लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्यो : अर्थमन्त्री महत

नेपालभ्युज

लुम्बिनी र पोखराभन्दा पहिला निजगढ विमानस्थल बन्नुपर्दथ्यो : अर्थमन्त्री महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकता दिएर छिटोभन्दा छिटो बनाउनुपर्ने बताएका छन् । ११०औं बिपी जयन्तीका अवसरमा नेपालमा आर्थिक क्रान्तिका आधारहरू विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लुम्बिनी र पोखरा एयरपोर्टभन्दा पहिला निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्नेमा प्राथमिकता यकिन गर्न नसक्दा काम सम्पन्न हुन नसकेको उल्लेख गरे ।

अर्थमन्त्री डा.महतले अबको ४ वर्षसम्म काठमाडौं–तराई द्रुतमार्ग बनिसक्ने र त्यही अवधिमा एयरपोर्ट पनि बनाइसक्ने बताए । उनले नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी रहेको र त्यही क्षेत्रलाई आर्थिक उन्नतिसँग जोड्न पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन नसकेको बताए।

उनले भने ‘नेपालमा हाइड्रोपावर र पर्यटनको सम्भावना बढी छ । नेपाललाई टुरिस्ट हब बनाउन सकिन्छ । अब भारत र चिनियाँ पर्यटकहरुलाई बढी ल्याउनुपर्छ, हामीले पूर्वाधारमा राम्रो लगानी गर्नुपर्छ । हाम्रो धेरै पर्यटकीय गन्तव्य पूर्वाधारको अभावले पहिचान हुन सकेको छैन । हामीले पहिला लुम्बिनी र पोखरा एयरपोर्ट बनायौं । सबैभन्दा पहिला हामीले निजगढ बनाउनु पर्दथ्यो । हाम्रो कतिपय प्राथमिकतालाई सही यकिन गर्न सकेका छैनौँ । निजगढको विषयमा गर्ने नगर्ने भन्ने धेरै भयो । फास्ट ट्रयाक भएपछि ४५ मिनेटमा काठमाडौं आउन सकिन्छ । त्यो एयरपोर्टलाई हामीले उच्च प्राथमिकता दिनु नै पर्छ । ४ वर्षसम्म एयरपोर्ट बनाइसक्नेछौँ ।’

मन्त्री महतले सबै मिलेर काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति सम्भव रहेको बताए । आर्थिक परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र हुनुपर्ने भन्दै उनले परिवर्तनको उत्पादनको वाहक निजी क्षेत्र र सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने तथा शिक्षा र स्वास्थ्य, पूर्वाधारमा अझै लगानी बढाउनुपर्ने बताए ।

अर्थमन्त्री महतले निजी क्षेत्रले उत्पादन गरेको कुरामा वितरणको नेतृत्व सरकारले लिनुपर्नेसमेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved