राष्ट्रपति पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिने

राष्ट्रपति पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिने

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेललाई  जनकपुरमा नागरिक अभिनन्दन गरिने भएको छ। जनकपुरधाम उपमहानगरपालिकाले असोज ८ गते राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन कार्यक्रम गर्ने तय गरेको हो ।

राष्ट्रपति पौडेलको अभिनन्दन कार्यक्रमलाई व्यवस्थित बनाउन मंगलबार जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा राजनीतिक दल लगायतको सर्वदलीय बैठकसमेत गरिएको छ। कार्यक्रमलाई भव्य र सभ्य बनाउन जनकपुरधामका सबै दलहरू सहमत भएको मेयर मनोजकुमार साहले जानकारी दिए ।

मेयर साहले प्रतिनिधिसभा सांसद र प्रदेश सभा सदस्यसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि नागरिक अभिनन्दनको तयारी गर्ने निर्णयसमेत गरिएको बताए।

बैठकमा राष्ट्रपति पौडेलको जनकपुरधाममा जानकी मन्दिर दर्शन, मन्दिरमा पुजाअर्चना तथा नागरिक अभिनन्दन लगायतका कार्यतालिका तय गरिएको मेयर मनोज साहले बताए ।

राष्ट्रपति पौडेलको नागरिक अभिनन्दनका लागि जनकपुरधाम तिरुहतिया गाछी स्थित महेन्द्रनारायण निधि भवन केन्द्रको सभाकक्षमा गर्नेबारे सर्वपक्षीय छलफल भएको साहले बताए । उनले भने, ‘जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि कार्यक्रमस्थलसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आफ्ना कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ ।’

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए। यसअघि, गत जेठ ३१ गते राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुरधाम भ्रमण तय गरिए पनि स्थगित गरिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले मौसमको प्रतिकुलता र राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै जेठ ३१ गते भ्रमणलाई तत्कालका लागि स्थगित गर्दै अर्को मिति तय गर्ने बताएअनुसार असोज ८ गते को लागि निर्धारण गरिएको छ।

बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सांसद निधि र सांसद रामकृष्ण यादव तथा एमालेकी जुलीकुमारी महतो सहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved