चिकित्सक संघले आन्दोलनबारे भोलि निर्णय गर्ने, आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

नेपालभ्युज

चिकित्सक संघले आन्दोलनबारे भोलि निर्णय गर्ने, आक्रमण गर्नेलाई कारबाही गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने सरकारले प्रतिवद्धता जनाएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयमा मंगलवार भएको छलफलमा सरकारले यस्तो प्रतिवद्धता जनाएको हो ।

प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ ।

छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि आक्रमण गर्ने जो कोहीलाई ऐन बमोजीम कारबाही हुने जानकारी दिए । उनले दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए। उनले ऐनलाई कार्यान्वयन गर्न सरकारले कुनै कसर बाँकि नराख्ने बताए ।

‘देशभरका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को पछिल्लो संसोधनबारे जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ । त्यसमा कुनै उपचाररत बिरामीको पक्षलाई ठिक ढंगले उपचार नभएको लाग्यो भने त्यसबारेमा अनुसन्धान गर्ने ठाउँ छ’ उनले भने, ‘गल्ती गर्‍यो  भने कारबाही गर्ने भन्ने कुरापनि ऐनमा छ । दोस्रो आक्रमण गर्नेलाई ऐन बमोजिम कारबाही गर्ने निर्णय भएको छ । त्यसका लागि कडा निर्देशन दिएका छौं । ’

छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दरबन्दी नखोल्दा नै समस्या सृजना भएको बताए। उनले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी ऐनलाई प्रभावकारी रुपले कार्यान्वयन गर्नु अहिलेको आवश्यकता रहेको औंल्याए । स्वास्थ्यमन्त्री बस्नेतले बिरामीको चाप बढीरहेको, लामो समयदेखि चिकित्सक दरबन्दी सृजना नहुनु लगायतका कारणले पनि विभिन्न दुर्घटनाहरु हुने गरेको बताए

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले संघले  बुधवार एक बजे बोर्ड बैठक डाकेको र त्यसपछि आन्दोलनबारे आवश्यक निर्णय हुने बताए । उनले आज छलफलमात्रै भएको र कुनै निष्कर्ष ननिस्किएको बताए । उनले सरकारले चिकित्सकहरुसंग प्रतिवद्धता गरेपनि कार्यान्वयन नगर्दा चिकित्सकहरुमाथि पटक पटक भौतिक आक्रमण हुने गरेको बताए । उनले चिकित्सकहरुको संख्या निकै न्युन हुँदापनि चिकित्सकहरु अहोरात्र खटेर काम गरिरहेको भन्दै चिकित्सक दरबन्दी थपमा सरकार गम्भिर हुनुपर्ने बताए ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोईराला लगायतका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मीमाथि पछिल्लो केही साता यता आक्रमणका घटना बढीरहेको भन्दै सरकारसंग दोषिलाई कारबाहीको व्यवहारिक प्रतिवद्धता सरकारले दिलाउनुपर्ने बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved