कोशी प्रदेशमा ‘छक्का पञ्जा’, विश्वासको मत लिने आजको बैठक रोचक बन्दै

विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जेष्ठ सांसदहरूले ‘घरायसी समस्या’ देखाएर धमाधम बिदा लिएका छन् । एमाले र राप्रपा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिलाउने योजनामा छन् ।

नेपालभ्युज

कोशी प्रदेशमा ‘छक्का पञ्जा’, विश्वासको मत लिने आजको बैठक रोचक बन्दै

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज सोमबार दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची छ ।

आज बिहान ८ बजे उपसभामुख सृजना दनुवारले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेकी छन् । सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि सभामुखको काम उपसभामुख दनुवारले नै गर्नेछिन् ।

मुख्यमन्त्री थापाले ३ गते नै विश्वासको मत लिनका लागि निवेदन दिएपनि उपसभामुख दनुवारले ४ गतेका लागि सारिदिएकी थिइन् । ‘विश्वासको मत पाउन सहज छैन’ भन्ने सन्देश दिन उनले ३ बाट ४ पुर्‍याएकी थिइन् ।

विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जेष्ठ सांसदहरूले ‘घरायसी समस्या’ देखाएर धमाधम बिदा लिएका छन् । एमाले र राप्रपा मुख्यमन्त्री थापालाई विश्वासको मत नदिलाउने योजनामा छन् ।

यही योजनास्वरूप दुवै दलका जेष्ठ सांसदहरूले अनुपस्थित हुने पूर्वसूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् । सभामुख नभएको अवस्थामा उपसभामुखले सदन सञ्चालन गर्छिन् । तर, एमालेले उपसभामुख दनुवारलाई पनि अनुपस्थित गराउने रणनीति अपनाएको छ । तर, अहिलेसम्म भने उनले आफैँले सदन सञ्चालन गर्ने बताउँदै आएकी छन् ।

“सदन म नै चलाउँछु, सभामुख नभएको अवस्थामा मैले नै बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । अवस्था काबुबाहिर गएन भने म नै बैठक सञ्चालन गर्छु,” उपसभामुख दनुवारले नेपालभ्यूजसँग भनिन् । यद्यपि उनले अनुपस्थित हुनसक्ने सङ्केत भने गरिन् । ‘अवस्था काबुबाहिर गएन भने…’ भनेर उनले आफू सदनमा अनुपस्थित हुने प्रष्ट सङ्केत गरेकी छन् ।

स्रोतकाअनुसार बिहानको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि उनी सदन आउने छैनन् । उनी अनुपस्थित भएमा बैठक अध्यक्ष मण्डलले सञ्चालन गर्नेछ । प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था गरिएको छ ।

जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय-समयमा बढीमा पाँच सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

प्रदेशसभा सञ्चालनका लागि सभामुख-उपसभामुखलाई सहयोग गर्न गठन भएको चार सदस्यीय अध्यक्ष मण्डलमा एमालेकी मालतीकुमारी लिम्बू सबैभन्दा जेष्ठ हुन् । तर, उनले अनुपस्थित हुने सूचना प्रदेशसभा सचिवालयमा गराइसकेकी छन् ।

सँगै एमालेकै अन्य आठ जेष्ठ सांसदहरूले पनि आजको बैठकमा अनुपस्थित हुने जानकारी दिइसकेका छन् । प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार आठैजनाले निवेदनमा ‘घरायसी जरुरी काम’ भएको उल्लेख गरेका छन् ।

यस्तै मालतीकुमारी लिम्बूपछि अध्यक्ष मण्डलका अर्का सदस्य राप्रपाका अम्बरबहादुर विष्ट पनि बैठकमा उपस्थित हुने छैनन् । किनकि उनलाई आफ्नो दल राप्रपाले बैठकमा अनुपस्थित हुन निर्देशन दिइसकेको छ । “पार्टी केन्द्रले नै अनुपस्थित हुनु भनेको छ,” उनले स्वीकारे ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा आफ्ना ज्येष्ठ सांसदलाई अनुपस्थित गराउने निर्णय एमालेले लिएपछि सांसदहरूले प्रदेशसभा सचिवालयमा ‘घरायसी कारण’ भन्दै अनुपस्थित रहने सूचना दिएका हुन् ।

अनुपस्थित हुनेबारे सूचना दिने सांसदहरूमा रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद महतो (६७), तारादेवी ढकाल (६६), खड्गबहादुर बस्नेत (६७) र ज्ञानेन्द्र सुवेदी (६४) छन् । एमालेकै सांसद किशोरचन्द्र दुलाल (६५) भने अमेरिका पुगेका छन् ।

एमालेलाई ‘फ्लोर क्रस’को डर

उपसभामुखले राजीनामा नदिएको अवस्थामा एमालेले अध्यक्ष मण्डलमा रहेकी जेष्ठ सदस्य मालतीकुमारी लिम्बूलाई अनुपस्थित गराएमा पुग्ने थियो । तर, सबै जेष्ठ सांसदलाई अनुपस्थित गराउने भएको छ ।

यसको कारण हो— फ्लोर क्रसको डर ।

एमालेभित्र कोशी प्रदेशलाई मध्यावधिमा जान नदिनका लागि मुख्यमन्त्री थापाको पक्षमा माहोल बनाउनुपर्ने बहस चलेको थियो । यसपछि फ्लोर क्रस हुने सूचना अध्यक्ष केपी शर्मा ओलीकहाँ पुगेको थियो । यसपछि उनीहरू सबैलाई अनुपस्थित हुन निर्देशन दिइएको स्रोत बताउँछ ।

अध्यक्ष ओलीकै निर्देशनमा त्यसो गरिएको ष्रष्ट्याउँछन् कोशी एमालेका संसदीय दलका नेता हिक्मत कार्की । “पार्टी केन्द्रले नै निर्देशन गरेको हो,” उनले भने ।

प्रदेशसभामा सबैभन्दा जेष्ठ सांसद गयानन्द मण्डल (७६) प्रदेश सरकारका राज्यमन्त्री बनिसकेका छन् ।

दोस्रोमा एमालेका रोहितबहादुर कार्की (७१) हुँदा तेस्रोमा राप्रपाका अम्बरबहादुर विष्ट(६८) छन् । चौथोमा एमालेकै मालतीकुमारी लिम्बू (६७), पाँचौमा एमालेकै रामप्रसाद महतो (६७), छैठौंमा एमालेकै तारादेवी ढकाल (६६), सातौंमा एमालेकै खड्गबहादुर बस्नेत (६७), आठौंमा एमालेकै किशोरचन्द्र दुलाल (६५), नवौं राप्रपाका गोपालबहादुर विश्वकर्मा (६५) र दशौंमा मुख्यमन्त्री उद्धब थापा (६४) छन् ।

यस्तै एघारौंमा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधारमन्त्री रहेका कमलप्रसाद जबेगु (६४), बाह्रौंमा एमालेका ज्ञानेन्द्र सुवेदी (६४) र तेह्रौमा काँग्रेसका अमृतकुमार अर्याल (६३) छन् । उपभामुख दनुवारले पदबाट राजीनामा दिएको खण्डमा एमाले र राप्रपाका जेष्ठ सदस्य अनुपस्थित हुँदा १३ औं नम्बरमा रहेका कांग्रेसका अमृतकुमार अर्यालको काँधमा सभा सञ्चालनको जिम्मेवारी आउनेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved