पुराना दलविरुद्ध रवि-सीके एकैठाउँ : आत्मसमीक्षा नगर्ने, नयाँलाई ध्वस्त पार्छौँ भन्ने ?

जे होस्, पुरानाहरूलाई नयाँ दलहरूको उदय स्वीकार्न गाह्रै देखिन्छ । कहिलेकाहीँ सत्तास्वार्थ र भागबन्डामा सँगै देखिएपनि अलिक फरक हुनेबित्तिकै उनीहरू आपसलाई स्वीकार्न सक्दैनन् ।

नेपालभ्युज

पुराना दलविरुद्ध रवि-सीके एकैठाउँ : आत्मसमीक्षा नगर्ने, नयाँलाई ध्वस्त पार्छौँ भन्ने ?

काठमाडौं । गत कात्तिक ११ गते सत्ता साझेदार दल नेपाली कांग्रेसले चाडबाडको अवसर पारेर चियापान कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा सबै राजनीतिक दलका नेताहरू पुगे ।

त्यहाँ नयाँ र पुराना दलहरूबीच भेद बन्यो । पुराना दलहरूका विभिन्न तहका बैठकहरूमा नयाँ दलको अनपेक्षित उदयबारे बहस र चर्चा हुने गरेपनि उक्त कार्यक्रममा भने एक हिसाबले नयाँ भर्सेस पुराना नै भए ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका प्रमुख नेताहरूले नयाँ दलहरूको अनपेक्षित उदयलाई अस्वाभाविक मात्रै भनेनन्, नयाँ दलहरूका कारण आफूहरू अर्थात् पुराना दलहरूमाथि प्रश्न उठ्न थालेको समेत बताउन भ्याए ।

त्यसको जवाफ एकमुष्टरूपमा पुराना दलहरू मिलेर दिने उनीहरूको निष्कर्ष थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’; तीनै नेता नयाँ दलहरूविरुद्ध एक देखिए ।

आ-आफ्नै ढङ्गले अभिव्यक्ति दिएका उनीहरूको निष्कर्ष भने खासै फरक सुनिएन । उनीहरूले नयाँ दलहरूलाई कार्यक्रमविहीन मात्रै भनेनन्, उनीहरू व्यवस्थाविरोधी भएको आरोपसमेत लगाए ।

त्यसो त स्वाभाविकरूपमा नयाँ दलहरू पनि सँगै हुने नै भए । तीन शीर्षस्थ नेताहरूले भनेको नयाँ दल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), डा. सीके राउत ऊर्फ चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीलगायत हुन् । अहिले रवि र सीके यसकाविरुद्ध सँगै उभिए ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरू दुवैले एउटै भाषा बोले । उनीहरूले सोध्दै थिए— नयाँ दलहरूको उदय कसरी अस्वाभाविक भयो र त्यो कसको कारणले भयो ?

प्रश्न त्यति नाजायज होइन । पुराना दलका नेताहरूले जतिसुकै गफ लाएपनि २०७९ सालमा नयाँ दलहरूको पोल्टामा परेको मतहरू पुराना दलसँग खुसी हुनेहरूको होइन । यो आंशिक होस् वा अर्धसत्य; आधाउधी त पक्कै हो । पुराना दलहरूलाई यो स्वीकार्न गाह्रो देखिन्छ ।

रवि र सीकेले यही ओकेले आज । संसद्‌मा रविले सोध्दै थिए— मिलेर जवाफ दिने भनेकोचाहिँ के ? सकेनौँ/सक्दैनौँ भनेर जवाफ दिने हो ?

“आफूप्रतिको असन्तुष्टि लुकाउन व्यवस्था नै खतरामा परेको र त्यसको जवाफ एक भएर दिने भन्नेसमेत अभिव्यक्ति सुनिन थालिएको छ । तर, जवाफ दिनेचाहिँ कसलाई हो ? नागरिक हो ? अनि जवाफचाहिँ के भनेर दिने ? सकेनौँ भनेर ? कि बाँडिचुँडी खाँदै गर्छौँ भनेर जवाफ दिने ? कहीँ नभएको जात्रा हाँडिगाउँमा भनेजस्तै व्यवस्था नै खतरामा पर्‍यो भनेर ?,” उनले थप सोधे ।

त्यसपछि बोलेका सीकेले पनि तीव्र असन्तुष्टि पोखे । पुराना दलहरूले देशलाई टाइटानिकजस्तै डुबाइरहेको बताए । “यो देश टाइटानिक डुबेजस्तो डुबिरहेका छन् । यो डुबाउने अरु कोही होइन, यसका चालकहरू नै हुन् । जसले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर यो देशलाई डुबाइरहेका छन् । र, उनीहरूचाहिँ बोटमा जोगिरहेका छन् । यो देशका ठूला नेताहरूले आफूलेचाहिँ सुरक्षित बोट राखेका छन् तर, जनाहरू चाहिँ डुब्दैछन्,” उनले भने ।

उनले त जनतालाई बाँच्नका लागि आफैँ जोहो गर्नसमेत भने । पुराना दलहरूले केही नगर्ने भन्दै उनले भने, “नयाँ शक्तिहरूलाई लक्षित गर्छौँ, नयाँहरूलाई ध्वस्त भस्म पारिदिन्छौँ भन्छौँ । तर, आफ्नो समीक्षाचाहिँ गर्दैनौँ । कस्तो आक्रोश हो यो ? अब पुराना दलहरूबाट केही हुँदैन । उनीहरूचाहिँ आफ्नो डुङ्गा लिएर हिँडेका छन् तर, देशचाहिँ डुबिरहेको छ । अब जनता कसरी बाँच्ने हो, आफैँले जोहो गर्नुपर्‍यो ।”

जे होस्, पुरानाहरूलाई नयाँ दलहरूको उदय स्वीकार्न गाह्रै देखिन्छ । कहिलेकाहीँ सत्तास्वार्थ र भागबन्डामा सँगै देखिएपनि अलिक फरक हुनेबित्तिकै उनीहरू आपसलाई स्वीकार्न सक्दैनन् । जे भएपनि स्थापित नयाँ दलहरूले ‘नयाँ दलहरू अनपेक्षितरूपमा कसरी आए ?’ भनेर समीक्षा र बहसचाहिँ गर्नैपर्ला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved