सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः ओली

नेपालभ्युज

सुवास नेम्वाङ सफल राजनेता हुनुहुन्थ्योः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिवंगत संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताएका छन्। बिहीवार नेकपा (एमाले) को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले स्वर्गिय नेम्वाङ सफल राजनेताको रुपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त भएको बताएका हुन् ।

उनले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताए । उनले नेम्वाङले दलिय स्वार्थभन्दा माथि उठेर संसद चलाएको र संसदको गरिमा बढाएको बताए । अध्यक्ष ओलीले नेम्वाङ संविधान र कानून उल्लंघन गर्नु नहुने मान्यतामा रहेको बताए  ।

‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँ चुनिएपछि वास्तवमै दलिय स्वार्थभन्दा माथि उठेर, वास्तवमै संसदीय गरिमा बढाउन, संवैधानिक इमान्दारिता र कानूनको हिसावले चल्नुपर्छ’  ओलीले भने, ‘आफूले आफैंलाई पनि कानूनमा बाँध्नुपर्छ । कानूनको उल्लंघन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । र उहाँ एउटा सफल राजनेताको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत ख्यातिप्राप्त हुनुहुन्थ्यो ।’

अध्यक्ष ओलीले नेम्वाङ सामुदायिक विद्वेषको विरुद्धमा रहेको बताए । उनले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको ओलीको भनाई छ । नेम्वाङ सामाजिक सद्भाव, सामाजिक न्याय र सामाजिक सद्भावका साथ राष्ट्रिय एकताको पक्षमा रहेको उनले बताए ।

उनले भने, ‘उहाँले नेपाल चिन्नुभएको थियो । नेपाली जनता चिन्नुभएको थियो र उहाँ विविधतायुक्त नेपाली समाज, विविधतालाई गलत ढंगले प्रयोग नगर्ने उहाँ सधैभरी सामाजिक सद्भावको पक्षमा, सामाजिक न्याय र सामाजिक न्यायमा आधारित सद्भाव र त्यसमा आधारित राष्ट्रिय एकताको पक्षमा हुनुहुन्थ्यो ।’ स्वर्गिय नेम्वाङ सधैँभर न्यायको पक्षमा उभिएको अध्यक्ष ओलीले स्मरण गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved