोस्रो विश्वयुद्ध पतनको कारण बन्यो ।

सन् १९४३ को जुलाई १९ मा उनी इटलीको एक सानो नगर फिल्ट्रेमा हिटलरसँग गोप्य बैठक गरिरहेका थिए । सोभियत संघबाट जर्मन सेना फिर्ता गरी भिन्नै सम्झौता गर्न र मित्र राष्ट्रहरूको गठबन्धनबाट सोभियत संघलाई एक्लाउन मुसोलिनीले हिटलरलाई आग्रह गरेका थिए । तर, हिटलरले मानेनन् । हिटलर पीटर्सवर्ग कब्जा गर्न चाहन्थे ।

ठीक त्यही दिन मित्र राष्ट्रहरूको गठबन्धनले रोममाथि बमवर्षा गरेको थियो । त्यो दिन अमेरिकी लडाकु विमानले रोममा ९ हजार भन्दा धेरै बम खसाले । १५०० भन्दा बढीको मृत्यु भयो । स्थिति एकाएक उल्टियो । मुसोलिनीका समर्थक नै विरोधी भए । इटाली धुरी राष्ट्रको गठबन्धनमा हुनु र मुसोलिनी हिटलरको मित्र हुनु देशमाथिको युद्ध र दुर्भाग्यको कारण मानियो ।

त्यही हप्ता जुलाई २४ मा राजा भिक्टर इम्मानुअलले मुसोलिनीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरे । इटली अब मित्र राष्ट्रहरूको गठबन्धनमा गयो । जब मुसोलिनी सरकारबाट बाहिरिएको समाचार रेडियोले फुके, जनतामा अभूतपूर्व खुशी छायो । लाखौँ मानिस सडकमा आएर मुसोलिनीको बर्खस्तीको खुसीयाली मनाए । मुसोलिनीलाई गिरफ्तार गरी केही महिना जेलमा राखियो ।

जेलबाट छुटेपछि मुसोलिनी स्वीट्जरलैण्ड हुँदै स्पेन भाग्न चाहन्थे । तर, सीमा क्षेत्रको एक सानो गाउँमा आफ्ना १५ सहयोगीसहित उनी मारिए । त्यो गाउँ मित्र राष्ट्रका सेनाको नियन्त्रणमा थियो ।

सन् १९४५ अप्रिल २९ । मुसोलिनीसहित १६ फासिस्ट नेताको शव एक ट्रकले मिलान शहरको पियाजालो लोरेटो चोकमा ल्याएर फाल्यो । मुसोलिनीको लास हेर्न हजारौँ मानिस चोकमा आए । रिसले चुर भएकी एक महिलाले लासमाथि ५ गोली हानिन् । मुसोलिनीको शासनकालमा उनमा ५ सन्तान मारिएका थिए ।

ठीक ८ महिना अघि मुसोलिनीले आफ्ना १५ जना राजनीतिक विरोधीको हत्या गरी यही चोकमा यसरी नै फालेका थिए । त्यसपछि यसलाई शहिद चोक भन्न थालिएको थियो ।

मुसोलिनीको लासमाथि कसैले मुत्र त्याग गरे । कसैले कोर्रा हाने । कसैले मुखमा मरेका मुसा कोच्याए । कसैले बुटले कुल्चिए । कसैले हातले हाने । मानिसले लाइन लागेर उनको लासमा थुके । त्यसपछि उनको लासलाई डोरीले बाँधेर चोक नजिकको एक ग्यास स्टेसनको छतमा झुन्ड्याइयो । झुन्ड्याइएको लासलाई मानिसले ढुङ्गाले हानेका थिए ।

मुसोलिनीकी रखैल क्लारिटा पेटासीको लासलाई उल्टो पारेर झुन्डाइएको थियो । मुसोलिनी जति खुँखार तानाशाह थिए, उनको अन्त्य उत्तिकै दुर्दान्त भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved