संसद्को अवरोध होइन, गृहमन्त्री नै हटाउन चाहन्छन् देउवा !

यता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि गृहमन्त्री श्रेष्ठ हटाउन चाहन्छन् । उनीहरूले यसअघि संसद्‌मै पटक-पटक गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका थिए ।

संसद्को अवरोध होइन, गृहमन्त्री नै हटाउन चाहन्छन् देउवा !

काठमाडौं । जनताको सार्वभौम संसद् साउन १० गतेयता चलेको छैन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले क्वीन्टल सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गर्दै आएको छ । सरकार पक्ष भने त्यसमा सहमत छैन । त्यसको दोहोरो पेलानमा पर्दा संसद्‌मा जनजीविकाका सवालमा छलफल भएको छैन ।

तर, संसद्को सबैभन्दा ठूलो तथा सत्ता साझेदार दल नेपाली कांग्रेस भने यसमा खासै गम्भीर देखिँदैन । सभापति भएको नाताले शेरबहादुर देउवाले यसमा ‘इनिसियसन’ लिनुपर्ने हो तर, उनी मौनता साँधेर बसिरहेका छन् ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरेदेखि राष्ट्रपति रामचन्द्र पौडेलसम्मले संसद्‌को अवरोध हटाउन प्रयास गरिरहँदा देउवा भने मौनप्राय: छन् ।

किन यस्तो ? नेपालभ्यूजको जिज्ञासामा कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा भन्छन्— त्यसको ‘इनिसियसन’ मुख्यगरी प्रधानमन्त्रीजीले लिनुपर्ने हो, लिइरहनुभएकै पनि छ । त्यसमा हाम्रो सभापतिको साथ छँदैछ त, हाम्रो साथ छँदैछ ! अरु के चाहियो त ?

त्यसो त हिजोआज सत्ता गठबन्धनको बैठकमा देउवा फरकरूपमा प्रस्तुत हुन थालेका छन् । यसअघि बसेको बैठकमा पनि देउवा फरकरूपमा प्रस्तुत भएको बैठकमा सहभागी एक नेताले नेपालभ्यूजलाई बताए ।

यसको प्रमुख कारण हो— बालकृष्ण खाणमाथि अनुसन्धान हुँदा कृष्णबहादुर महरामाथि कुनै अनुसन्धान नहुनू ।

यसबारे देउवाको सत्ता गठबन्धनकै बैठकका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नोकझोक परेको थियो । देउवाले नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण खाणको नाम आउनेबित्तिकै अनुसन्धानमा तानिएको तर, सुन प्रकरणमा कृष्णबहादुर महराको रिपोर्टसमेत सार्वजनिक हुँदा पनि अनुसन्धान अगाडि नबढाइएको भन्दै ‘यो के भएको ?’ भनेर ठूलै स्वरमा सोधेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले भनेका थिए, “कृष्णबहादुर महराजीको विषयमा चिनियाँसँग संवाद भएको कुरा हो । जोसँग उहाँको कुरा भयो भनिएको छ, उनीहरू नेपालबाट भागिसकेका छन् । सीआईबीले तिनीहरूलाई पक्राउ गरेर अनुसन्धान नगर्दासम्म के भनेर संवाद भएको भन्ने खुल्दै-खुल्दैन । मैले त छानबिनमा ल्याउनुपर्छ भनेकै छु, सीआईबीले मानिरहेको छैन  ।”

उसो त गृहमन्त्रीको कदमलाई लिएर देउवाले प्रधानमन्त्री प्रचण्डको पटक-पटक ध्यानाकर्षण गराउँदै आएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री श्रेष्ठले आफ्नो सल्लाह नै नमानी आफैँ चल्ने गरेको बताउने गरेका छन् । देउवानिकट एक नेता भन्छन्— गृहमन्त्रीजीले अनावश्यक ‘हिरोइज्म’ देखाउँदै आउनुभएको छ । त्यसले उहाँकै पार्टी, गठबन्धन वा सरकार नै पनि किन नहोस्, कसैलाई फाइदा गर्दै गर्दैन । उहाँको भूमिका पनि निष्पक्ष भएको छैन । हामीले यो हुनुभएन भनेका हौँ, सभापतिजीको कुरा पनि त्यही हो ।

त्यसो त अहिले खासगरी प्रधानमन्त्री प्रचण्ड र देउवालाई गृहमन्त्री श्रेष्ठको ‘स्पीड्’ थाम्न गाह्रो भइरहेको आकलन गरिन्छ । त्यसैले गृहमन्त्री श्रेष्ठले गरेका कतिपय काममा प्रधानमन्त्री प्रचण्ड र देउवाले नै ‘लगाम’ लगाउन खोजेका छन् ।

प्रधानमन्त्रीलाई नारायणकाजीको ‘स्पिड’ थेग्न मुस्किल, फेरिएलान् त गृहमन्त्री ?

यसअघि बालकृष्ण खाण पक्राउ गर्नेबेला पनि देउवाले गृहमन्त्री श्रेष्ठलाई रोक्न खोजेका थिए । तर, आफूकहाँ देउवाको खबर आइपुग्दा गृहमन्त्री श्रेष्ठले ‘पक्राउ गरिसकेँ’ भनेर जवाफ दिएको कुरा त्यसबेला बाहिर आएको थियो । त्यसबेलादेखि नै देउवा गृहमन्त्री श्रेष्ठसँग रुष्ट छन् ।

यता प्रचण्ड पनि आफू प्रधानमन्त्री भइरहन चाहन्छन्, त्यस्तो अवस्थामा गृहमन्त्री श्रेष्ठको कतिपय ‘एक्सन’ का कारण आफू सङ्कटमा पर्नसक्ने प्रधानमन्त्री प्रचण्डलाई भय छ । यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्री प्रचण्डले साथ दिए केही समयभित्र गृहमन्त्री श्रेष्ठ हटे अचम्म नमान्दा हुने चर्चा राजनीतिक वृत्तमा छ ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भने गृहमन्त्री श्रेष्ठलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् । “प्रधानमन्त्री, गठबन्धनले मात्रै होइन, अरु राजनीतिक दल तथा सबैले उनलाई सहयोग गर्नुपर्छ । उनले अरुभन्दा राम्रै काम गरेका हुन् । उनी काम नगर्नेहरूमा राम्रो काम गर्ने गृहमन्त्री हुन्,” विश्लेषक आचार्य भन्छन् ।

***

यता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहित विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि गृहमन्त्री श्रेष्ठ हटाउन चाहन्छन् । उनीहरूले यसअघि संसद्‌मै पटक-पटक गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका थिए ।

राजीनामा नदिएपछि उनीहरूले गृहमन्त्री श्रेष्ठमाथि नै अनुसन्धान गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved