टिप्पणी

एमालेमा ‘विद्याको कमब्याक’ चर्चासँगै ओलीमा त्रास बढेको हो ?

ओलीलाई साइड लगाउन मात्रै सबै नेता विद्याको पक्षमा उभिने सम्भावना कम छ । यद्यपि, पार्टीभित्र र बाहिरका कम्युनिस्टसँग पनि एकता गर्न भण्डारीलाई विकल्पका रूपमा सार्नुपर्ने मत राख्ने समूहचाहिँ ठूलै छ ।

नेपालभ्युज

एमालेमा ‘विद्याको कमब्याक’ चर्चासँगै ओलीमा त्रास बढेको हो ?

काठमाडौं। राष्ट्रपति हुँदा विद्यादेवी भण्डारीलाई सबैभन्दा धेरै लाग्ने आरोप थियो– देशको सर्वोच्च भूमिकामा बसेर पनि पूर्वाग्राही भइन्, राजनीति गरिन्, अभिभावकत्व निर्वाह गर्न सकिनन् ।

त्यतिबेला एमालेवालाहरू राष्ट्रपति भण्डारीको बचाउ गर्दै भन्थे- उहाँले देशलाई केन्द्रमा राखेर कदमहरू चाल्नुभएको हो । एमालेले नै देशको हितमा काम गर्छ, अनि राष्ट्रपतिले सहयोग गर्नै पर्‍यो नि !

त्यति मात्रै होइन, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भनियो– शीतलनिवासबाटै देश चल्न थाल्यो । हुँदा-हुँदा एमालेको रिमोर्ट पनि त्यतै छ कि क्या हो !

हुन पनि हो, विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा शीतलनिवासमा एमाले नेताहरूको लर्को नै लाग्थ्यो । अघोषितरूपमा भण्डारी त्यतिबेला पनि राजनीतिमा सक्रिय नै थिइन् ।

पार्टी उपाध्यक्ष हुँदाहुँदै राष्ट्रपति भएकी भण्डारीसँग राजनीतिक चेत नहुने कुरै भएन । कतिपयले स्वर्गीय मदन भण्डारीकी श्रीमतीको नाताले ‘विरासत धानेको’ भनेर टिप्पणी गरे पनि एमालेभित्र विद्याको प्रभाव गतिलो थियो, छ ।

खासमा पहिल्यैदेखि एमालेभित्रको ‘विद्या गुट’ नै सबैभन्दा प्रभावशाली थियो । केपी शर्मा ओलीको गुट झाङ्गिनुभन्दा पहिला विद्या गुट नै बलशाली थियो । माधवकुमार नेपाल संस्थापन भएका बेला ‘ओली–विद्या गुट’ एक थिए । समयक्रमसँगै नवौं महानिधवेशनपछि यहीं गुट संस्थापक बन्यो, बनिरहेको छ ।

सधैं एकजस्तो देखिने उक्त गुटमा अहिले गडबढ आएको चर्चा चलेको छ । दुई कार्यकाल गरी सात वर्ष राष्ट्रपति भएर बाहिरिएकी भण्डारी पुनः राजनीतिमा आउने कुराले एमालेको तलाउमा ढुंगा हानेको छ ।

राष्ट्रपति हुँदादेखि नै राजनीति गरेको आरोप खेपेकी भण्डारी पदबाट बाहिरिएसँगै क्रमशः सक्रिय हुन थालेकी छन् । यससँगै उनको राजनीतिमा कमब्याक हुने चर्चा चुलिएको छ । अझ भनौं, एमालेको एक समूह अर्थात् ‘विद्या गुट’का अधिकांश नेताहरू उनलाई राजनीतिमा स्वागत गर्न आतुर छन् । कोहीकोहीले त छिटो राजनीतिमा आउन आग्रह गर्दै भण्डारीको ढोका ढक्ढक्याइरहेका छन् ।

भण्डारी राजनीतिमा सक्रिय हुने गाइँगुइँ चर्चा चलिरहेकै बेला एमाले स्थायी कमिटी सदस्य कर्ण थापाले एक अन्तरवार्तामा भने– विद्या भण्डारी एमाले अध्यक्ष हुँदा पार्टी एकताबद्ध हुन्छ।

थापाको उक्त भनाइले धेरैको ध्यान खिच्यो । थापाको भनाइको पक्ष र विपक्षमा उभिनेहरूले एमालेभित्रको दुई गुटलाई फेरि सतहमै ल्याइदियो । अझ यो प्रष्ट भयो कि- ओली गुटभित्र धेरै उपगुटहरू निर्माण भइसकेका रहेछन्, विद्या गुट अझै एकजुट रहेछ ।

यही विषयको चासो र चर्चाबीच सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलनको आयोजना गरे । पत्रकार सम्मेलनमा पत्रकारले सोधे– एमालेकी पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि राजनीतिमा आउने भन्ने सुनिन्छ । यसै सिलसिलमा अहिलेका उपाध्यक्ष विष्णु पौडेलले पनि भेटेको भन्ने सुनिन्छ । त्यस्तो हो त अध्यक्ष ज्यू ?

पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले कूटनीतिक पाराको जवाफ दिए तर राजनीतिमा आउने सम्भावनालाई नकार्न सकेनन् । उनले उल्टै आरोप लगाए– एमालेमा विभाजन ल्याउन त्यस्तो हल्ला चलाइँदै छ ।

ओलीको उक्त शंकाले झन् धेरै प्रश्नहरू जन्माएको छ । के विद्या भण्डारी फेरि राजनीतिमा सक्रिय हुँदा एमाले विभाजन हुन्छ ? हुन्छ भने, किन र कसरी  ?

ओलीको उक्त भनाइमा ‘भण्डारी आगमनको भय’ मिसिएको थियो । कतै आफ्नो एकलौटी वर्चश्व तोडिने त होइन भन्ने शंसय थियो । ओलीको त्रासमिश्रित उक्त शंकाले पनि पुष्टि गर्छ कि– विद्या भण्डारी एमालेको नेतृत्वको तयारी गरिरहेकी छिन् अर्थात् एमालेका नेताहरू विद्या भण्डारीलाई राजनीतिमा ल्याएर पार्टी एकढिक्का बनाउन प्रयासरत छन् ।

अध्यक्ष ओली र नेता भीम रावलबीच भएको छलफललाई पनि एमालेको आन्तरिक राजनीतिक समीकरणसँग मिलाएर चर्चा भइरहेको छ । कतिपयले विद्यालाई टक्कर दिन ओलीले रावलको समेत साथ लिन खोजेको अर्थमा व्याख्या गर्न थालेका छन् ।

भण्डारीलाई पुनः पार्टीमा ल्याउने आफ्नै प्रक्रिया छ । राजनीतिमा फर्कने भएपछि पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा पनि छाड्नुपर्ने होला । यदि भण्डारी राजनीतिमा आइन् भने पनि कहाँ कसरी व्यवस्थापन गर्ने पाटो पनि जटिलै छ ।

भित्रभित्रै भण्डारीलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा भित्र्याउने चर्चा पनि नभएको होइन । र, अहिलेको घम्साघम्सीबीच पार्टीको ११ औं महाधिवेशनबाट भण्डारीलाई अध्यक्ष हुन सहज भने छैन ।

उमेर हदसम्बन्धी विधानै सच्चायाएर तेस्रोपटक अध्यक्ष हुने दाउमा छन्, केपी शर्मा ओली । एमालेभित्र ओलीलाई पन्छाएर अघि बढ्ने कुरा सजिलो छैन ।

त्यस्तै, भण्डारीका निकट मानिने अहिलेका महासचिव शंकर पोखरेल आफैं अध्यक्षको लाइनमा छन् । ओलीलाई साइड लगाउन मात्रै सबै नेता विद्याको पक्षमा उभिने सम्भावना कम छ । यद्यपि, पार्टीभित्र र बाहिरका कम्युनिस्टसँग पनि एकता गर्न भण्डारीलाई विकल्पका रूपमा सार्नुपर्ने मत राख्ने समूहचाहिँ ठूलै छ ।

एमालेमा ओलीपछि को ? भन्ने प्रश्न पेचिलो बनेका बेला भण्डारीलाई विकल्प देख्नु स्वाभाविक होला । तर, राष्ट्रपति भइसकेको मान्छेलाई फेरि राजनीतिको पोखरीमा चोबल्नु ठीक नहुने तर्क पनि छ ।

१० औं महाधिवेशनमै अध्यक्षको आश गरेका ईश्वर पोखरेलदेखि उपाध्यक्षहरू विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङसम्मका नेता व्यवस्थापन एमालेभित्र चुनौतीकै विषय छ ।

जे होस्, विगतदेखि नै एकदमै निकट भनेर चर्चा हुँदै आएका र बेला–बेलामा ट्रोलसमेत बन्ने गरेको ओली–विद्या आमने-सामने भएका छन् । अहिलेसम्म विभिन्न अड्कलबाजी भए पनि यसबारे विद्या भण्डारीले प्रष्टसँग मुख खोलेकी छैनन् ।

एमालेको एउटा समूह विद्यालाई अध्यक्ष बनाएर माओवादीसँग एकीकरण गर्नुपर्ने मान्यतामा छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई अध्यक्ष मानेर एमालेसँग एकता गर्न राजी नहुने भएकाले विद्यालाई अघि सार्दा त्यस्तो सम्भावना हुन सक्ने यो समूहको तर्क छ ।

तर, ओली भने अझ एक कार्यकाल आफैँ अध्यक्ष हुने दाउमा छन् । सम्भवत: यो बीचमा कुनै व्यवधान नआओस् भनेर उनी अहिले विद्यासँग समेत डराइरहेका हुन सक्छन् । यसअघि, ओली र विद्याको सम्बन्ध निकै गहिरो रहेको चर्चा हुने गरेको थियो । तर, अहिले यी दुई बीचमै फाटो आएको चर्चा चलेको छ ।

विद्या भण्डारीको राजनीतिक यात्रामा ओलीको निकै ठूलो योगदान छ । पार्टीका पदमा छिटोछिटो माथि पुग्नेदेखि दुई-दुई पटकसम्म राष्ट्रपति ओलीकै कारण सम्भव भएको हो । त्यसैले यो सबै गुन बिर्सेर विद्याले ओलीसँग नै टक्कर लिन मैदानमा आउलिन भनेर धेरैले कल्पना गरेका छैनन् ।

तर, राजनीतिमा अनेक खेल हुने भएकाले भविष्यमा जे पनि हुन सक्ने सम्भावनालाई भने इन्कार गर्न सकिँदैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved